सरकारी सहयोगले बदलिए मण्डलको जीवन : पशुपालनबाट गरिबी निवारण र शैक्षिक उन्नति ल्याए

धनुषा । पछिल्लो समय कृषि तथा पशुपालनलाई व्यवसायमा बदल्ने र मनग्य आम्दानी गर्नेहरूको भीड बढ्दो छ । सरकारले कृषि तथा पशुपालनलाई प्राथमिकता साथ अगाडि बढाउने नीति लिँदा यस क्षेत्रतर्फ लाग्ने किसानको संख्या बढ्दै गएको हो । सरकारले किसानलाई लक्षित गर्दै गरिबी निवारण कार्यक्रम देखि हरुवा चरुवा बाख्रा वितरण कार्यक्रमसम्म गर्दै आइरहेको छ । जसबाट लाभ लिनेको संख्या पनि बढ्दो रहेको सरकारी निकायहरूले बताउने गरेका छन् । 
जसबाट लाभ लिनेहरूमध्ये एक हुन् औरही गाउँपालिका ४, धनुषाका ५५ वर्षीय गौरीशंकर मण्डल । विगत एक दशकभन्दा बढी समयदेखि बाख्रा पालन गर्दै आइरहेका छन्, मण्डल । १० वर्ष पहिले उनले पशुपालनको रुपमा गाइ पालन सुरु गरेका थिए । त्यतिखेर गरिबी निवारण कोषले ३० हजार रुपैयाँसम्म गाई पालनका लागि दिने गरेको थियो । मण्डलले कोषको त्यो सहुलियत सुविधा प्राप्त गरे । त्यसपछि उनले ३० हजार रुपैयाँमा एउटा गाई ल्याए । एउटा गाईलाई साथी हुन्छ भन्दै उनले अर्को गाइ पनि किने । त्यो क्रममा उनले ४ वटासम्म गाई पालेको सुनाउँछन् । 
मण्डलको परिवारको आर्थिक अवस्था केही कमजोर थियो । गरिबी निवारण कोषको त्यो सहुलियतले उनलाई अवसर सिर्जना गरिदियो । सोही गाई पालनबाट मनग्य आम्दानी गरे । सोही आम्दानीले उनको परिवारको आर्थिक गतिविधि हुन्थ्यो । त्यतिमात्र नभएर उनले आफ्नो छोरालाई उच्च शिक्षा समेत गाइ पालनकै आम्दानीबाट दिए । अहिले उनको एक जना छोरा इन्जिनियरिङ पढेर ओभरसियर बनेका छन् । अर्को एक छोराले पनि काठमाडौंमा रोजगारी गर्दै आएका छन् । 
गाइ पालनपछि मण्डलले बाख्र्रा पाल्ने योजना बुने । समग्रमा गाईलाई जति मेहनत गर्न पनि नपर्ने र सहज पनि भएकाले बाख्रा पालन सुरु गर्ने उनको योजना थियो । उनले १० वर्षदेखि निरन्तर बाख्रा पाल्दै आइरहे । 
उनको आफ्नो जग्गा छैन । मोहियानी जग्गामा खेति किसानी गर्दै आएका उनलाई सरकारको मोहियानी नीतिले असर ग¥यो । उनले सो जग्गामा खेति गर्न पाएनन् । उनले त्यसपछि अरु गाउँलेको खेतबाट घाँस ल्याएर भएपनि बाख्रा पाल्ने निधो गरेका थिए । पशु पालनमा एक किसिमको बानी परिसकेको मण्डललाई यसै बस्न त पटक्कै मन भएन । उनले बाख्रा पालनलाई व्यवस्थित र व्यवसायिक बनाउँदै लगे । एक समयमा उनले २५ वटासम्म बाख्रा पालेको सुनाए । अहिले भने २० वटा बाख्रा पाल्दै आएका छन् । बेलाबखत र चाडपर्वको समयमा खसीबोका बिक्रि हुने भएकाले सहज भएको मण्डल बताउँछन्  । सुरुवाती समयमा उनले तीन वटा बाख्रा पालन सुरु गरेका थिए । त्यसपछि बाख्रा पालनलाई निरन्तरता दिँदै जाँदा धेरै नै सहज भएको उनले बताए । 
