किसानको आम्दानी र वन संरक्षण दुवैमा योगदान गर्दै बाँकेको बिरुवा अभियान

जानकी (बाँके), २० पुस । बाँके जिल्लामा हरियाली विस्तार, वातावरणीय सन्तुलन कायम र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित बिरुवा उत्पादन तथा वितरणलाई तीव्रता दिइएको छ । कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके अहिले निजी खेतबारी, सार्वजनिक स्थल र धार्मिक स्थानमा रुख रोपणतर्फ उन्मुख हुँदै गएको छ ।

डिभिजन वन कार्यालय बाँकेका योजना शाखा प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ३० प्रजातिका पाँच लाख १३ हजार बिरुवा वितरण गरिएको छ । सोही अवधिमा पाँच लाख ६१ हजार बिरुवा उत्पादन गरिएको थियो । ती बिरुवा किसानका निजी जग्गा, सामुदायिक वन, सडक किनार, सार्वजनिक स्थल र धार्मिक स्थानमा रोपिएका छन् ।

बिरुवा वितरणको उद्देश्य केवल हरियाली विस्तारमा सीमित नभई स्थानीयस्तरमै काठ र दाउराको आवश्यकता पूरा गर्नु र किसानको आयआर्जन बढाउनु रहेको सुवेदीले बताए । बाँकेका केही स्थानीय तहमा वन क्षेत्र अत्यन्त न्यून वा शून्य रहेकाले पछिल्ला वर्षमा किसान आफ्नै खेतबारीमा रुख रोप्न प्रेरित भएका हुन् ।

खेतको कान्ला, खाली जमिन र घरआँगनमा रोपिएका रुख किसानको दैनिकीको अभिन्न हिस्सा बन्दै गएका छन्। वातावरणीय सचेतनासँगै आर्थिक लाभको सम्भावनाले पनि किसानलाई निजी खेतमा रुख रोप्न आकर्षित गरेको सुवेदीको भनाइ छ । छिटो बढ्ने र बजारमा सजिलै बिक्री हुने प्रजातिका बिरुवाबाट छोटो समयमै आम्दानी हुने भएकाले किसानको रुचि बढेको हो ।

विशेषगरी सागवान र युकालिप्टसजस्ता प्रजाति किसानको पहिलो रोजाइमा परेका छन् । एक वर्षीय प्रजातिमा सागवान, युकालिप्टस र खयरको माग बढी रहेको छ भने बहुवर्षीय प्रजातिमा श्रीखण्ड, कल्कीफूल, ज्याकराण्डा, गुलमोहर, धुपी र जामुन लोकप्रिय बन्दै गएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका आसपास भेनियर, प्लाइउड, इँटा तथा जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा रहेकाले निजी खेतमा उत्पादन भएको काठको बजार सुनिश्चित हुँदै गएको छ । यसले किसानको आम्दानी बढाउनुका साथै प्राकृतिक वनमाथिको चाप पनि कम गरेको सुवेदीले बताए ।

डिभिजन वन कार्यालयले बजारको मागसँगै वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणलाई पनि समान प्राथमिकता दिएको जनाएको छ । प्राकृतिक वन पुनःस्थापना र पारिस्थितिकी सन्तुलनका लागि साल, महुवा, खयर र सिसौजस्ता स्थानीय प्रजातिको उत्पादन तथा रोपणमा विशेष जोड दिइँदै आएको छ ।

हाल कोहलपुर, मेहनमानपुर, अगैया, शम्शेरगञ्ज, नरैनापुर तथा केन्द्रीय नर्सरीमार्फत बिरुवा वितरण भइरहेको छ । चालु आर्थिक वर्षमा छ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसका लागि जिल्लाका आठ नर्सरीमा बिरुवाको गुणस्तर सुधार, नर्सरी मर्मत र व्यवस्थापनका काम तीव्र रूपमा अघि बढाइएका छन् ।

नर्सरी व्यवस्थापन र बिरुवा उत्पादनमा स्थानीय महिलाको उल्लेखनीय सहभागिता देखिन थालेको छ । यसले हरियाली विस्तारसँगै रोजगारी सृजना, सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा पनि योगदान पुर्‍याएको छ । निजी खेतबारी हरियाली बन्दै जाँदा प्राकृतिक वन संरक्षण, ग्रामीण अर्थतन्त्र सुदृढीकरण र वातावरणीय सन्तुलन कायम रहने अपेक्षा गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