हाम्रो जैविक कृषिको जागरण यात्रा २०८२ साल वैशाख ९ गते शुरू भएको थियो । निरन्तर यात्रामा कोही छुट्दै, कोही थपिँदै हामी ६–७ जना सहभागी थियौं । जेठ ७ गतेसम्म चलेको यस जागरण यात्रामा २४ जिल्लाका उत्पादक किसान समूहहरू, सरकारी र निजी क्षेत्रका बजारहरू, कृषि स्नातक अध्यापनरत कलेजका शिक्षक, विद्यार्थीहरू, पत्रकार समूहहरू, नागरिक समूहहरू, बागमती, मधेस र कोशी प्रदेशका ३० वटा स्थानीय सरकारहरू, विभागीय मन्त्रीहरू, मुख्यमन्त्रीहरू, सभामुख र विषयगत समितिका सभापतिहरूसमेतलाई भेटघाट गरी जैविक कृषि केन्द्रित ६० वटा जागरण, छलफल, अन्तरक्रिया, र्याली र सभाहरू सञ्चालन भएका थिए । यात्राबाट प्राप्त सुझावहरूलाई एक समारोहका बीच संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी र प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरलाई हस्तान्तरण गरिएको छ ।
जागरण यात्राको पहिलो हप्तालाई लेखनमार्फत यहाँहरू समक्ष पस्कने जमर्को गरेको छु । पहिलो दिन कृषि विकास कार्यालय काभ्रेसँग भएको छलफलमा बिग्रँदै गएको कृषिलाई मौजुदा संरचनाले थप क्षति पुर्याएको दाबी गर्दै स्थानीय तहमा प्रशासनिक प्रमुखको मातहतमा रहेर प्राविधिकहरूले परिणाममुखी काम गर्न कठिन भइरहेको, कृषि विकासका सरकारी संरचनाहरू एकआपसमा सम्बन्धविच्छेद भएको, किसानका समस्या माथि नपुग्ने र माथिको ज्ञान तल नपुग्ने समस्या रहेको, पालिकामा रहेका प्राविधिकहरूको क्षमताविकासमा लगानी नगरिएको, देश–काल–परिस्थितिअनुसार स्थानीय प्राविधिकहरूलाई क्षमताविकास नगरिएको, प्रादेशिक निकायहरूलाई अनुदान वितरणमा मात्र केन्द्रित गरिएको जस्ता विषयहरूमा चिन्ता व्यक्त भए ।
कार्यालय प्रमुख कुलप्रसाद दवाडी भन्नुहुन्छ—दुर्गम भूगोलमा पनि हामीले अनुसन्धान गरेका मनकामना, गणेश, सिरिजका मकैका बीउहरू भेटिँदैनन्, तर औपचारिक–अनौपचारिक बजारले प्रवर्द्धन गरेका आयातित सि.पी. ८०८ हाइब्रिड जातहरू भने किसानमाझ लोकप्रिय भइसकेका छन् । अनि कसरी जोगाउने हाम्रो बीउ र जैविक विविधता?
