जनकपुर । अर्थतन्त्रको सुस्तता र नेपालीहरू विदेश पलायन भइरहेको अहिलेको निराशाजनक अवस्थामा केही आशा जगाउन विभिन्न व्यक्तित्वहरू अगाडि सरिरहेका छन् । कसैले राम्रो व्यवसाय सुरुवात गरिरहेका छन् भने कोही पशुपालन तथा कृषितर्फ आकर्षित भएर मनग्य आम्दानीमा रमाइरहेका छन् । पछिल्लो समय कृषिलाई व्यवसायिकरण गर्नका लागि निकै मेहनत गरिरहेका किसानहरूलाई सरकारले प्रोत्साहन समेत गर्ने गरेको छ । विभिन्न किसिमका अनुदानले किसानलाई झनै उत्प्रेरित गरिरहेको छ ।
आप्नो पेशामा दत्तचित्त भएर अगाडि बढिरहेका एक किसान हुन् जनकपुर २२ का विवेक नेपाली । विगतमा अटो चालक रहेका नेपाली पछिल्ला केही वर्षयता दूग्ध व्यवसायमा जमेका छन् । आफैं पशुपालन गर्ने र आफैं दूग्ध व्यवसायी पनि भएकाले उनको व्यवसाय निकै राम्रोसँग अगाडि बढेको छ । जसले गर्दा स्थानीय तथा अन्य क्षेत्रको समेत नजरमा ३७ वर्षीय विवेकको लोभलाग्दो व्यवसायमा छ । उनले गाउँमै डेरी सञ्चालन गरेर केवल व्यवसायमात्र गरेका छैनन्, स्थानीयको पेशालाई सहजीकरण र बजारीकरण समेत गरेका छन् ।
कोरोना महामारीपछि पशुपालनमा सक्रिय भएका विवेकले करिब डेढ वर्षअघि डेरी समेत सञ्चालनमा ल्याए । जसले उनलाई व्यवसायमा जम्न मियो बनेर सहयोग गरिरहेको छ ।
विश्वभर आक्रान्त पारेको कोरोना महामारीले नेपालमा पनि असर गरयो । सो समयमा कोही पनि नागरिक घर बाहिर निस्कने अवस्था बनेन । कोरोना अघिसम्म अटो चलाउँदै आएका विवेकलाई कोरोनाले धक्का दियो । बाहिर फरक फरक मानिसलाई अटोमा लैजानुपर्ने र जोखिम पनि उच्च हुने भएकाले उनले अटोबाट अन्य व्यवसायमा फड्किने सोचमा पुरे ।
उनले परिवारमा सल्लाह गरे । अटो चलाउनभन्दा व्यावसायिक पशुपालनतर्फ हात हाले पछिसम्म पनि यसबाट लाभ लिन सकिने उनको र परिवारको पनि बुझाइ रह्यो । विवेक भन्छन्,फर्म खोलेर खेती गर्दा राम्रो हुने देखियो । त्यसपछि अगाडि बढ्यौँ ।
अटो चलाएर भन्दा कृषिमा सजिलो र आम्दानी पनि राम्रो हुने देखेपछि उनले पशुपालन रोजे । पशुपालनमा घरका अन्य सदस्यको पनि राम्रो साथ मिल्ने र सबैले मिलेर काम गर्न सकिने भएकाले सहज भएको विवेक बताउँछन् ।
अहिले उनीसँग ९ वटा भैंसी र तीन वटा गाई गरी १२ वटा दुहुना वस्तुभाउ छन् । जसबाट उनले दैनिक ४५ लिटरभन्दा बढी दूध बिक्री गर्दै आएका छन् ।
डेढ वर्ष अघिदेखि विवेकले आफ्नै गाउँमा डेरी सञ्चालनमा ल्याएका छन् । पशुपालनसँगै सञ्चालनमा ल्याएको डेरीले स्थानीयलाई निकै ठूलो सहयोग गरेका छन् । उनले घर घरबाट दूध किन्छन् । त्यसपछि बजारमा ल्याएर त्यो दूध अन्त बेच्छन् ।
कोरोना महामारीबाट अर्थतन्त्रमा आएको सुस्तताको असर उनलाई समेत परेको छ । विगतमा २ सय लिटरभन्दा बढी पनि दूध बिक्री हुने गरेकोमा अहिले एक सय १५ लिटर हाराहारी मात्रै दूध बिक्री हुने गरेको विवेकले बताए । पछिल्लो समय दूध बिक्री हुन निकै गाह्रो हुने गरेको उनको अनुभव छ । उनी भन्छन्, किसानले पनि सस्तो दूध खोज्छन् । विगतमा जस्तो माग छैन ।
विवेकले पशुपालनमा लागेसँगै सरकारबाट विभिन्न समयमा सहुलियत पाएका छन् । कुनै कुनै सहुलियत पूर्ण छ भने कुनै निश्चित प्रतिशतको रहेको छ । जसमध्ये उनलाई डेरी सञ्चालनका लागि आवश्यक फ्रिज शतप्रतिशत अनुदानमा उनले पाए । त्यससँगै घाँस काट्ने मेसिनसमेत अनुदानमा पाएको उनको भनाइ छ । घाँस काट्ने मेसिनमा भने उनले ७५ प्रतिशत अनुदान पाएका थिए । सरकारले दिएको अनुदानले किसानलाई सहजता र प्रोत्साहन दुवै मिल्ने भएपनि प्रयाप्त अनुदान भने नपाएको उनको गुनासो छ ।
विवेकले पशु पालनका लागि आफ्नै खेतमा घाँस खेती समेत गरेका छन् । जसबाट घाँस धेरै किन्न नपर्ने उनी बताउँछन् । तर घाँसबाट मात्रै राम्रो दूध नआउने उनले बताए । घाँसले मात्र नपुगेर ढुटो, दाना, चोक्कर लगायत किनेर खुवाउनुपर्ने भएकाले पशुपालन खर्चिलो भएको उनी बताउँछन् । पशु बिमा कार्यक्रमअन्तर्गत उनले पशुको बिमा पनि गराएका छन् । अन्य ठाउँका किसानले पशु बिमा गर्न नपाएको गुनासो गरिरहे पनि आप्नोमा भने समस्या नभएको विवेकले बताए । स्थानीय सरकारले सडक बनाउन बाहेक अन्त ध्यान नै नदिएको उनले सुनाए । उनले किसानको मतलब नै स्थानीय सरकारलाई नभएको सुनाए ।
विवेक समग्रमा हेर्दा सजिलो देखिए पनि पशुपालनमा टिकिरहनु चुनौतिपूर्ण रहेको बताउँछन् । उनले एउटा भैंसी पाल्नका लागि वर्ष दिनमा भैंसीको खरिद मूल्यबाहेक करिब डेढ लाख रुपैयाँ लाग्ने बताउँछन् । भैंसीलाई नै सवा लाख रुपैयाँसम्ममा किनेर ल्याइने भएकाले यसमा टिक्न गाह्रो हुने उनको भनाइ छ । तर व्यवसायिक रुपमा धेरै पशु पाल्ने र प्याकेजमै दानापानी दिने गरिएमा खर्च केही कम हुन सक्ने उनले बताए ।
भैंसीले ६ महिना मात्रै नियमित दूध दिने गर्छ । बाँकी समय भनेको कहिले बिहानमात्रै त कहिले बेलुकामात्रै दूध दिने गर्छ । त्यसकारण पशुपालक किसानको आम्दानी एक समय भएपनि अर्को समय नहुन सक्छ ।
विवेकले सरकारले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । किनकी घरघरबाट बिक्री हुने कतिपय दूधहरूमा मिसावट पाइने गरेको र त्यस्ता दूधलाई नियन्त्रण गर्न सरकारले कदम चाल्नुपर्ने उनको भनाइ छ । उनले मिसावटयुक्त दूधले एकातिर उपभोक्ताको स्वास्थ्यमा समस्या गर्ने त अर्को तर्फ शुद्ध दूधले बजार नपाउने समस्या रहने बताए ।
विवेक कृषि कर्ममा सहजता मात्र हैन स्वतन्त्रता समेत देख्छन् । अन्य काम गर्दा कृषिमा जस्तो स्वतन्त्रता नहुने उनको निष्कर्श छ । उनले भने, ‘अरुको काम गर्दा दवाव हुन्छ, तनाव हुन्छ । तर यहाँ कृषि आफ्नै काम हो, मज्जाले गर्न सकिन्छ ।’
विदेशमा जानुभन्दा नेपालमै पशुपालन गर्नु उत्तम
विवेकले अटो चालक बन्नु अघि मलेसियामा काम गरे । जसबाट उनले सिके, विदेशमा काम गर्ने रहरमात्रै हो । उनले त्यसपछि विदेश जाने सपना देखेनन् । विदेश जानका लागि विभिन्न प्रक्रियामा ठूलो धनराशी खर्च गर्नुपर्ने, दलालले फसाउने सम्भावना हुने र उता गएपश्चात समेत ऋण तिर्नका लागि धौधौ हुने समस्या हुन्छ । उनी भन्छन्, ‘फेरि मिटरब्याजीको जालोमा परिवार नै फस्ने हुन्छ । धेरैको अहिले त्यही अवस्था छ ।’ उनले त्यस अवस्थाबाट पार पाउनका लागि पनि नेपालमै बसेर संघर्ष गर्नुपर्नेमा जोड दिए । परिवारसँगै भएर काम गर्दा सबै सहज हुने उनको बुझाइ छ । उनी आफूले गर्दै आएको पशुपालन र दूग्ध व्यवसायमा सन्तुष्ट छन् । तर बजारको अहिलेको सुस्तताले असर गरिरहेको भने छ । उनले त्यसलाई चिर्दै अगाडि बढ्नका लागि सरकारले हिम्मत दिनुपर्नेमा जोड दिए । ‘सहुलियत ब्याजदरमा कर्जा दिने होस् वा अनुदान दिएर किसानलाई सहजीकरण गर्न होस् सरकार लाग्नुपर्छ,’ उनले भने ।
















hello heloo