आरिघोप्टेको ताण्डव र किसानको नियति (कविता)

शान्तिको प्रतीक नीलो आकाश,
हरेक वर्ष,
कहालीलाग्दो बादल बोकेर
बेमौसममै
निरिह किसानलाई
तर्साउँछ, सताउँछ,
पिँडामा पारिरहन्छ।

समय घर्किएसँगै
मुटु हल्लाउने चट्याङसँगै
ओइरिएको अविरल वर्षाले
किसानको गाँस लुट्छ,
बास लुट्छ,
आस लुट्छ,
अन्ततः लास लुट्छ।

बाँचेकाहरू
डुबेका बाली हेर्छन्,
बगाएका खेतबारी हेर्छन्,
अकालमा गुमाएका आफन्त सम्झन्छन्।
अर्को बर्खासम्म बाँच्नु पनि
भाग्य ठान्दै,
सुस्केरा हाल्दै
प्रकोपको मलामी बन्न बाध्य छन्।

रोप्ने बेला खेतमा पानी छैन,
काट्ने बेला खेत नै छैन।
चाहिँदा खडेरी,
नचाहिँदा बाढी।
जलवायुको यो निर्दयी खेल,
नखाएको विष
किसानकै घाँटीमा।
कसरी थेग्न सक्छ
मात्र किसानले?

सरकारहरू
किसानको खेतबारी, घरगोठ,
बाली र पशुपंक्षीमा
पुगेको क्षतिको विवरण
सङ्कलन गर्न पनि हिच्किचाउँछन्।
क्षतिपूर्ति त टाढाको कुरा,
राहतसम्म पनि दिन
उपयुक्त ठान्दैनन्।

अर्थतन्त्रको मेरुदण्डमाथि
प्रकृतिको निरन्तर प्रहार हुँदा
रमिते बनेर हेर्ने
सयौं सरकारहरू,
हेक्का रहोस् —
यो प्रकोपको असर
मात्र किसानलाई होइन,
देश, समाज, परिवार,
अझ तिमी स्वयंलाई
झन् महँगो पर्न सक्छ।

लेखक : खाद्यकालागि कृषि अभिकायनका संयोजक हुन् ।

धन्यवाद।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै