ऋण लिएर सुरु गरेको घाँसखेतीले राजनन्दनको परिवार नै आत्मनिर्भर, भन्छन्, ‘कृषिमा अवसर धेरै छ’

धनुषाको लक्ष्मिनिया गाउँपालिका १ का राजनन्दन यादव नेपालमै खेती गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् । उनले जौ लगायतका विभिन्न घाँस खेती गर्दै आइरहेका छन् । तीन विगाहा जग्गामा ६ जनाको समूहले घाँसखेती गर्दै आइरहेको यादव बताउँछन् । सामूहिक घाँसखेतीबाट मनग्य आम्दानी गर्न सकिने उनको बुझाइ छ ।

नेपालमा पाइने विभिन्न प्रजातिका घाँस उमार्ने र बेच्ने गरिएको उनले सुनाए । यादवका अनुसार घाँसको बिउ उत्पादन गर्न कम्तिमा तीन महिना समय लाग्छ । तीन महिना लगाएर घाँस उमार्ने, त्यसपछि हुर्काउने अनि बेच्ने काम झट्ट हेर्दा सजिलो देखिन्छ । तर प्रतिक्षा, मेहनत र लगावले घाँस खेती गर्ने किसानलाई सन्तुष्टि पनि उस्तै दिन्छ ।

यादवका अनुसार, कात्तिक देखि फागुनसम्म जौ घाँसको मौसम हो । त्यसपछि  अर्को घाँस उत्पादन गर्ने र बेच्ने गरिन्छ । जय घाँस र तियोसेन्टी (मकैचरी) घाँस नेपालको लागि बहुमूल्य र माग हुने घाँस भएको उनी बताउँछन् ।  

यसबाहेक भेज, बर्सिम, सोडान घाँस, बाज्रा,  सावा, डाले घाँसमा टाँकी, बडहर, किम्बु, इपिल, बहुवर्षीय घाँसमा नेपियर, सुपर नेपियर, पाचपालम, सुम्बासिटेरिया, बदामे लगायतका घासहरू रहेको उनले बताए । 

यादवले वर्षमा विशेष गरी दुई पटक घाँस बिक्री गर्दै आएका छन् । उनका अनुसार, अहिले जौ बिक्री हुन्छ भने वैशाख जेठमा तियोसेन्टी बेचिन्छ । यसलाई चक्र बनाउँदै जाँदा समय लाग्ने उनले बताए ।  

यादवको परिवार ठूलो छ । आमा, बुवा, आफ्नो परिवार लगायत । घाँसखेतीबाट परिवारलाई नै राम्रो आम्दानी भइरहेको उनले सुनाए । उनले भने, परिवारलाई यसले निकै राम्रो आम्दानी दिइरहेको छ । उनले बुवाले पनि घाँस खेती गर्दै आएकोमा आफूले पनि निरन्तरता दिएको समेत बताए । 

उनका अनुसार एक कट्ठा जग्गामा एक क्विन्टलभन्दा बढी जौ घाँस उत्पादन हुन्छ । जुन ६० रुपैयाँ प्रति केजीका दरले बिक्री गरिन्छ । यस्तै एक कट्ठा जग्गामा जियोसेन्टी ४० किलोभन्दा बढी हुन्छ । जसको मूल्य एक सय ५० रुपैयाँ पर्ने यादवले बताए । 

घाँस खेती गर्नेका लागि सरकारले पनि प्राथमिकता दिएर सहुलियत उपलब्ध गराइरहेको छ । विभिन्न समयमा यादव आफैंले पनि त्यो सहुलियत पाएका छन् । उनले भने,‘कुनै कुनै वर्षमा सरकारले गर्ने त्यस्ता कार्यक्रममा मैले एक पटकमा दुई लाख रुपैयाँ पनि सहुलियत पाएको छु ।’ 

घाँसखेती गर्ने किसानको संख्या बढ्दै गइरहेको छ । तर उनको इलाकामा अन्य प्रतिष्पर्धी नभएको यादवले बताए । ४÷५ जनाबाहेक अरुले यस्तो खेती गरेका छैनन् । प्रतिष्पर्धी नै नभएपछि घाँसको माग पनि बढ्ने गरेको उनको भनाइ छ । उनले भने, ‘काठमाडौं लगायतका विभिन्न ठाउँमा घाँस पठाउने गरिएको छ ।’ उनका अनुसार, घाँस ३० भन्दा बढी जिल्लामा बिक्री हुने गरेको छ । जसबाट किसानलाई मनग्य आम्दानी हुने गरेको छ ।

नेपालमै छ अवसर 
पछिल्लो समय रोजगारीका लागि विदेश जानेहरूको संख्या बढिरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेश जानका लागि लामो लाइन लाग्ने गरेका तस्वीर र भिडियो उनले देखेका छन् । जसले गर्दा उनको मन अमिलो हुन्छ । उनले आफूले चिनेका मात्र हैन नचिनेका जो कोही पनि विदेश जाँदा नराम्रो लाग्ने गरेको सुनाए । 

यादल अहिले नेपालको कृषिमा अवसर धेरै रहेको बताउँछन् । त्यो अवसरलाई नदेखेर विदेशमा त्यस्तै काम गर्न गइरहेकोमा उनको चिन्ता छ । उनी भन्छन्,‘सबै आफ्नो खेती बारीमा लाग्ने हो भने विदेश जानै पर्दैन ।’ उनले आफूले पनि सुरुमा बैंकबाट पाँच लाख रुपैयाँ कर्जा लिएर घाँसखेती गरेको सुनाए ।  

काम गर्न चाहनेलाई बैंकले पनि पैसा दिने अवस्था अहिले छ । जसकारण बैंकबाट ऋण लिएर कृषितर्फ लाग्न सकिने उनले सुनाए । उनले भने, ‘विदेशमा पनि नेपालकै जस्तो काम हो, त्यहाँ ऋण गरेर र जानुभन्दा नेपालमै गर्नु राम्रो देखिन्छ ।’

यादवले आफूले केही वर्षमै ऋण तिरेर सकाएको समेत सुनाए । जुन कृषिबाट सम्भव भएको उनको भनाइ छ । उनले आफूले काम गरेर देखाएका कारण सरकारले आफूलाई विभिन्न समयममा प्रोत्साहन र सम्मान गरेको सुनाए । यसले पेशाप्रति थप सन्तुष्टि दिलाएको बताए ।  उनले घाँसबालीको विगतमा बीमा समेत गराएका थिए ।

तर विभिन्न कारण देखाउँदै दावी भुक्तानी नपाएपछि बीमाप्रतिको विश्वास नै गुमेको उनले सुनाए । यादव भन्छन्, विगतमा राम्रो हुन्छ भनेर बीमा गराएको थिएँ । तर भुक्तानी पाएनौँ । त्यसपछि बीमा गराएको छैन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