हो, रासायनिक मल विषादी घटाउन र प्राकृतिक अभ्यासलाई बढावा दिन ढिलो भइसकेको छ, तर नपुंसक बीउ र सेतो बोराको लत लागिसकेको किसानलाई यसबाट छुटाउन भने निकै कठिन छ । व्यवसायिक जिल्ला काभ्रेका किसानलाई विष–रसायनको बारेमा राम्रो जानकारी नभएको होइन, तर व्यवहारमा आउँदैन । जसको लागि यस्तै जागरणहरूले थोरै–बहुत प्रभाव पार्न सक्छ । हाम्रो तर्फबाट कार्यालयले दिने सुझाव र अनुदानमा चाहिँ उन्नत र जैविकको मात्रा बढाउँदै लगेका छौं ।
बजार अनुगमनमा कार्यालयको भूमिकाबारे सोधिएको एक प्रश्नमा कार्यालय प्रमुख दवाडी भन्नुहुन्छ—बीउ गुण नियन्त्रण, विष, प्लान्ट क्वारेन्टाइन र मल कृषि सामग्रीले हेर्ने गर्छ, यसमा हामीलाई कुनै कानुनी जिम्मेवारी छैन । यसबाट के बुझिन्छ भने देशैभर सिफारिस नगरिएका बीउ, विषादी निर्बाध बिक्री–वितरण भइरहेका छन्, जसलाई नियमन गर्ने निकायहरू प्रायः निष्क्रिय छन् ।
एक प्रश्नको जवाफमा कार्यालय प्रमुख दवाडी थप्नुहुन्छ—केही स्थानीय सरकारहरूले कृषि विकासमा राम्रो काम गरिरहेका छन् । स्थानीय सरकारहरूले सालाखाला १ प्रतिशत मात्रै बजेट विनियोजन गरिरहेको सन्दर्भमा मेलम्ची नगरपालिकाले चालु आवमा आफ्नो ५५ करोड बजेटमध्ये ४ करोड अर्थात् ९ प्रतिशत बजेट कृषिमा विनियोजन गरेको छ । यसैगरी कृषि योग्य जमिन संरक्षण गर्न काभ्रेको पनौती नगरपालिकाले अनुकरणीय कार्य गरिरहेको छ र पाँचखाल नगरपालिकाले सबै वडामा आइ.पी.एम. का कार्यक्रमहरू सञ्चालन गरेर रासायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्न योगदान पुर्याइरहेको छ ।
भकुण्डेका किसान भरत न्यौपाने भन्नुहुन्छ—हामीलाई विष प्रयोग गर्न मन छैन, तर बजारलाई हेरेर रोपिने सिल्भर कप, एनएस ६० जस्ता हाइब्रिड जातहरूले रासायनिक मल र विषादी बिना उत्पादन गर्न कठिन छ । यसो हुँदाहुँदै पनि हामीले जैविक प्रविधिबाट उत्पादन गर्ने प्रयास गरिरहेका छौं । तर लालबन्दी, कालिमाटीका रासायनिक उपजहरूसँगै अरूको भन्दा कम मूल्यमा हाम्रा सुरक्षित कृषि उपज बिक्री गर्नुपर्दा भने दुःख लाग्छ ।
कृषि शाखा प्रमुख हरिष भट्ट भन्छन्—किसानले बीउ, मल, प्रविधि जोगाउन छाडे, उनीहरू पूर्ण रूपमा सरकार र बजारको भर पर्ने ठाउँमा पुग्छन्, यो शुभ संकेत होइन। स्थानिय मकै रोप्नमा २ मुरी फल्यो भने हाइब्रिड ५ मुरी फल्छ अनि मान्छेले सय रुपैयाँमा पाउने बीउ छोडेर खुसीले हजार तिर्न तयार हुन्छ । अल्पकालीन जीवन चलाउन किसानले यसो गर्नु अन्यथा पनि होइन, तर यसको दीर्घकालीन प्रभावको बारेमा सोच्ने र सचेत गराउने सरकारहरू आफैं यसलाई बढावा दिइरहेका छन् ।
भकुण्डेकै अर्का अगुवा किसान उद्वब हुमागाईं भन्छन्—किसान पेशाप्रति सरकार, समाज र बजारले गरेको दुर्व्यवहार देखेर नयाँ पुस्तालाई कृषिमा जोड्न सकिएन । हुमागाईं सरकारको सहयोगमा समुदाय सबै मिलेर खेती नगर्ने हो भने कुनै पनि किसानको एक्लो प्रयासले जैविक खेतीमा सफलता प्राप्त गर्न कठिन हुने बताउनुहुन्छ । लामो समयदेखि समूहमार्फत बीउ वृद्धी–प्रवर्द्धन गर्दै आउनुभएका हुमागाईंले सरकारले नै यसलाई निरुत्साहित गरिरहेको आरोप लगाउनुहुन्छ ।
विविध प्रयोजनमा कृषि योग्य जमिन सकिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै युवा किसान बिमल खनाल भन्छन्—मेरै जीवनकालमा ६० मुरी धान फल्ने जमिनमा आज ६० गेडा फल्दैन । यसरी हाम्रो खाद्य सुरक्षा कहाँबाट सुरक्षित हुन्छ? भारतीय सि.पी. ८०८ मकैको बीउ पोहोर २४५० थियो, अहिले २७०० भएको छ । आयातित बीउको मूल्य बढ्दै जाने र रैथाने बीउ हराउँदै जाने प्रक्रियाले हामीलाई कहाँ लैजाँदैछ?
