सरकारी अनुदानले सुरु भएको मत्स्य पालनले फेरियो सन्तोष कुमारको दैनिकी

महेन्द्रनगर स्थित छिरेश्वरनाथ नगरपालिका तीनका सन्तोषकुमार साहले माछा पालन थालेको २ वर्ष भयो । माछा पालनमा उनी अहिले यति जम्दै गएका छन् कि परिवार, गाउँमा मात्र नभई उनको लगनशीलताको परिचर्चा जिल्ला बाहिरसम्म पनि हुने गरेको छ । माछा पालनलाई विगतका वर्षहरूदेखि नै आफ्नो मुख्य पेशा बनाएका साहको कृषि तथा मत्यपालनमा अहिले लोभलाग्दो प्रगति छ । जसले गर्दा उनी सन्तुष्ट छन् । परिवारले पनि उस्तै साथ दिइरहेको उनले सुनाए । उनी मत्स्य पालनमा मात्र छैनन्, तरकारी खेती, धान खेती र आलु खेतीमा पनि उत्तिकै अगाडि छन् । यी सबै कामलाई उनले शिवम् कृषि, पशुपन्छी तथा मत्स्य फार्ममा समेटेका छन् । कृषिमा उनी आफंैसँग असफलताको कथा छ भने असफलतापछिको सुन्दर सफलताको कथाले उनलाई झनै कृषि कर्ममा उत्प्रेरित गरिरहेको छ । 
माछा पालनअघि उनको अर्को एउटा व्यवसाय चाहीँ घाटामा गयो । करिब ५ लाख रुपैयाँ डुबेपछि उनले पहिले गर्दै आइरहेको ब्रोइलर कुखुरा पालनलाई त्यहीँ बिट मारे । उनले २० लाख रुपैयाँ भन्दा बढी लगानीमा करिब सात हजार वटा ब्रोइलर कुखुरा पालेका थिए । जसले मनग्य आम्दानी दिने उनको बुझाइ थियो । आम्दानी त कुखुराले दियो पनि, तर सोचेजस्तो भने भएन । 
कुखुरामा गएको लगानी उठ्ने अवस्था नदेखेपछि साह केही समय भौँतारिए । महँगो दाना तथा कुखुरामा लाग्ने विभिन्न थरीका रोगले उनलाई वेचैन बनायो । अन्ततः उनले कुखुरा पालनबाट हात नै झिक्ने अवस्था सिर्जना भयो । साह भन्छन्, कुखुरा व्यापार सफल भएन । करिब ५ लाख रुपैयाँ घाटा खाएर मैले यसबाट हात झिक्नुपर्यो ।
साहले विगतदेखि नै माछा पालन पनि गरिरहेका थिए । आफ्नै जमिनमा पोखरी बनाएर माछा पाल्दै आएका उनले कुखुरामा गरेको लगानी नउठेपछि माछाबाटै राम्रो आम्दानी हुने बुझे । त्यसपछि भुरा माछा तयार पार्ने र बेच्नेतर्फ उनी लागे । अहिले सोही कर्मले उनको परिचय फेरिएको छ । उनले ११ वटा पोखरीमा माछा पालेका छन् । ११ वटा पोखरी ७ विगाहा जमिनमा फैलिएको साह बताउँछन् । भुरा माछाको माग राम्रो हुने देखेर उनले त्यसकै पालन गर्न थाले । सहायक व्यवसायका रुपमा खाने माछा पनि उनले पालेका छन् । तर उनको पहिचान भनेको भुरा माछा नै हो  । गाउँ गाउँका माछा व्यापारीहरू पनि उनीसँग भुरा माछा खरिद गर्न आउने गरेको साह सुनाउँछन् । उनले खाने माछा व्यापारी वा माछा पालक सबैले भुरा माछा लैजाने गरेको सुनाए । 
भुरा माछा बिक्रि गर्ने समय धेरै हुन्छ । साहका अनुसार, फागुनदेखि मंसिरसम्म यो माछा बिक्री हुने गर्छ । उनले वर्षमा सात लाखभन्दा बढी भुरा माछा तयार पार्ने गरेको सुनाए । उनी भन्छन्, माउ माछालाई हर्मन तयार पार्ने सुई लगाएर अण्डा निकालेर भुरा माछा तयार पारिन्छ, यो मत्स्यपालनको मुख्य व्यवसाय नै हो । माछाको माग धेरै भइरहेको छ । त्यसले पनि यसमा सहज बनाउँदै लगेको छ । 
साहका अनुसार, माछाको पालनपोषण र हुकाई भने खर्चिलो छ । विभिन्न किसिमका दाना खुवाउनुपर्ने भएकाले पनि खर्च बढेको हो । तर माछा बिक्री गर्दा त्यो खर्च सामान्य किसिमले नै असुली हुने उनको अनुभव छ । उनले यस वर्ष मात्रै सात लाख हाराहारी भुरा माछा बिक्रिको लागि तयार गरेको बताए । 
सरकारी अनुदानले सुरु भएको मत्स्य पालनले फेरियो दैनिकी
सन्तोष कुमार साहलाई मत्स्य पालनमा अगाडि बढाउने बलियो खम्बा भने सरकारी अनुदान हो । उनले माछा पालनका लागि फर्म दर्ता गराएपछि प्रक्रिया पूरा गरेर ठूलो रकम अनुदान पाएको बताए । उनका अनुसार, सरकारले उनको माछा पालनका लागि २० लाख रुपैयाँ अनुदान दियो । जसमा एक लाख रुपैयाँ प्रक्रियागत रुपमा धरौटी राखियो । त्यसपछिको बाँकी १९ लाख रुपैयाँ उनले माछा पालनमा अनुदानको रकम प्रयोग गरे । यसबाहेक ३० लाख रुपैयाँभन्दा बढी उनले आफ्नोतर्फबाट लगानी गरे । समग्रमा मत्स्य पालनमा उनको लगानी ५० लाखभन्दा बढी रहेको र त्यो अनुदानले मात्रै सम्भव भएको साहको बुझाइ छ । उनले सो अनुदान आफूले थाहा नपाएको भए पनि वा थाहा पाएपनि अनुदान नपाएको भए मत्स्य पालनमा यसरी अगाडि बढ्ने अवस्था नआउने उनी बताउँछन् । ’यो अनुदान मलाई बलियो साथ भयो । मलाई मात्र हैन कृषि व्यवसाय सुरु गर्ने हरेकलाई यस्ता अनुदानले ठूलो सहयोग गर्छ ।’
उनले अनुदानबाहेकको रकम भने ऋण लिएको बताए । कृषि विकास बैंकबाट उनले १२ प्रतिशत ब्याजदरमा ४० लाख रुपैयाँ उनले ऋण लिएका थिए । सो ऋणको किस्ता मत्स्य पालनबाट उनले  अहिले पनि तिरिरहेका छन् । अहिले बैंकको ब्याजदर घट्दै गएको छ । यसले साहलाई थोरै भएपनि राहत मिलेको छ । साह भन्छन्,‘१२ प्रतिशतमा लिएको ऋण अहिले ९ प्रतिशत ब्याजदरमा झरेको छ । यसले धेरै नै राहत महसुस भयो ।’ उनले ऋण लिएकै बखत बैंकले उनको माछाको बीमा गरिदियो । यसले झनै उत्प्रेरणा जागेको साह सुनाउँछन् । 
साह मत्स्य पालनमा मात्र सीमित छैनन् । उनले तरकारी तथा अन्य खेतीमार्फत कृषिमा पनि उत्तिकै सक्रिय छन् । डेढ विगाहा जमिनमा उनले तरकारी खेती गर्दै आएका छन् । आलु, भेन्टा, लौका लगायतका तरकारीहरूले उनको मत्स्य पालनलाई थप सहयोग गरिरहेको छ । साथै धान खेतीमा समेत उनी अगाडि बढिरहेका छन् । सरकारले प्रशस्त अनुदान दिँदा यी सबै काम सम्भव भएको उनले बताए । पछिल्लो समय नागरिकहरू विदेशीने क्रम बढेको छ । तर उनले भने नेपालमै बसेर नेपालकै माटो सुहाउँदो कृषिलाई आधुनिक तरिकाले अगाडि बढाए यस क्षेत्रमा जम्न सकिने उदाहरण पेश गरेका छन् । उनी भन्छन्, ‘म मेरो यो पेसालाई लिएर एकदमै खुशी र सन्तुष्ट छु । परिवार र समाजले पनि साथ दिइरहेका छन् ।’
उनले सरकारले विभिन्न माध्यममार्फत अनुदान तथा सहुलियतका कार्यक्रमहरू ल्याइरहँदा प्रोत्साहन मिलेको बताए । साहका अनुसार, भेटेनरी सामाग्रीमा पनि उनले सहुलियत वा अनुदान पाउने गरेका छन् । साथै कुनै कृषिजन्य मेसीन वा उपकरण, विउविजन, रसायनिक मल लगायतमा सरकारले दिने सहयोगले धेरै नै सहयोग मिल्ने गरेको उनले बताए । पानी तान्ने मोटर, पोखरीमा अक्सिजन पठाउने एरियटर लगायतका उपकरणमा सरकारको सहयोगले सहज बनाएको उनी बताउँछन् । ‘पोखरीमा अक्सिजनमा दिनका लागि प्रयोग गरिने एरिएटरको ८६ हजार रुपैयाँ पर्नेमा अनुदान पाएका कारण २२ हजार रुपैयाँमै किन्न पाएँ ।’
कृषि र मत्स्य पालनलाई अगाडि बढाउँदै जाँदा उनले विभिन्न देशका प्रतिनिधिले गर्ने ससहयोग समेत पाएका छन् । उनले कोरिया सरकारको एउथटा कार्यक्रममा छानिँदा तरकारी खेतीमा ४००० डलर पाएको सुनाए ।  
पछिल्लो समय विदेश जानेहरू देख्दा उनलाई दिक्क लाग्छ । बेलाबखत सुनिने समाचारले उनको दिमाग रन्थनिन्छ । कृषिमा प्रशस्त सम्भावना भएर पनि नागरिकहरू यसतर्फ अझै जागरुक नभएको उनको बुझाइ छ । विदेश गएर गरिने दुःख भन्दा धेरै सहज तरिकाले यहाँ काम गर्न सकिने उनले बताए । कृषि कर्मले निकै नै सन्तुष्ट दिने उनको भनाइ छ । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