ललितपुर ३० असोज । ललितपुरको जावलाखेल मैदानमा जारी १८औं गोदावरी पुष्प मेला अवलोकनकर्ताको भीडले भरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको मेलामा पहिलो दुई दिनमै करिब १४ हजार ७ सय जनाले अवलोकन गरेका छन् र ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।
फ्यानका अनुसार पहिलो दिन ७ हजार २ सय अवलोकनकर्ताबाट १९ लाख ७५ हजार रुपैयाँ बराबरको बिक्री भएको थियो। दोस्रो दिन अवलोकन संख्या ७ हजार ५ सय पुग्दा कारोबार २४ लाख ७५ हजार रुपैयाँ पुगेको हो ।
पाँच दिनसम्म चल्ने मेलामा करिब ४० हजारभन्दा बढीले अवलोकन गर्ने र कुल कारोबार एक करोड ३० लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ । तिहार र छठ पर्वलाई लक्षित गर्दै आयोजना गरिएको मेला पुष्प व्यवसाय प्रवर्द्धन र गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको हो ।
यस वर्ष मेलामा ९० वटा प्रदर्शनी स्टल रहेका छन्। तीमध्ये ८० व्यवसायिक, ५ अफिसियल, १ प्लान्ट क्लिनिक, २ प्रतियोगितात्मक र २ फोटो/सेल्फी स्टल रहेका छन् । गोदावरी फूलका मिनियचर, रिफ्लेक्स, स्पाइडर र ईनकर्भ गरी चार विधामा प्रतियोगिता समेत आयोजना गरिएको छ ।
फूल खेती अहिले नेपालमा सौख होइन, व्यवसायिक क्षेत्रको रूपमा विस्तार हुँदै गएको छ। फ्यानका अनुसार देशभर ५२ जिल्लामा करिब २७० हेक्टरमा पुष्प खेती भइरहेको छ । हाल १,२३५ भन्दा बढी व्यवसायी यस क्षेत्रमा संलग्न छन् र करिब ५३ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारमा छन् ।
पुष्प व्यवसायमा करिब ८ अर्ब ८३ करोड रुपैयाँ लगानी भएको अनुमान छ। वार्षिक कारोबार ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको फ्यानले जनाएको छ ।
भन्सार विभागका तथ्यांकअनुसार, आर्थिक वर्ष ०८१/८२ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात कारोबार अघिल्लो वर्षको तुलनामा १०९ प्रतिशतले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सोही अवधिमा आयात कारोबार ५४ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।
आयोजकका अनुसार पुष्प बजारमा हरेक वर्ष १० देखि १५ प्रतिशतले माग बढ्दै गएको छ, जसले नेपालमा फूल खेतीको उज्ज्वल भविष्य देखाएको छ ।

2026-03-23-10-03-05.jpeg)














प्रतिक्रिया थप्नुहोस्