२५ वर्षको अनुभव सँगै माछा पालनमा जम्दै धनुषाका मण्डल

काठमाडौं । सानैदेखि माछा पालनलाई नजिकबाट नियालेका हंशपुर नगरपालिका, धनुषाका चन्देश्वर मण्डलको अहिले मत्स्य व्यवसायमा जम्दै गएका छन् ।  फर्म नै स्थापना गरेर एक दर्जनभन्दा बढी माछा पोखरीमा मत्स्य पालन गर्दै आएका मण्डल व्यवसायमा लागेका मात्र छैनन्, उत्तिकै सफलता समेत पाएका छन् । उनको परिवारका सदस्यहरू सबै सोही पेशामा सक्रिय छन् ।  जसले उनीहरूलाई समेत माछा पालनमा अभ्यस्त बनाउँदै लगेको छ । 
विसं. २०५५ देखि नै माछा पालनलाई मण्डलले नजिकबाट नियाल्न थाले । त्यसपछि काम समेत उनले माछा पालनमै गर्ने अवसर पाए । उनका ससुराले माछा पालन गर्दथे । सोही माछा पालनका क्रममा उनी पनि आवद्ध भए । त्यसपछि माछा पाल्न सिक्ने क्रम सुरु भयो । ससुरालाई सघाउँदा सघाउँदै उनी पनि माछा पालनमा अभ्यस्त हुन थाले । 
माछा पालनको करिब दुई दशक लामो अवधिसम्मको सिकाइ उनले २० वर्ष पछि आफ्नै फर्म दर्ता गराएर व्यवसायमा लगाए । उनले सुभाष मत्स्य पालन फर्म सुरु गरे । त्यसपछि उनको व्यवसायिक मत्स्य पालन यात्रा सुरु भयो ।  उनको अनुभवले अब व्यवसायिक मोड लियो । उनले ५ विगाहा जमिनमा १५ वटा मत्स्य पोखरी बनाए । ठूला ५ पोखरी र ससाना १० वटा पोखरीमा उनले ठूला माछा र भुरा माछा पालन गर्न थाले । उनी भन्छन्,‘ठूला पोखरीमा ठूला खालका खाने माछा उत्पादन भइरहेको छ । यस्तै साना साना पोखरीमा भुरा माछा उत्पादन भइरहेको छ ।’ 
मण्डलका अनुसार, भुरा माछाको सिजन असार साउन हो । यस समयमा १० करोडको संख्यामा भुरा माछा उत्पादन हुने उनले बताए । माछा पालनका लागि व्यवसायीहरूले त्यो माछा लैजान्छन् । मण्डलले मत्स्य पालनसँगै ह्याचरिङ पनि सँगै अगाडि बढाएका छन् । ५–६ दिनको भुरा माछालाई ह्याचरिङ भनिन्छ । सो ह्याचरिङ साउन भदौमा धेरै तयार पारिने र यसको माग पनि निकै राम्रो हुने गरेको मण्डलले सुनाए । जसले निकै लाभ दिने उनको भनाइ छ । 
मण्डलका अनुसार, ठूला खाने माछा एक सातामा ६० किलोसम्म बिक्री हुने बताए । माछा तयार हुनका लागि ५ महिनादेखि एक वर्षसम्म समय लाग्छ ।  त्यसपछि भने आवश्यकता अनुसार सातामा एक पटक माछा झिकेर बेच्नका लागि उनले राख्ने गरेका छन् । 
मण्डलको परिवार १२ जनाको छ । संयुक्त परिवारमै रहने मण्डलले सबैलाई माछा पालनमै सक्रिय गराएका छन् । यसो हुँदा अन्य मान्छेलाई पारिश्रमिक दिएर राख्नुपर्दैन । उनी भन्छन्,‘कमाएको जति सबै आफ्नै परिवारमा आउँछ । यसले आर्थिक रुपमा सहज पनि बनाउँछ । काम गर्दा पनि रमाइलो हुन्छ ।’
अर्थतन्त्रको सुस्तताको असर मत्स्य पालनमा पनि 
विगत डेढ वर्षदेखि अर्थतन्त्रमा सुस्तता छाएको छ । ठूला उद्योगहरूले आफ्नो उत्पादन क्षमता आधा घटाएर सञ्चालन गरिरहेका छन् भने ससाना व्यवसाय बन्द नै भएका छन् । यसबीचमा मत्स्य पालनमा पनि सुस्तताको असर परेको मण्डल बताउँछन् । माछाको माग पनि कम भएको उनले बताए । ‘प्रतिष्पर्धा र सुस्त अर्थतन्त्रको असर ह्याचरिङमा परेको छ,’ मण्डलले भने । उनका अनुसार, भारतबाट अनौपचारिक रुपमा आउने माछा सस्तोमा बिक्री हुने गरेकाले माछा व्यवसायीहरूलाई समस्या परेको छ । यसलाई नियन्त्रण गर्न राज्यले चासो नदेखाएको उनको गुनासो छ । 
मण्डलको फर्म नजिकै ससाना बजारमात्रै छन् । धेरै माछा बेच्नका लागि १० किलोमिटर पर जनकपुर जानुपर्ने उनले बताए ।  ससाना बजारमा धेरै बिक्री नहुने भएकाले १० किलोमिटर पर गएर बेच्नुपर्दा केही समस्या हुने उनको भनाइ छ ।  
अनुदानले यसरी ग¥यो सहयोग 
पछिल्ला वर्षहरूमा सरकारले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर अनुदान तथा सहुलियतका कार्यक्रम अगाडि सार्दै आएको छ । यसै बीचमा धेरै किसानहरूलाई अनुदानमा कृषि उपकरण तथा विउविजनमा सहयोग भएको छ । जसमध्ये मत्स्य पालनमा लागिरहेका मण्डललाई पनि अनुदानले सहज बनाएको छ । मण्डलले सरकारले बोरिङका लागि, पोखरी खन्ने लगायतका काममा अनुदान दिएको सुनाए । समग्रमा अनुदान सन्तोषजनक रहेको उनी बताउँछन् । सरकारले ७५ प्रतिशतसम्म अनुदान दिँदा महँगा खर्चहरूमा सहज भएको उनको भनाइ छ ।  उनले मत्स्य पालनमा अहिले पानी बोरिङ गरेर निकाल्ने गरेका छन् । जसले पानीको समस्या नहुने उनी बताउँछन् । तर बिजुलीको समस्या भने समय समयमा रहिरहेको उनले बताए ।  उनले माछा पालनका लागि थप सहज गर्न सरकारले दानामा अनुदान दिनुपर्ने बताए ।  
मण्डल मत्स्य पालनमा मात्र सीमित छैनन् । उनले गाई, भैंसी र बाख्रा समेत पालेका छन् । साथै तरकारी खेती र धान गहुँ खेती पनि गरिरहेको मण्डलले बताए । उनले विदेशमा गएर काम गर्दा सुख पाइँदैन जस्तो लाग्ने गरेको सुनाए । ‘आफ्नै जमिनमा उब्जाएर जीवनआर्जन गर्नु नै सुख हो । विदेशमा गएर त्यो सुख पाइँदैन भन्ने लाग्छ,’ उनले भने । उनले अहिले आफ्नो यो पेसाबाट सबै सन्तुष्ट रहेको बताए ।  उनले विदेश जाने साथीहरुले नेपालको कृषिमा रामो आम्दानी गर्न सकिने बुझ्नुपर्ने बताए । उनी भन्छन्,‘विदेश जाने भन्दा पनि कृषितर्फ लागौं । आफू, समाज सबैको विकास हुन्छ ।’
बीमामा छैन विश्वास
पछिल्लो समय सरकारले बीमाका कार्यक्रम ल्याएर पहुँच विस्तारमा लागिरहेको छ । तर पनि मण्डलले भने बीमाप्रति चासो देखाएका छैनन् । माछाको बीमा हुने भएपनि झण्झटिलो र क्षति भएभन्दा कम मात्रै रकम आउने भएकाले यसप्रति चासो नरहेको उनले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