सिन्धुली जिल्लाको कमलामाई–४ ज्यामिरेका किसानहरूको कथा भने थोरै आशालाग्दो देखिन्छ । २२ जना महिला दिदीबहिनीहरू मिलेर बनाएको मखमली कृषक समूहले गरेको उत्पादन सिन्धुली माडी बजारमा बाहिरको उत्पादनको मूल्य २० रुपैयाँ हुँदा ६० रुपैयाँमा बिक्री हुन्छ । सरकारी कर्मचारीहरू नै लाइनमा बसेर किन्ने गरेका छन् । स्थानीय गैरसरकारी संस्थाहरूले उत्पादनमा गरेको सहयोग र विषादी द्रुत विश्लेषण समूहले कृषक समूहको उत्पादनमा नियमित अनुगमन र परीक्षण गर्ने भएकाले ज्यामिरे समूहको उत्पादन बजारको रोजाइमा परेको हो । जागरण यात्रामा भेटिएको यो एउटा खुसीले आगामी यात्राका लागि ऊर्जा भर्नु यात्रा समूहको नियति जस्तै देखिन्थ्यो ।
सिन्धुली कमलामाई–९ काउछेमा गएको दुई वर्षदेखि प्राकृतिक खेती गरिरहेका माधव ढुंगेल प्राकृतिक कृषि तथा जडीबुटी सहकारीमार्फत १० बिघा जमिनमा प्राकृतिक खेती गर्दै आउनु भएको छ । एक हजार आँप, सात सय अम्बा, लिची, कटहर, केरा, कागती, ज्यामिर, एप्पल बयर, उखु लगायतका हजारौं विरुवा र बगैँचाभित्र घुसुवा बाली लगाइरहनु भएका ढुंगेलले यसका अलावा धानखेती, पशुपालन र कन्दमूलहरूको पनि खेती गर्दै आउनु भएको छ ।
सिङ्गो समुदायलाई सहकारीमा आबद्ध गराउने र सदस्यमार्फत प्राकृतिक खेती गर्ने अभ्यासले सार्थकता पाउँदै गएको देख्दा जैविक कृषिको जागरणमा खुसी हुने नैं भयो । । न रासायनिक मल, न रासायनिक विषादी—गोठमा गाइभैंसीको मल, भर्मी बेडमा गँड्यौला मल, बारिभरी जैविक जिवास्माहरु ।
यसै सन्दर्भमा सहकारी संस्थाका अध्यक्ष तथा प्राकृतिक खेतीका अभियन्ता ढुंगेल भन्छन्—एकाध समस्या बाहेक यस्तो खेतीपाती प्रणाली शुरू गरेकोमा हामी धेरै खुसी छौं ।
जागरण यात्राको क्रममा गएको १२ गते हामी मकवानपुरको बागमती गाउँपालिका–१ माझ गाउँमा थियौं । जनप्रतिनिधि, किसान समुदाय र यात्राका सदस्यहरू रमेश राईको आँगनभरि बसेका थियौं । कुराकानी सामान्य नै भयो, तर त्यसको भावले मलाई भने घोचिरहेको थियो । "खरानी छरेर हुने ठाउँमा किसानलाई विष प्रयोग गराउन सिकाइयो ।
विषको पहिलो असर हामीलाई नै पर्यो । हामी उपचार नै नहुने रोगले थला पर्यौं । अन्ततः धेरै फलाउने नाममा हाम्रो सर्वस्व स्वाहा भयो,"—वडा अध्यक्ष हस्तबहादुर तामाङले बताउनुभयो । रैथाने बीउहरूलाई विस्थापित गराएर बोटमै घुन लाग्ने ठिमाहा बीउहरू किसानका खेतबारीसम्म आइपुगेको दुई–तीन वर्ष मात्रै भयो । यसबाट उत्पादन केही बढे पनि रासायनिक मलको अधिकतम प्रयोग र रोपेदेखि भाँच्ने बेलासम्म गर्नुपर्ने विषको प्रयोगले उत्पादन लागत र नांगो आँखाले देख्न सकिने गरी वातावरणीय सन्तुलनमा असर पु-याएको छ ।
यसका अतिरिक्त, हाइब्रिड नलगाउने किसानको रैथाने वालीलाई समेत छिमेकीको हाइब्रिडको पराग–सेचन प्रक्रियाले अशुद्ध बनाइरहेको छ, उत्पादन घटाइरहेको छ । छोटो अवधिमै दुर्घटनाको पूर्व–संकेतहरू समुदायले समेत राम्रैसँग पाइसकेका छन् । विडम्बना, उनीहरूलाई फर्काउन भने त्यति सहज छैन । अभिभावक सरकारहरू कृषि बिग्रिएकोमा चिन्ता त गरिरहेकै देखिन्छन्, तर त्यसअनुरूपको व्यवहार भने देखिँदैन ।
यस्तैगरी सोही वडामा प्राविधिक धार सञ्चालन गरिरहेको सूर्य माध्यमिक विद्यालयका पूर्व–विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राई भन्नुहुन्छ—"हामीले किताब मात्रै पढायौं, त्यसैले तिनीहरूलाई माटोको माया भएन । परिणामतः युवाले विदेश मात्रै जान्दैनन् । जसका कारण उनीहरू आफ्नो देशप्रति होइन, विदेशप्रति आशा र भरोसा गर्ने ठाउँमा पुगे ।"
आज पनि बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयले आफ्ना छोराछोरीलाई माटो खोतल्न लगाएको खासै मन परेको छैन । एकाध अभिभावक भन्छन्—"हामीले हाम्रा सन्तानलाई पढ्न पठाएका हौं, माटो खोतल्न होइन ।"
हामीलाई माटोसँग किन यस्तो घृणा बढेको? यो हाम्रो रहर हो कि बाध्यता? यद्यपि हाम्रो ओठे राष्ट्रवाद विश्वका अन्य देशका नागरिकको भन्दा हजारौं गुणा बढी छ ।
वडा अध्यक्ष रमेश भन्छन्—"हिजो छोडेर पालेका लोकल कुखुरा र आफ्नै खेतबारीमा फलेको चामल, मकैको जाँड रक्सीले संस्कार–संस्कृति धानेको थियो । आज ब्रोइलरले लोकल कुखुरा विस्थापित गर्यो । सिल–प्याक र डिउले जाँड रक्सी विस्थापित गर्यो । संस्कृतिमा विकृति बढ्यो । आम्दानीभन्दा खर्च बढी भयो । हिजोको कमाइले घर चलेन अनि तीन बाली लाग्ने खेत बाँझो छोडेर परिवार पाल्न युवा खाडी जान बाध्य भयो ।"
यस्तै वंशगोपाल माध्यमिक विद्यालय, मकवानपुरगढी वडा नम्बर २ का वडा अध्यक्ष हरिप्रसाद देवकोटाको भनाइ पनि लगभग उस्तै छ । उहाँका अनुसार रासायनिक मलको प्रयोग बढेको छ तर उत्पादन ६० प्रतिशतसम्म घटेको छ । तर पनि किसानले मल र हाइब्रिड बीउ लगाउन छोडेका छैनन् । हाइब्रिड मात्रै होइन, सायद त्यसैको संगतले होला—रामपुर कम्पोजिटमै पनि रोग र किराहरूको प्रकोप देखापरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका प्रशासकिय अधिकृत सुदन लामिछाने भन्नुहुन्छ—"खेती गर्न श्रम र प्रविधि महँगो छ, त्योभन्दा सजिलो त बजारबाट सस्तो चामल ल्याउने हो । अनि मान्छेले किन खेती गर्छ?"
