नदिको तिर र पहाडी खोंचहरू पारगर्दै पृथ्वी राजमार्गको यात्रा त धेरैपटक गरियो तर दायां बांया रहेका पहाड भित्र छिरेर त्यसको बिराटता जान्ने अवसर भने पाइएको थिएन । म जस्तै गाडी भित्र बसेर यो पहाड पछिको चित्र कस्तो छ होला ? भनेर नसोच्ने यात्रु सायद बिरलै होलान। यसपटक २०८० को भाद्र १५ गतेदेखि १९ गतेसम्मको पाँचदिन मेरालागि दशकौं देखिको जिज्ञासा मेटाउने एउटा स्वर्णिम अवसर बन्यो।
महाभारत श्रृखलादेखि तराइ मधेस हुंदै भारतीय सिमानासम्मको भुगोल र त्यहांको जनजिवनलाइ खाना र खेतिपातिको आंखाले पढ्नुका साथै त्यसको प्राविधिक सांस्कृतिक वातावरणिय र आर्थिक आयामहरूमा रहेर सामुहिकरूपमा सिक्ने र त्यसलाई जिवनका विभिन्न मोडहरुमा सम्बोधन गर्ने गराउने उद्देश्यले हिंडाइ तालिम आयोजना गरिएको थियो। तालिमको आयोजना बिगत १५ बर्षदेखि प्रकृति मैत्री खाना र खेतिपातिको पक्षमा पैरवी गर्दैआएको खाद्यका लागि कृषि अभियानले गरेको हो।
तालिम भनेपछि हामी सबैको दिमागले एउटा परिदृश्य निर्माण गर्ने गर्छ । ठूलो हल, थरिथरिका प्रशिक्षक–प्रशिक्षकका विभिन्न प्रशिक्षण बिधीहरू तालिम सकिएपछिको भत्ता यस्तै–यस्तै। तर यो तालिम भने बिल्कुलै फरक थियो। भनिन्छ, सुनेर लेखेर पढेर भन्दा देखेरबढि सिक्न सकिन्छ। देखेर पनि कोठा भित्र बसेर पावर प्वाइन्टमा देखाइने चित्रका चांङहरूमा भन्दा सम्बन्धित स्थानमा आफैं उभिएर देखिएको कुरा जिवनमा सायदै भुलिन्छ होला ? स्थलगत हिंडाइ र हेराइ अनि सम्बन्धितहरूको भोगाईबाट सिकिएको ज्ञानको प्रभावकारिता निश्चय नै अन्य तालिम भन्दा पृथक हुन्छ।
तालिमको अर्को रोचक पक्ष भनेको सहभागी प्रशिक्षार्थीहरू विभिन्न विश्वविद्यालयमा कृषि बिषय अध्ययनरत स्नातकोत्तरहरू थिए। मुख्य प्रशिक्षकमा डा. कृष्ण प्रसाद पौडेल पांचै दिन हामी संगै हुनुहुन्थ्यो भने अतिथि प्रशिक्षकको रूपमा एउटा कक्षा दुर्घटना उन्मुख जलवायु परिवर्तनका बारेमा डा. जिवन क्षेत्रीले लिनुभएको थियो । यसैबीच अधिवक्ता एवं आलोचनात्मक चेत राख्ने विदुषी सरिता तिवारीको उपस्थितिले तालिमको गरिमालाई थप उचाइ दिन बल पुगेको थियो।
१५ जना विद्यार्थी र ५ जना अन्य सहभागीगरि जम्मा २० जनाको समुहले चेपाङ समुदायको जनजिवन र संस्कृति महाभारत र चुरे श्रृङ्खलाको जैविक विविधता मधेश र थारुको कृषि संस्कृतिसंगै सिमानासम्मै पुगेर एकैपटक पहाड र मधेसको जनजिवनलाइ नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको थियो। यसका अलावा तालिम अवधिभर समुह आफैंले आफैं भित्रैपनि धेरै कुरा सिक्यो र सिकायो।
पहिलो दिन
पूर्व सूचना बमोजिम तोकिएको समय अर्थात् ७.४५ बजे म कलंकी पुगिसकेको थिएं। नेपाली समय अनुरूप सबैजना जम्मा भएर कलंकी छोड्दा भने बिहान ९ बजिसकेको थियो। करिब ९० किलोमिटरमा रहेको इच्छाकामना २ फिस्लिङ दारेचोक पुगेर श्रेष्ठ भोजनालयमा खाना खाएपछि एकअर्का बिचको सामान्य परिचय सहित टिम लिडर डा. पौडेलले तालिमको सामान्य नियमहरुबारे जानकारी गराउनुभएको थियो।
नजिकै रहेको तल्लो काउलेदेखि माथिल्लो काउले हुंदै १५ किलोमिटर टाढा रहेको हपनी ओर्र्ल्यांङसम्मका किसानहरूले आफ्ना कृषि उपजहरू बिक्री गर्ने र आवश्यक सामग्रीहरु किन्ने बजार फिस्लिङनै रहेछ। अरू साथिहरूले खाना खाउन्जेल दारेचोकको सानो बजारको एक फन्को लगाउदैगर्दा स्थानिय ब्यापारिलाइ किसानले बिक्रीगरेका गोलभेंडा, नास्पाती, बोडी, कांक्रो लगाएतका कृषि उपजहरू काठमाडौं पठाउनको लागि ठुला ठुला प्लाष्टिकका झोलाहरूमा पोको पारिएको थियो। ठिक त्यसकै अगाडि संयोग डेल्टा मोहन लगाएतका एग्रोभेटहरूपनि देखिन्थे। धादिङको बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको बिचमा पर्ने हुग्दी पुलको दक्षिण तर्फको कच्ची बाटोबाट हाम्रो ५ दिने सिकाइ यात्रा शुरु भयो।
इच्छाकामना गाउँपालिकाले ७५ प्रतिशत लागत सहभागितामा हपनी कृषि समुहलाइ कृषि एम्बुलेन्स उपलब्ध गराएको रहेछ। पुर्ब तैयारी अनुसार बिहान तरकारी लिएर आएको त्यही एम्बुलेन्समा उभिएर हाम्रो यात्रा शुरु भयो। बर्षा यामको कच्ची बाटो भएकोले अवस्था हेरि कतै ओर्लदै कतै उक्लदै हाम्रो यात्रा जारी थियो। हपनी पुग्न करिब ७ किलोमिटर बांकी हुंदै हामिले गाडी छोडेर हिंडाइ तालीम शुरु गर्यौँ ।
बिदाको दिन भएकोले होला बिगत २२ बर्षदेखि शिक्षण पेशा गर्दै आउनुभएकी कमला भण्डारीसंग बाख्रा चराइरहेको अवस्थामा बाटोमा भेट भयो। उहांले चेपाङ समुदायको मुख्य बस्तीमा रहेको राष्ट्रिय आधारभुत बिद्यालय ओर्ल्याङमा प्रधानाध्यापकको भुमिका निर्वाह गरिरहनुभएको रहेछ। भण्डारीले बाटोमै उभिएर हाम्रा जिज्ञासाहरू मेटाउने प्रयास गर्नुभएको थियो।
तल्लो काउले निबासी भण्डारीका अनुसार चेपाङ समुदायहरूलाइ आफ्नोे जमिनबाट पहिला ३ महिना पनि खान पुग्ने अवस्था थिएन। त्यसैले उनिहरू कुल्लीकाम गर्ने र आफ्नो पुर्ख्यौली पेशा खोरिया फांड्ने अथवा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने गर्थे । अहिले अवस्था फेरिएको छ । स्थानीय सरकार र गैर सरकारि संस्थाहरूको सहयोगमा चेपाङ समुदाय हरू ब्याबााााासायिक तरकारी खेती फलफुल खेती र पशुपाल गरेर बार्है महिना खान पुग्ने अवस्थामा पुगेका रहेछन।
चेपाङ समुदायका बालबालिकालाइ शिक्षा र अभिभावकलाइ आर्थिक उपार्जनको ब्यबहारिक ज्ञानसंगै सिकाउदै आउनुभएकी भण्डारी तल्लो काउलेमा रहेको सुनाखरी कृषक समुहकी अध्यक्ष पनि हुन। उनि, ‘भन्छिन हाम्रो समुहमा १७ जना सदस्य छौं। ४० लाख रूपैयाँ हितकोष जम्मा गरेका छौं। २०६५ सालमा गांउका अगुवा शिवध्वज बुढाथोकीको पहलमा व्यावसायिक सुन्तला खेतीको शुरुवात गरेका थियौं । समुह मार्फत शुरूमा ४ हजार बिरूवा रोपिएको तल्लो काउलेमा अहिले १० हजार सुन्तलाका बोटहरू फल दिने अवस्थामा पुगिसकेका छन। हाम्रो समुदायको आर्थिक अवस्थालाई सुधारगर्न सुन्तला खेतीको मुख्य भुमिका छ। आज यहांका हरेक बालबालिकाहरू भरतपुर र काठमाडौंमा पढिरहेका छन।’
कुराकानीका क्रममा उनले जताततै छङ्छङ् पानी बगिरहेको सेपिलो जमिनमा समुहले पुर्ब इलामबाट ४० हजार अलैंचीका बिरूवा ल्याएर रोपेको तर बिरूवासंगै आएको छिर्के फुर्के रोगले अलैंची खेती फष्टाउन नसकेकोले अब समुहको आकर्षण किवी खेतीतर्फ रहेको बताइन् । कृषि उपज संकलन गरेर बजार लाने प्रयास असफल भएकोले किसानहरू एक्ला एक्लै बजार जाने गरेका रहेछन। किसानहरू समुहमा आबद्ध भएपनि सामुहिकताको भने अभाव रहेछ।
यद्यपि यो मनोरोग देशैभरी ब्यापक छ। सम्भव भएसम्म बाला छनौट गरेर बिउ आफैं राख्ने गरेको बताउने भण्डारी घैया कोदो लगाएतका रैथाने बालीका जातहरु भने लोप हुंदै गएको बताइन। सुन्तला पछिको दोश्रो मुख्य आयश्रोत रहेको बाख्रा ब्याबसायले स्थानियस्तरमा उत्पादित कोदो मकैको खपत गर्ने र समुदायले भने आयातित चामलको प्रयोग गर्नेरहेछन।
ब्याबसायिक खेतीको सुरूवातसंगै प्रयोग हुनथालेको रसायनिक बिषादीको प्रभावले प्रेसर सुगर पाठेघर लगाएतका रोगहरू छिटफुट देखिन थालेका रहेछन। कुराकानीका क्रममा उनले चराइरहेको बाख्राले रोपेको कोदो खाएको खवर पाएर पनि धैर्यतापुर्वक हाम्रो समुहलाई जानकारी उपलब्ध गराउने भण्डारी मिसलाई धन्यवाद दिएर हाम्रो यात्रा अगाडि बढ्यो।
हामिलाइ लिएर आएको गाडिलाइ हाम्रा झोला बोकाएर पठाएपछि हाम्रो त्यस दिनको हपनी सम्मको हिंडाइ शुरु भयो।
गाडी जाने नै बाटो हो तर हामिले हाम्रो तालिमको मर्म अनुसार साना साना स्वेच्छिक समुहमा रहेर बाटोमा भेटिएका स्थानिय र देखिएको कृषि पर्यावरणसंग साक्षात्कार गर्दै हिड्ने निधो गरेका थियौं । करिब ४ घण्टाको हिंडाइपछि माथिल्लो काउलेमा रहेको जनप्रिय माबी कल्याणटार काउलेको प्रांगणमा हाम्रा स–साना समुहहरु जम्मा भयौं । तर तिनजना साथिहरुले बाटो भुल्नुभएछ।
फोन सम्पर्क पनि नभएपछि त्यो भुगोलको बारेमा थोरबहुत जानकारी राख्ने दिपेश जी उहांहरूलाई खोज्न जानुभयो। हामी बांकी सहभागिहरु ओरालो झर्दै हपनी तिर लाग्यौं। अलि टाढै पारिपट्टि एउटा निलो हरियो जस्ताले छाएका घरहरूको बस्ती देखियो बाटोमा त्यही गांउका केही युवाहरुलाई भेटेपछि थाहा भयो कि हामी पुग्ने गांउ त्यही रहेछ ।
छुटेका साथिहरु पनि आइपुगे। पुर्व सुचना अनुसार वडा अध्यक्षको ब्याबस्थापनमा जुन घरमा बस्ने हो त्यही घरमा खाना खाने गरि २० जनाको समुह तिनवटा घरमा बांडिएर बसियो । तिनवटै घरमा दुइ छाक स्थानीय निगुरो स्कुसको मुन्टा करेला बोडी दाल मकैको ढिंडो र आयातित चामलको भात खाइयो ।

दोस्रो दिन
हामी वडा कार्यालय संगैको बस्तिमा थियौं । वडा अध्यक्ष लगायत स्थानीय चेपाङ समुदायसंग वडा कार्यालयमा बस्ने योजना अनुसार बिहान आठ बजे हामी सबैजना जम्मा भयौं।
वडा अध्यक्ष लगायत १० जना जती स्थानीय पुरुष चेपाङहरूसंग हाम्रो समुहले करिव २ घण्टा जति खाना खेतिपाति र चेपाङको समग्र जनजिवनका विषयमा कुराकानी गर्यों।
चितवनलाइ देशको दोश्रो राजधानी पनि भनिन्छ। त्यसैले एकातिर हपनी पुग्देगर्दा चितवनमा पनि यस्तो भुगोल हुन्छ र भन्ने प्रश्न धेरै सहभागिहरुको मनमा थियो भने अर्कोतिर घर बस्ती रहन सहन लगाएत हाम्रो दिमागमा रहेको चेपाङ समुदायको चित्र ठ्याक्कै उल्टो थियो। जिल्लाका हिसाबले चितवननै घर भएकी अधिबक्ता सरिता तिवारी भन्दैहुनुन्थ्यो, ‘फरक ठांउ र फरक सन्दर्भमा केहि बर्ष अगाडि चेपाङको घरमा बसेको छु। तर त्यतिबेला एउटा गुन्द्रिमा हातको सिरानी र आफ्नै सलको सिरक बनाएर रात काटेको थिएं । तर आज गांस बास र कपासको हिसावले चेपाङको अवस्था निक्कै फेरिएको रहेछ । मेरो चासो रहेको क्षेत्र महिला र कानुन भएकोले सोही बिषयमा उनिहरूसंग कुराकानी गर्ने प्रयत्न गरें ।’
बाहिरि मान्छेहरूसंग खासै खुल्न नचाहने हुनाले चेपाङ महिलाहरूका यथार्थ भोगाइबारे जान्ने इच्छा यसपाली पनि अधुरै रह्यो। चेपाङहरुसंग आज बोन होइन क्रिश्चियन धर्म छ। एकाध बाहेक सिंगो गांउनै क्रिश्चियन धर्ममा रूपान्तरित भइसकेको छ। गांउको बिचमा ठुलो चर्च छ। शनिबार चर्च जानुपर्ने भएकोले केही पुरूषहरू मात्र हाम्रो छलफलमा सहभागी भएका थिए।
धर्म परिवर्तनको कारणबारे बुझ्न खोज्दा उहांहरूको जवाफ थियो धेरै बिरामी भएकोले यसबाट पार पाउन हामिले हाम्रो धर्म छोडेका हौं। समानताको प्रश्नमा हामी बसेकै घरमा राती आठ बजे तरकारी बेचेर फर्किएकी महिलाले पाहुनालाई खाना बनाएर खुवाएको र भोलिपल्ट बिहान बेलुकिको भांडाको चांङ तिनै महिलाले मात्रै मांझिरहदा घरको पुरूष भने उपरखुट्टी लगाएर बात मरिरहेको दृष्य देखेका सहभागी हरूले महिला पुरुषमा बराबरीको ब्यावहार गर्ने पुरूष चेपाङहरुको दावीलाइ भने पत्याउन सकेनन।
समिक्षाको क्रममा अघिल्लो दिन तल्लो काउलेमा भेटिएकी कमला मिसले चेपाङ रुपान्तरणमा हाम्रो भुमिका महत्वपूर्ण छ भन्नुभएको थियो। यसबारेमा हामिले सकारात्मक र नकारात्मक दुवैखाले असरहरु अनुभव गर्यौं । चेपाङहरु क्षेत्री बाहुन हरूलाइ स्यो भन्दारहेछन। मिश्रित समुदायमा बस्ने चेपाङहरूले स्योहरूको नक्कल गर्दा धेरै कुराहरुमा सुधार गरेपनि आफ्नो भाषा संस्कृति भने समाप्त पारिरहेको देखियो।
स्थायी बसोबास गर्ने,भएका जमिनहरु कौडिको भाउमा विक्री गर्ने,जुवा तास खेल्ने,अन्तरजातिय विवाह गर्ने लगाएतका अनगिन्ती परिवर्तित जनजिवनलाइ नियाल्दा आफ्नो प्रकृतिक गुण छोडेर हिंडिरहेको बकुल्ला र उड्दैगरेको हांस जस्तै देखिदैछन हपनीका चेपाङ समुदायहरू ।
प्रकृतिक खेती र बिकासे खेती दुवैको अभ्यास गरेको यो पुस्ता आज तुलना गर्ने अवस्थामा पुगेको छ। दुइ दशक अघिसम्म आफ्नै घरमा रैथाने बिउहरू थिए तर आज प्रायः लोप भइसके। यतिखेर उनिहरूमा नजानिँदो चिन्ताले सताइरहेको छ । फिस्लिङका एग्रोभेटमा बिउ पाइएन भने हाम्रो अवस्था के होला१ नयां बालिहरूमा प्रयोग गर्नुपर्ने रसायनिक मल र बढ्दो रोगकिरा नियन्त्रणमा प्रयोग गर्नुपर्ने बिषादीमा हुने खर्चले उत्पादन लागत बढेको छ।
बजारबाट किन्नुपर्ने मल बिउ बिषादी र अस्थिर बजार मुल्यमा बेच्नुपर्ने कृषि उपजले छोटो अवधिमै किसान उभो नलाग्ने निष्कर्षमा चेपाङ किसानहरू पुगेका छन। समिक्षाको क्रममा चेपाङ हरूले रैथाने खेति पद्धतिमा फर्कने चहाना ब्यक्त गर्दैगर्दा त्यसबाट उनिहरुको सहज जिविकोपार्जन हुन सक्ला कि नसक्ला भन्ने शंका पनि संगै उठिरहेको थियो ।
देशका धेरै थारू समुदायहरूले जिविकोपार्जन सहित आफ्नो मौलिकतालाई होमस्टे मार्फत प्रचार प्रसार गरिरहेको छन। ठिक यसैगरी चेपाङ समुदायले पनि होमस्टे मार्फत धेरै कुरा गर्न सक्थ्यो । तर सकिदै गरेको मौलिक संस्कृती र रसायनमा आधारित खानेकुराले यतातर्फ लाग्ने बाटोनै बन्द गरिदिएको छ। शान्त चेपाङ समुदायमा अशान्त पार्ने स्थानीय कच्चा पदार्थमा आधारित लोकल रक्सी बन्दगर्ने तैयारी गर्दैगरेका वडा अध्यक्ष बजारबाट आउने शिलप्याक रक्सी र चिसो बन्दगर्ने हैसियत भने राख्दैनन्।
भनिन्छ, विनास विनाको विकास नै दिगो विकास हो। वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो । तर जात धर्म भाषा मौलिक संस्कृति परम्परा भेषभुषा बसोबास रहनसहनमा आएको फेरबदल विकासको परिभाषा भित्र पर्छ की पर्दैन ? यो बहसको बिषय बन्नसक्छ। समिक्षाको क्रममा उठेका दुइवटा यक्ष प्रश्न थियो काठ तेर्स्याएर बनाएको छाप्रोमा लगौंटी लगाएर धुस्रै र फुस्रै ठिंग उभिएको चेपाङ हेर्न खोज्ने हाम्रा आंखा हरू मध्ये कतिजना त्यो जिवन जिउन तैयार छौं ? त्यसैले परिवर्तनलाई आत्मसाथ गर्नुको बिकल्प छैन। अर्को प्रश्न थियो घर थर जात भाषा धर्म संस्कृति सबै परिवर्तन भएपछि के अब चेपाङको परिचय जिवित छ त ?
