सिरहा । पछिल्लो समय विदेश जानेहरूको घुईंचो लागेको छ । नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना भइरहेको छ । यसबाहेक सबै क्षेत्रको मनोबल खस्किएको अवस्था छ । यस्तो अवस्थामा नेपालले कृषिलाई प्राथमिकता राख्न सकेमा मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बहसले समेत प्राथमिकता पाउने गरेको छ । कोहीले नेपालमा कुनै जागिर छाडेर विदेश जाने परिस्थिति सिर्जना भइइरहेको अवस्थामा कोही भने जागिर छाडेर कृषि कर्ममा जुटिरहेका छन् ।
आत्मसम्मानको जड कृषिलाई मान्ने किसानहरू परिवारसँग सधैं सँगै बसेर काम गर्न सकिने, आम्दानी पनि राम्रै हुने र मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्ने सोचले व्यवसायिक कृषितर्फ अगाडि बढिरहेका छन् । कृषि पेशालाई अँगालेर आत्मसम्मान र स्वाभिमानमा बाँचिरहेका एक कृषक हुन् सिरहाको भगवानपुर गाउँपालिका ५ का चन्द्रवीर ब्यास । पछिल्ला वर्षहरूमा उनी कृषि पेशामा जम्दै गएका किसान हुन् । सामूहिक फलफूल होस् वा पशुपालन उनले जमेर लागिरहेका छन् । जसले गर्दा व्यवसायिक कृषि पेशा अँगालेको १२ वर्षमा सफल किसानका रूपमा उनको पहिचान बदिलएको छ ।
१२ वर्षअघि कृषि तथा पशुपालनमा लागेका व्यासलाई सफल किसानको पहिचान बनाउनका लागि धेरै हण्डर ठक्कर खानुपरेको छ । कृषिमा ब्याप्त विभिन्न समस्याका बावजुद उनी निरन्तर कृषि कर्ममै छन् । कृषि उनलाई अब बानी परेको छ ।
भदौदेखि फागुन र फागुनदेखि भदौ गरी त्यहाँ दुई सिजनमा खेती गरिन्छ । बाह्रै महिना खेतीमै रमाउने चन्द्रवीरले आलु, मुला लगायतका मौसमी खेती ६ कट्ठा जमिनमा लगाएका छन् । यो निस्किएपछि फेरि लहरे बाली लगायत उनले खेती गर्छन् ।
यस्तै १६ कट्ठा जग्गामा चना, मुसुरो लगायत खेती गरेका छन् । यस्तै डेढ विगाहा जग्गामा गहुँ खेती गरेका छन् ।
कृषिबाहेक उनी पशुपालनतर्फ पनि उत्तिकै सक्रिय छन् । अहिले उनीसँग दुहुनो भैंसी र गाई छ । विगतमा गाई उनीसँग ४र५ वटै थियो । अहिले बिक्री पश्चात फेरि एउटामा झरेको छ । उनी भन्छन्,’अब फेरि गाई भैंसी थप्ने योजनामा छु ।’
उमेरले ४७ वर्ष भएका ब्यास कृषि कर्ममा लाग्नुअघि सरकारी शिक्षक थिए । ८ वर्षको सरकारी शिक्षकको जागिर उनले पारिवारिक कारणले छाड्नुपरेको थियो । उनले त्यसपछि कृषिलाई रोजे । कृषिमा निरन्तर मेहनतले आज उनको आत्मसम्मान बढेको छ ।
उनी परिवारसँगै बसेर कृषि पेशामा दुस्ख सुखमा रमाइरहन्छन् । भन्छन्,’कृषि राम्रो छ । मेहनत जति बढी गर्यो त्यती बढी आम्दानी रहन्छ ।’ उनी कृषि तथा पशुपालनबाट आउने आम्दानीबाट सन्तुष्ट छन् ।
चन्द्रवीरको गाउँमा महतोको बस्ती छ । त्यहाँ धेरै तरकारी खेती भइरहेको छ । तर बजार भने अस्तव्यस्त छ । किसानले नजिकै बजार नहँदा केही पर तरकारी पठाएर बिक्री गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । जसलाई चिर्नका लागि उनले आफैंले व्यवस्थित बजारीकरणमा सानो सहयोग गर्दै आइरहेका छन् । उनी भन्छन्,बजारीकरणको व्यवस्था छैन । त्यसकारण तरकारीहरू धेरै क्षति भइरहेका हुन्छन् । यसलाई चिर्न म आफैं पनि लागिपरेको छु ।’
तर व्यवस्थित बजारीकरण एक जनाले मात्रै गरेर पुग्दैन । स्थानीय सरकारले नीति नै बनाएर अगाडि बढ्नुपर्नेमा उसले चासो नदिएको चन्द्रवीरको गुनासो छ ।
तरकारी मात्र हैन पशुपालनमा पनि बजारीकरणको समस्या उनले देखेका छन् । उनले दैनिक १० लिटर दूध चाहिँ घरबाटै बिक्री गर्छन् । अर्थात् व्यापारी घरमै आएर दूध लैजान्छन् । तर कतिपयलाई गाईभैंसीको दूध बेच्नकै लागि बजार धाउनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
सरकारले बजारीकरणमा चासो देखाएको छैन । जसले किसानलाई कृषितर्फ प्रोत्साहन गरिनुको साटो निरुत्साहन गराइरहेको छ,’ चन्द्रवीरले भने ।
पछिल्लो समय नेपालीहरू विदेश जाने क्रम ह्वात्तै बढेको छ । त्यसको मूख्य कारण भनेको कृषिमा टिक्न नसक्नु पनि भएको चन्द्रवीर बताउँछन् । सरकारले प्रोत्साहनको नीति ल्याउने, बजारीकरण गर्ने जस्ता काममा प्राथमिकता दिन नसक्दा कृषिप्रति वितृष्णा जाग्ने गरेको उनको अनुभव छ ।
चाहिएको बेलामा मल बिउ जस्ता कुराहरू पाइँदैन भने कृषि गरेर को बस्छ रु उनले भने, यसमा स्थानीय सरकारले पनि चासो दिन सकेको छैन ।’
सरकारले अहिलेसम्म कुनै किसिमको पनि अनुदान नदिएको उनको गुनासो छ । ‘पहुँच हुनेले मात्रै अनुदान पाउँछन् । पहुँच नहुनेको खाली हात । अनुदानलाई केन्द्र, प्रदेश र स्थानीय कुनै पनि सरकारले प्राथमिकता दिएनन्,’ उनले भने । यसले गर्दा कृषिको उचित वृद्धि नदेखिएको उनको बुझाई छ ।
उनले मेला महोत्सवका बेला आफूले उत्पादन गरेका तरकारीहरू स्टलमा राख्छन् । त्यहाँ ग्राहकहरू गएर किन्छन् । त्यस समयमा भए एक पटक उनलाई मेला आयोजकले सम्मान गरेको चन्द्रवीर बताउँछन् । उनले किसानलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएर कार्यक्रम ल्याएमा कृषिमा मुलुक आत्मनिर्भर बन्न समय नलाग्ने बताए । ‘यसका लागि किसान तयार छन् । अब सरकार तयार हुनुपर्छ,’ उनले भने ।
















प्रतिक्रिया थप्नुहोस्