हाम्रो शिक्षाले माटो सिकाएन, देशप्रतिको माया जगाउन सकेन । सायद उहाँमा यसैको आक्रोश हो—त्यसैले उहाँ थप्नुहुन्छ—"छोराछोरी विदेश पठाउनेहरूले कृषिको चिन्ता गर्दैनन् । जसले सन्तानको भविष्यको चिन्ता गर्दैन, उसले देशलाई पनि माया गर्दैन ।"
उहाँको यो भनाइमा पूर्वाग्रह देखिए पनि स्थानीय सरकारसँग संविधान र कानुनले कृषि विकासको ठूलो भरोसा राखेको छ । युवालाई कृषिमा अड्याउन नसक्नुको धेरै थोरै जिम्मेवारी पनि तपाईंहरूले लिनुपर्छ होला नि भन्ने एउटा प्रश्नमा उहाँ भन्नुहुन्छ—"लेखेर मात्रै हुँदैन, त्यसअनुसारको बजेट पनि उपलब्ध गराउनुपर्छ। पालिकाको स्रोत–साधनले भ्याएसम्म हामी गरिरहेकै छौं ।"
यही भनाइलाई बल पुग्ने गरी कृषि शाखा प्रमुख गोपाल लम्साल भन्छन्—"चालु आर्थिक वर्षमा गाउँपालिकाको आन्तरिक स्रोतबाट ५५ लाख, प्रदेश सरकारको सशर्त ४० लाख र संघ सरकारको सशर्त २२ लाख बजेट कृषिमा छ । मागअनुसार बजेट बनाउने हो भने यसको दशगुना रकम थप गर्नुपर्छ ।
यद्यपि यही रकमबाट पनि कोदो, फापरजस्ता रैथाने बालीहरूको उत्पादन, संकलन र बजारिकरणमा प्रोत्साहन अनुदानमार्फत सहयोग गरिरहेका छौं । भकारो सुधार, जैविक विषादीको प्रयोग, रैथाने र उन्नत बालीहरूमा आइ.पी.एम. पाठशाला सञ्चालन गरेर कृषि शाखाले उपलब्ध स्रोत–साधनलाई सदुपयोग गर्दै आएको छ ।"
उहाँ थप्नुहुन्छ—"नजिकबाट कृषि बिग्रिएको देख्ने हामीजस्ता सरकारी निकायहरूले गर्नुपर्ने जागरण अभियान तपाईंहरूले गर्नुभएकोमा खुसी लाग्यो ।"
पौंवा डांडाका व्यवसायिक किसान जितबहादुर लामा भन्छन्—"खरानी, बनमारा, तितेपातीलगायतका जैविक विषादी बनाउने अभ्यास लोप हुँदै गयो । व्यापारका लागि गरिने खेतीले माटोमैत्री मिश्रित खेती गर्ने चलन हराउँदै गयो । जंगल फडानी भइरहेको छ ।
जलाधार क्षेत्रहरू संरक्षण गर्न जरूरी छ । जैविक खेती थोरै कठिन छ, तर असम्भव होइन । रासायनिक पदार्थ प्रयोग गरिएको ठाउँमा एकैपटक जैविक खेतीमा जान सकिन्न— सुख पनि छैन । त्यसैले यस्ता खालका जागरणले हाम्रो कृषिलाई थप बिग्रनबाट जोगाउन मद्दत गर्द छ ।"
सरोकारवाला सबै कृषि बिग्रिएकोमा चिन्तित छन् । विकल्प हुँदा सच्चिन तयार पनि छन् । सानै परिमाणमा भए पनि सरकारी, गैर–सरकारी तथा सहकारी क्षेत्रबाट विकल्पहरूमा काम पनि भइरहेको छ । यसरी हेर्ने हो भने जैविक कृषिको जागरण यात्राको पहिलो हप्ताले मिश्रित सन्देश दिएको छ ।






प्रतिक्रिया थप्नुहोस्