फूलखेतीबाट वार्षिक २५ लाख आम्दानी गर्दै विदेश छोडी गाउँ फर्किएका महतो

सिराहा, २९ असोज । विदेशी भूमिमा कामको खोजीमा वर्षौं बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्ने सफल किसान बनेका छन् । भारतका विभिन्न सहरमा पसिना बगाएका महतोले अहिले सिराहाको लहानमा व्यावसायिक फूलखेतीमार्फत स्थायी आम्दानी गर्न थालेका हुन् ।

१४ वर्षअघि दुई कट्ठा जमिनमा सुरु गरिएको उनको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । उनले मुख्यतः तिहार र विवाहको सिजनलाई लक्षित गरी मखमली, सयपत्री लगायतका फूल उत्पादन गर्दै आएका छन् ।
महतोका अनुसार, “नर्सरीको व्यापार वर्षको केही समय मात्रै चल्ने भएकाले फूलखेती सुरु गरेको हुँ, अहिले फूल र नर्सरी दुवैबाट राम्रो आम्दानी भइरहेको छ ।” उनका नर्सरीमा लिची, आँप, सुनकागतीलगायतका करिब ६० हजार बिरुवा उत्पादन भइरहेको छ । फूलखेतीबाट मात्रै उनले वार्षिक करिब रु। २५ लाखसम्म आम्दानी गर्ने गरेका छन् र हाल १० जनालाई रोजगारी दिएका छन् ।

लहानमा व्यावसायिक रूपमा फूलखेती सुरु गर्ने पहिलो किसान महतोले आफ्नो परिश्रम र लगनको कारण लहान नगरपालिका र कृषि ज्ञान केन्द्र सिराहाबाट चार पटक ‘उत्कृष्ट कृषक’को सम्मान प्राप्त गरिसकेका छन् ।
उनले पूर्वको काकरभिट्टादेखि पश्चिमको दाङसम्म फूलको माग हुने बताउँदै भने, “मागअनुसार प्याकिङ गरेर बसमार्फत पठाउँछु ।” आगामी तिहारका लागि करिब रु। १५ लाख बराबरको फूल बिक्री गर्ने लक्ष्य राखेका छन् ।

हालैको लगातार वर्षाले मखमलीमा डढुवा रोग देखिएपछि उत्पादनमा केही असर पर्ने उनको अनुमान छ । यस वर्ष उनले लहान–१३ मा एक बिघा क्षेत्रफलमा केराखेती पनि सुरु गरेका छन् । निरन्तर लगनशीलता र कृषिप्रतिको समर्पणका कारण महतो अब स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