भक्तपुर, २७ असोज । सूर्यविनायक नगरपालिका–७ गुण्डु गाउँ अहिले सयपत्री र मखमली फूलले ढकमक्क फुल्दा राताम्मे बनेको छ । तिहार नजिकिँदै गर्दा गाउँका घरघर र टोलटोल फूलको रौनकले उज्यालो देखिन्छ ।
यहाँका महिलाहरू बिहान सबेरैदेखि फूल टिप्न व्यस्त छन् । बिहान ६ बजेदेखि बारी पुगेका उनीहरू फूल टिपेपछि घर फर्केर माला गाँस्न र स्थानीय व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याई गर्छन् ।
राष्ट्रिय कृषक समूह महासंघकी केन्द्रीय उपाध्यक्ष तथा स्थानीय पुष्प व्यवसायी अनिता बस्नेतका अनुसार गुण्डुमा करिब ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री खेती गरिएको छ । उनले भनिन्,
“किसानबाट एउटा माला २१ देखि २३ रुपैयाँमा खरिद गर्छन् तर बजारमा ६० रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ, मूल्य निर्धारण नहुँदा किसान मारमा परेका छन्।”
बस्नेतले मखमली मालाको मूल्यमा एकरूपता ल्याउन लम्बाइ र गुणस्तरका आधारमा दर निर्धारण गर्न राज्यको ध्यानाकर्षण गराएकी छन् । उनका अनुसार फूलखेतीले यहाँका महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाएको छ ।
स्थानीय उर्मिला नगरकोटीले बुबाबाट ४० वर्षअघि सुरु भएको फूलखेतीलाई निरन्तरता दिइरहेकी छन् । उनी भन्छिन्, “एक रोपनीमा करिब तीन हजार माला उत्पादन हुन्छ र झन्डै ७० हजार रुपैयाँ आम्दानी हुन्छ । धानभन्दा धेरै फाइदा हुने भएकाले सबै फूलखेतीतिर आकर्षित छन्।”
७० वर्षीया सानुमैया नगरकोटी मखमली माला गाँस्नमा व्यस्त छन् । उनी भन्छिन्, “घरका सबै सदस्य माला गाँस्नमा जुटेका छन्, खुसी छौं ।” परिवारका सदस्यले नभ्याएपछि उनीहरूले ज्यालामा माला गाँस्न अन्य महिलालाई काम दिन्छन्, जसको पारिश्रमिक प्रति माला चार रुपैयाँ हुन्छ ।
सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार नगरपालिकाले यस वर्ष ५५० परिवारलाई ७५ हजार फूलका बिरुवा अनुदानमा वितरण गरेको छ । उनले बताए,
“किसानलाई तालिम र प्राविधिक सहयोग दिइरहेका छौं । यहाँ उत्पादन भएको फूल नेपालमै होइन, विदेशमा पनि निर्यात भइरहेको छ ।”

2026-03-23-10-03-05.jpeg)














प्रतिक्रिया थप्नुहोस्