नेपालले सात दशक भोगेर नचेतेको बिकासे कृषिका खराब पक्ष चेपाङ समुदायले दुइ दशकमानै पत्ता लगाएका छन। वडा नं २ ले चेपाङ नेतृत्वको वडा अध्यक्ष पाएको छ। उनीहरूलार्इ मुख्य मन्त्रि प्रधानमन्त्रीको त नाम पनि थाहा छैन । थाहा पाउन जरूरी पनि ठान्दैनन्। सधैं देखिने भेटिने सरकार आफ्नै बिरादरी भित्र भएकोमा भने गर्व गर्दछन्। केहि बर्ष अगाडिमात्रै गांउ सम्मको मोटरबाटो खनिएको छ।
हपनीका चेपाङ समुदायको बसोवास ढुंगामाटोले बनाएका रंगिन जस्ताले छाएका सुन्दर घरहरुमा छ। दातृ निकायहरुले घरघरमा बनाइदिएका धाराको पानी फिल्टरले छानेर पिउने, ग्यासमा खाना पकाउने सोलार बत्ति, ट्वाइलेटको बन्दोबस्त, घर कच्ची नै भएपनि भुइमा प्लाष्टर लगाएतका उन्नत समाजमा देखिने भौतिक बिकासको प्रवेस भएको देखिन्छ।
सिंगो समुदाय मिलेर बस्ने, एक आपसमा इर्ष्या र रिसइवी नगर्ने, महिनावारी लगाएत छुवाछुत नबार्ने, घांसमा आधारित रैथाने गाइ, गोरु, बाख्रा पाल्ने, विभेदरहित ढंगले छोरा र छोरीलाई विद्यालय पठाउने लगाएतका प्रगति गरेको छ हपनीले । प्राकृतिक स्वभाव भएका चेपाङहरु शान्त र सरल छन। मोवाइल नहेरी खाना नखाने बालबालिकादेखि भोगिरहेका हामीहरूका लागि बिजुली, वाइफाइ बिना असजिलो परिवेशमा पनि सजिलो मानेर लेखपढ गरिरहेका वालवालिका देखेर इर्ष्या लागिरहेको थियो।
हुनत एकरातको बसाइबाट सिंगो समुदायबारे खासै बुझ्न त सकिदैन तर हाम्रो उद्देश्यनै सिक्ने भएकोले हामी भित्र भएका कौतुहलतालाइ सहजै मेटाउन वडा अध्यक्ष लगायत स्थानिय समुदायले देखाउनुभएको सदासयताले हामिलाई धेरै कुराहरू सिक्ने अवसर मिलेको थियो। यसप्रति हाम्रो सिंगो समुह उहांहरूप्रती अनुग्रहित छौं। कुराकानीको बृस्तृत जानकारी मं अर्को कुनै अंकमा सार्वजनिक गर्ने नै छु।
हिंजो बास बसेकै घरमा बिहानको खाना खाएर करिब ११ बजे तिर हामी हपनीबाट ओर्र्ल्यांङ झर्यौं । ओर्ल्याङ सवैतिर डांडाहरुले घेरिएको दुइ खोलिको दोभान रहेछ। शेर बाहादुर चेपाङका पिंढीमा एकछिन बसेर भालाकुसारी गरियो । सात कक्षा सम्म पढाइ हुने कमला भण्डारी मिसको राष्ट्रिय आधारभुत विद्यालय पनि यहिं रहेछ। ओर्ल्याङका अगुवा शेर वहादुर चेपाङ संग ठट्टा गर्दै मैले भनेको थिएँ, 'यो ठांउको नाम किन उक्ल्याङ नराखेको ?'
किनभने हाम्रो यात्रा हपनीबाट ओर्ल्याङ दोभान हुंदै मायाटार तिरको ठाडो उकालो चढ्नु थियो। हामिले हिंजो हुग्दी छोडेपछि पिच देख्नपाएका थिएनौं।ओर्ल्याङको उकालो पछि पिच बाटो भेटियो जहांबाट मायाटार उपरदांग गडी हुंदै शक्तिखोर पुग्न २० किलोमीटर भरतपुर पुग्न ४२ किलोमिटर र फिस्लिङ पुग्न २७ किलोमिटर लाग्ने रहेछ। भरतपुरको गर्मी छल्न ४० किलोमिटरको यात्रा तय गरेर १४०० मीटर उचाइमा रहेको मायाटार आउने आन्तरिक पर्यटकहरू पनि बाक्लै देखिन्थ्यो
झोलुङ्गे पुल तर्ने बित्तिकै पहाडको फेदीमा चेपाङ समुदायका असाहय बालबालिकालाई राखिएको एउटा सानो घरलाई देब्रे पारेर करिब एक घन्टा ठाडै उकालो उक्लिएपछी फिस्लिङ शक्तिखोर पिच बाटो भेटियो। करिव दुइ घण्टा पिच बाटो हिंडेपछि रमणिय मायाटार पुगियो। मायाटारमा उसिनेको अनि पोलेको लोकल मकै र गुन्द्रुकको अचार खाजा खांदै हामिले हिंजो देखिका गतिविधिहरूको संक्षिप्त समिक्षा गर्यौं।
मायाटारमा समिक्षा सक्दा झण्डै पांच बजिसकेको थियो। हिंड्न गार्हो हुने केही साथिहरु र झोला गाडिमा पठाएर बाकी सहभागिहरूले आठ किलोमिटरको दुरिमा रहेको उपरदाङगडीको तेर्सो पिच बाटोको यात्रा तय गरियो। हामी सवैजना तेज होमस्टे संगैको होटलमा जम्मा हुंदा रातिको आठ बजिसकेको थियो। खाना खाएपछि जलवायु परिवर्तनका समसामयिक सवालहरुमा डा जिवन क्षेत्रीले एक घण्टा प्रशिक्षण गर्नुभएको थियो।

तेश्रो दिन
आकासले राती निकै गड्याङगुडुङ गर्यो । बिहान उठ्दा हुरी बताससंगै मसिनो पानी परिरहेकै थियो। विस्तारै पानी घट्दै गएपछि सबैजना होटलबाट ३ मिनेटको दुरिमा रहेको ऐतिहाशिक स्थल उपरदाङ गडी उक्लियौं। बिक्रम सम्बत १८०० मा निर्माण भएको गढी र सोही स्थानमा १९६० सम्म चितवनको सदरमुकाम रहेको उपरदाङ गढी घुम्ने अवसरले हामी सबै दंग थियौं । बिहानको नास्तापछि बाबु बिरामी भएपछि सुजाता जीलाइ काठमाण्डौ र कार्यब्यस्तताका कारण सरिता जीलाई चितवनको लागि बिदा गरेर बिहान ८ बजे हाम्रो यात्रा स्यांदी तर्फ लाग्यो।
माथि डांडामा रहेको राती बास बसेको होटल साहुजिको सल्लाह अनुसार तल फेदिमा रहेको स्यांदी जाने बाटो पच्छ्याउँदै हामी अगाडि बढ्यौं। शुरूवाती बाटो खासै मान्छेहरूको ओहोरदोहोर नहुने अग्ला घांसले पुरिएको पहिल्याउनै मुस्किल सांघुरो गोरेटो थियो। त्यसमाथि भर्खर सम्म पानी परेकाले भिजेको घांस र चिप्लो बाटोसंगै चुम्बकमा फलाम टांसिए झैं टांसिने जुकाले हाम्रो यात्रा रोमान्चक बनाइरहेको थियो। करिब एक घण्टा यस्तो बाटो हिंडेपछि गोरेटो छोडेर फराकिलो सडक देखिएकोले सोही बाटो पच्छ्यायौं ।
फराकिलो सडकको हाम्रो यात्रा आधाघण्टा पनि रहेन। बाटो नजिकै भेटभएका गुरूङ दाजुसंग थोरै समय भालाकुसारी गरेर उनैले देखाएको जंगलको बाटो समात्यौं। जुन अघि हामिले छोडेको गोरेटोको निरन्तरता थियो। जंगलको बाटो भएकोले हामीले थाहैनपाइकन दुइ समुहमा बिभाजित भइएछ।
फोन सम्पर्क भइरहने हुनाले खासै फरक परेन। करिब दुइ घण्टा जंगल ओरालो झरेपछि बाटोमा कतै कतै चेपाङका घरहरू भेटिन थाले । घरसंगै बस्तुभाउ र जोतकमोद गरेका जमिनहरु पनि देखिएपछि उहांहरूको जनजिवन वारे कुरा गर्दै बाटो सोधखोज गर्दै करिब १ बजे हामी स्यांदी पुग्यौं। माथि जंगलबाट छुट्टिएका साथिहरु पनि आइपुग्नुभयो ।
बाटोमा पर्ने खोलामा कोहिले तातेका गोडा र कोहिले जिउनै चोपल्दै रिचार्ज गर्नुभयो। पांच मिनेटको दुरिमा रहेको स्यांदि होटलमा हाम्रालागी खाना पर्खिरहेको थियो। खाना पछि मज्जाले आराम गर्दै थोरै यात्रा समिक्षा गरेपछि बास बस्ने स्थान गोर्खा होटलतर्फ लाग्दा करिव ३ बजेको थियो। जंगलको असजिलो लामो बाटो हिंडेर हिंड्ने शक्ति गुमाएको हाम्रो टोलीले यातायातको वैकल्पिक बाटो तय गर्यो। बास बस्ने गोर्खाली होटलमा स्विमिङ पुल पनि भएकोले साथिहरुले करिब २ घण्टा स्विमिङ खेलेर दिउंसोको थकाइलाइ मनोरन्जनमा रूपान्तरण गर्नुभयो। खाना खाएपछि थोरै समिक्षा गरेर हामिले हिंडाइ तालिमको तेश्रो दिन सक्यौं।

चौथो दिन
आज माडिको यात्रा गर्ने दिन हो। बाटोमा पर्ने छविलाल न्यौपानेजी को प्रांगारिक खेतिपाति पनि अवलोकन गर्ने योजना अनुरुप हामी शुक्रनगर पुग्यौं। २०५७ सालबाट तरकारी खेती शुरूगर्नुभएका छविलालजी ले २०७२ देखि मात्रै ब्याबसायिक खेतीपातीको थालनी गर्नुभएको रहेछ । उहांले भरतपुर महानगरपालिका वडा नं २५ र २८ मा गरेर १६ बिघा जमिनमा ब्याबसायिक तरकारी खेती गर्नुभएको भएपनि डेढ बिघा जमिनमा मात्र प्रांगारिक बिधि अपनाउनु भएको रहेछ।
प्रांगारिक खेतिको लागि वेष्ट डि कम्पोजर जिवामृत पन्चामृत निमास्त्र भर्मिकम्पोष्ट लगाएतको जैविक सामाग्रीहरुको प्रयोग गरिदो रहेछ। कम लागतमा उत्पादन हुने भएकोले पिजीएस प्रमाणिकरण कृषि उपज भएतापनि केही छिमेकीहरूले खरिद गर्ने बाहेक उहांको अन्य रसायनिक उत्पादनसंगै मिसाएर गैर प्रांगारिक बजारमा बेच्दा खासै फरक नपरेको अनुभव सुनाउनुभयो।
स्थानीय कुमाल समुदायका ४ जना अस्थायी र अन्य श्रमिक हरूलाई खाना खाजा खाएर प्रतिदिन ४५० ज्यालामा रोजगार दिइरहनुभएका पौडेल सरले आफ्नै खर्चमा प्रभात प्रांगारिक कृषि उत्पादन केन्द्र भरतपुर २५ को नाममा श्रमिक ल्याउने लाने गाडीको समेत ब्याबस्था गरिरहनुभएको रहेछ। उहांकाअनुसार स्याहारसुसारका हिसाबले खेतिपाति र दुधका लागि पशुपालन एकैपटक गर्न हुंदैन भन्ने मान्यता राख्ने पौडेल सर संग यतिखेर ४२ वटा पाडापाडी रहेछन ।
कुराकानीका क्रममा बत्तिका मुनि सेम्पु पानी राखेर रात्रीकालिन किराहरु नष्ट गर्ने र औंसा पार्ने झिंगा लाइ सुगन्ध कोपिलाको रसले ब्याबस्थापन गर्नेगरेको बताउनुभयो। सरकारी सहयोगको बारेमा राखिएको जिज्ञासामा गत आव मा पहिलोपटक प्रांगारिक मल बनाउने खुल्ला सेड कार्यक्रम अन्तर्गत दुइ लाखको परियोजना मध्ये सरकारबाट ९० हजार प्राप्त भएको बताउनुभयो।
शुक्र नगरको प्रभात कृषि फार्म पछि हामी चितवन राष्ट्रीय निकुञ्ज पार गर्दै झण्डै ४० किलोमिटर टाढा रहेको माडी पुग्यौं । मध्यान्हको १२ बज्न लागिसकेकोले भोकसंगै माडीको आकर्षण बनिरहेको डा. भानेश्वर पोखरेलको फार्ममा बिहान मिठो खाना खाइयो ।
सन् २०२० डिसेम्बरबाट सुरु भएको माडी प्राङ्गारिक कृषि फर्मले एकीकृत खेती माछा मौरी तरकारी फलफुल गाई भैंसीदेखि हाइटेक हुँदै हाइड्रोपोनिकसम्मको व्यावसायिक कृषि अभ्यास संगै सिक्न चाहनेहरूका सशुल्क तालिमहरू पनि सञ्चालन गर्दै आएको रहेछ।
यसका सन्चालक भानेश्वर पोखरेलले चितवनको रामपुरबाट अर्गानिक कृषिमा एमए र डेनमार्क बाट पोषण बिषयमा पीएचडी गरेका रहेछन्। माडीको मगोइ उत्तर बाहिनी नदीको बगरमा रहेको जमिन २५ बर्षको लागि भाडामा लिएको १८ बिघा र आफ्नो ५ बिघा गरि २३ बिघा जमिनमा फार्म सञ्चालन भइरहेको रहेछ। ४० जना कामदार र १० जना ओजेटी विद्यार्थीहरूले उत्पादन प्रक्रियामा सहयोग पुर्याइरहेका रहेछन्।
भानेश्वरजीलाइ उहाँले अध्ययन गरेको विषय अनुशार नै अर्गानिक खेती गर्ने रहर पलाएको हुन सक्छ। तर २३ बिघा जमिन मध्ये २२ बिघामा रसायनिक र १ बिघामा मात्रै अर्गानिक खेति गर्ने अनि फार्म सुरु गरेको दुई वर्ष नै पूरा नभइकन फार्मको नाम नै परिवर्तन गरेर माडी प्राङ्गारिक कृषि फर्मबाट माडी एग्रो भेन्चर बनाउने कुरा सुन्दा कम्तीमा भानेश्वरजी जस्तो मान्छेकालागि उहाँको कथन त्यति सुहाए जस्तो लागेन।
यसबारेमा हामिले प्रश्न राख्दा उहां मुस्कुराउदै भन्नुहुन्छ, ‘१ बिघामा प्राङ्गारिक खेतीको अनुसन्धानगर्ने र सफल भएमा मात्र आगामी १० वर्षभित्र सबै जमिनलाई प्राङ्गारिकमा लैजाने हो।’ त्यही बिषयमा बर्षौं अध्ययन गरेर डिग्री लिएको मान्छेमा त यो तहको आत्मविश्वास छ भने उहांसंग सिक्नभनेर जानेहरुले के सिक्लान र कसरी प्रांगारिक खेती गर्लान् भ्रमण दलमा सहभागी कृषि ग्रयाजुएट भाइबहिनी हरूले के शिक्षा लिए होलान ? सहजै अनुमान लगाउन सकिन्छ। चौथो दिन उहांका सिकाइ भोगाइ हरू सुन्दै फिल्ड हेर्दै हिडाइ तालिमको अन्तिम दिन भएकोले वेलुकी नाचगान सहित रमाइलो गर्दै माडी प्रांगारिक कृषि फार्मको ब्यबस्थित पाहुना घरमा सुत्यौं।
पांचौं दिन
तालिमनै हिडाइ भएकोले हामी सवै मज्जैले थाकेका थियौँ। तर त्यहां पुगिसकेपछी सोमेश्वर मन्दिर पुग्नुपर्छ भन्ने हुटहुटीका कारण वेलुकीको योजना अनुशार हिड्न सक्नेहरू सोमेश्वर मन्दिर जाने र अरू साथीहरू माडीका थारु समुदायसँग अन्तरक्रिया गर्ने सहमती भयो। कम्तिमा ६ घण्टा हिड्न सक्ने ७ जना साथी हरुको स्वेच्छिक समुहले लगभग एकतर्फी १५ किलोमीटर दुरीमा पर्ने नेपाल भारत सिमानामा रहेको सोमेश्वर कालिका मन्दिरको दर्शन गर्यौं ।
नेपाल तर्फ माडी ५ को बगौडा सामुदायिक बनको ठाडो उकालोमा रहेका भीमकाय ढुङ्गाहरूमा कुंदिएका अनेक आकृति हरु हेर्दै कारिव ३ घण्टाको उकालो पार गरेपछी दशगजा हुंदै सोमेश्वर मन्दिर पुगिएको थियो । ठिक त्यसैबेला नेपाल भारत संयुक्त सुरक्षा टोलीले सिमा सुरक्षाको अनुगमन गर्दै गरेको रहेछ ।
अनुगमन टोलिमा रहेका सशस्त्र प्रहरीहरूले यो घना जंगलमा बाघ भालुको डर हुन्छ भनेपछी भने हामी भित्र भित्रै थोरै डराएका थियौं। मन्दिरको दक्षिणतर्फ भारतको बिहार अन्तर्गत रामनगर ग्रामपन्चायत पर्नेरहेछ। करिव १४ किलोमिटर जंगल र २० किलोमिटर पक्कि सडक पारगरेपछी भारतीय सहर पुग्न सकिनेरहेछ। मन्दिर दर्शन गरिसकेपछि तलबाट लगेको खाजा पनि खादै करिव ११ बजे हिंजो बास बसेको माडी प्रांगारिक फार्म पुगियो।
हिडाइ तालिमको संक्षिप्त समिक्षा,तालिममा सहभागीहरु लाइ प्रमाणपत्र बितरण र दिउसोको खाना खाएर हामिले पाँच दिने औचित्यपूर्ण रोमान्चकारी र नौलो सिकाइ अनुभव लिएर मडि छोड्यौं र सोही दिन सवै आ(आफ्ना घर लाग्यौं। तालिममा सहभागी कृतिम रसायनमा आधारित कृषि ग्रयाजुएट युवाहरुको खान र खेतिपातीलाइ हेर्ने दृष्टि देखिने दृष्य बन्ने दृष्टिकोण र अबलम्बन गर्ने दर्शनमा थोरै फेरबदल ल्याउन सकियो भने सिकाई सफल भएको मानिनेछ ।
धन्यवाद
उद्धव अधिकारी
संयोजक
खाद्यका लागि कृषि अभियान






प्रतिक्रिया थप्नुहोस्