चितवन, २७ असोज । तिहार नजिकिँदै जाँदा सयपत्री फूलको माग तीव्र रूपमा बढ्न थालेको छ । फूलको बजार विस्तारसँगै चितवनका व्यावसायिक किसानहरूमा उत्साह थपिएको छ ।
गोरखाका बुधबहादुर गुरुङ विगत पाँच वर्षदेखि भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा सयपत्री फूलखेती गर्दै आएका छन् । उनी यस पेशाबाट सन्तुष्ट छन् ।
“पुष्प व्यवसाय गरेको १० वर्ष भयो, सयपत्री खेती थालेको पाँच वर्ष भयो । अहिले यसबाट राम्रो आम्दानी पाएको छु,” । बुधबहादुर गुरुङले भने ।
गुरुङले गौरीगञ्ज र वरपर गरी करिब एक बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री खेती गर्दै आएका छन् । सुरुका वर्षमा नाफा कम भए पनि अहिले सयपत्रीबाट हरेक सिजनमा चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।
फूलखेतीकै आम्दानीमा परिवार चलाइरहेका गुरुङले अन्य समयमा सोही जमिनमा तिल र मकै खेती पनि गर्छन् । पुष्प खेती पूर्खादेखिको परम्परा भएकाले उनले भरतपुर–७ कृष्णपुरमा नर्सरी सञ्चालन गरी परिवारकै सहयोगमा व्यवसाय अगाडि बढाइरहेका छन् ।
कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तीका चौहानका अनुसार हाल जिल्लामा करिब एक सय किसानले १७ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गर्दै आएका छन् ।
तर, पछिल्ला वर्षहरूमा फूलखेतीको क्षेत्रफल घट्दै गएको उनले बताइन् । “आर्थिक वर्ष २०८०/८१ मा २२ हेक्टरमा खेती गरिएको थियो, अहिले घटेर १७ हेक्टरमा पुगेको छ,”।
उनका अनुसार गतवर्ष किसानले लगाएका बिरुवामा ‘कुकुर फूल’ रोग फैलिएकोले उत्पादन घटेको थियो, जसका कारण किसानको रुचि केही कम भएको हो ।
फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले भने यसवर्ष पनि तिहारका लागि फूलखेती गरिएको भए पनि अविरल वर्षाले समस्या बढाएको बताए ।
“विगत तीन दिनको वर्षाले करिब १० बिघा क्षेत्रफलमा सयपत्री बिरुवा मरेका छन् । त्यसले बाहिरी जिल्लामा माला पठाउन गाह्रो हुने भएको छ,” — सुलभ श्रेष्ठ, सचिव, फ्लोरिकल्चर एसोसिएसन चितवन
उनका अनुसार चितवन जिल्लाका लागि आवश्यक माला पर्याप्त हुने भए पनि यसपटक अन्य जिल्लामा पठाउन नपाइने अवस्था बनेको छ । तिहारका लागि जिल्लामै तीन लाखभन्दा बढी माला बिक्री हुने अनुमान गरिएको छ ।
















प्रतिक्रिया थप्नुहोस्