उनले बाख्रा पालनमा निकै मेहनत गरे । जसले गर्दा उनलाई सरकारले विभिन्न समयमा अनुदान तथा सहुलियत पनि दिएको छ । सुरुमा गरिबी निवारण कोषको सहयोग मात्र नभएर केही समयअघि उनलाई हरुवा चरुवा बाख्रा वितरण कार्यक्रम अन्तर्गत २ वटा बाख्रा निशुल्क समेत दिइएको थियो । सरकारले हरेक नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ल्याएको अनुदानको नीतिले उनलाई सहज बनाएको थियो । साथै यसबाट प्रोत्साहन समेत मिलेको मण्डल बताउँछन् । मण्डललाई आर्थिक हिसाबले समेत सहयोग राम्रो भयो । उनका अनुसार औरहीमा सरकारको तर्फबाट सो कार्यक्रम अन्तर्गत २५ घरधुरीले प्रतिधुर २÷२ वटा बाख्रा निशुल्क दिएको थियो । सोही अन्तर्गत मण्डल पनि छनौटमा परे । जसले उनलाई बाख्रा पालनमा थप सहज गरायो । 

एक समयकैं कमाइ लाख रुपैयाँभन्दा बढी 
२० वटा बाख्रा पालिरहेका मण्डलका अनुसार, उनीसँग अहिले बेच्नका लागि तयार भएका ४ वटा खसीबोका छन् । जुन तत्कालै पनि बिक्रि गर्न सकिने अवस्थामा पुगेको उनले बताए । ती सबैको मूल्य हिसाब गर्ने हो भने लाख रुपैयाँभन्दा धेरै हुने देखिन्छ । यसरी हेर्दा बाख्रा पालनबाट सोचेभन्दा कम समयमै मनग्य आम्दानी गर्न सकिने मण्डल बताउँछन् । उनले भने, ‘यो पेशा एकदमै राम्रो र सहज छ । ४ वटा बाख्र्रा मात्रै बिक्री गरिएपनि एक लाख भन्दा बढी आउने अवस्था रहन्छ ।’ यसबाहेक मासु बिक्रि गरेर पनि राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् । 
मण्डल पशुपालनको मुख्य विशेषता नै सहज र सरल माध्यमबाट मनग्य आम्दानी हुनु भएको उनले बताए । उनले वर्षमा सहजै लाखौँ रकम आर्जन गर्न सकिने बताए । जसले गर्दा पशुपालनमा जम्न सकिएको उनले बताए ।  पशुपालनमा नै उनको परिवार निर्भर रहेको छ । पशुपालनकै रकम उनको आम्दानीको मियो हो । 
औरहीमा पशु बिमाप्रति भने किसानको आकर्षण र चासो दुवै देखिँदैन । मण्डलले पनि २ वटा बाख्राको बाहेक अरुको बिमा गराएका छैनन् । उनी भन्छन्, ‘मेरो दुई वटा बाख्रा मरेको थियो । तर बीमा कम्पनीले रकम दिएन । त्यसपछि मैले बीमा गर्न छाडें ।’ उनीमात्र हैन, त्यस क्षेत्रमा धेरैले बिमाबारे दिने धारणा एउटै छ । त्यसकारण उनीहरूले सरकारले दिएको दुई वटा बाख्राको बाहेक बीमा गराएका छैनन् । बीमा कम्पनीले भुत्तःानीका लागि बाहना बनाउने कारण बीमा मन नपराउने गरिएको मण्डलले बताए । 
उनले पशु पालनमा सरकारले औषधी तथा घाँसमा अनुदान दिने व्यवस्था गर्दा किसानलाई सहज हुने बताउँछन् । यससँगै बाख्राको गोठ बनाउनका लागि पनि सहजीकरण गरिदिएमा सहज हुने उनले बताए । पशुलाई खुवाउने दानाहरूमा बढी खर्च हुने गरेको उनको अनुभव छ । अहिले चाहीँ खेतमा घाँस हुने समय छ । तर उनीसँग आफ्नो खेत छैन । त्यसकारण गाउँलेको खेततिरबाट भएपनि घाँस ल्याउने गरिएको उनले बताए ।
मण्डल पशुपालनबाट खुशी र सन्तुष्ट छन् । उनले पछिल्लो समय विदेश जाने क्रम बढेको भन्दै अरु केही गर्न नसकिएपनि पशु पालन गर्नका लागि आँट गर्नुपर्नेमा जोड दिए । पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने भएकाले विदेशमा थोरै पैसाका लागि लाखौं खर्च गरेर धाइरहनुपर्ने अवस्था यसले मुक्त गर्ने उनको भनाइ छ । मण्डल अहिले पशुपालनमा निकै मेहनत गरेर लागिपरेका छन् । जसले गर्दा गाउँमा पनि उनले जसरी नै पशुपालन गर्ने क्रम सुरु भएको उनी बताउँछन् । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै