रैथाने बाली उपज बिक्री स्टलबाट ८० हजारभन्दा बढीको कारोबार

मकवानपुर, २४ माघ । राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा स्थानीय एवं रैथाने बाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टलबाट ८० हजारभन्दा बढीको कारोबार भएको छ । 

कृषि ज्ञान केन्द्र चितवनको सहयोग र मकवानपुरगढी गाउँपालिका, कृषि विकास शाखाको संयोजनमा सञ्चालित स्थानीय एवं रैथाने बाली कृषि उपज प्रदर्शनी तथा बिक्री स्टलबाट विभिन्न बाली तथा वस्तुहरू बिक्री गरिएको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाका सचिव कृष्णबहादुर घलानले जानकारी दिए ।

उद्योग वाणिज्य संघ हेटौँडाको आयोजनामा माघ ११ देखि २३ गतेसम्म सञ्चालन भएको महोत्सवमा मकवानपुरगढी गाउँपालिकामा उत्पादित विभिन्न वडाबाट संकलन तथा प्रशोधन गरिएका उपजहरू कालिखोला कोदोको पिठो, मीठे–तिते फापरको पिठो, स्थानीय मकैको पिठो, खलेको कोदो, कोदोको नमकिन, फापरको बिस्कुट, मस्याङ, सिमी, भटमास, धानकोदो, जुनेलो, लट्टे, अदुवा, बेसार, पिँडालु, अमला र डोकोलगायतका वस्तुहरू बिक्रीमा राखिएको थियो । 

स्थानीय एवं रैथाने बालीको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्न र यसको महत्त्वबारे प्रचारप्रसारका साथै स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यसहित प्रदर्शनी स्टल राखिएको थियो ।

प्रदर्शनीमा सहभागी कृषि सहकारी, समूह र कृषि उद्यमीलाई पुरस्कार

रैथाने बाली कृषि उपज प्रदर्शनीमा सहभागी विभिन्न कृषि सहकारी, समूह र कृषि उद्ममीलाई नगद १ हजार र प्रोत्साहनसहित कदर पत्र प्रदान गरिएको छ । 
पुरस्कृत हुनेहरू
अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लि, मकवानपुरगढी ४, कालिखोला (कोदो, धानकोदो, जुनेलो, पिँडालु, बेसार, फर्सी, कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, कोदोको नमकिन, हलो, कोदालो, जाँतो, खुर्पेटो, डोको, डालो, नाङलो, कुच्चो)
एकता स्वावलम्बन कृषि सहकारी संस्था लि. मकवानपुरगढी ८ बुढीचौर (मीठे फापर, तिते फापर, रायो, लटटे, पिँडालु)
जनजागृति कृषक समूह, मकवानपुरगढी ७, सुकौरा (स्थानीय सेतो सिमी, कालो सिमी)
पौवाडाँडा कृषक समूह, मकवानपुरगढी २, पौवाडाँडा (सेतो कोदो, डल्ले कोदो, मस्याङ, अदुवा, उखु, बाँसको मान्द्रो, कुरूवा, डालो)
आनन्द होमस्टे, मकवानपुरगढी २, गढी दरबार (कोदो र फापरको बिस्कुट)

हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट उत्पादित शुद्ध बेसारको धुलो, सामडाँडा कृषक समूह, सुकौरा ७ सामडाँडाबाट अमला, भटमास र कृषि विकास शाखाले विभिन्न ठाउँबाट संकलन गरेका चिनो, कागुनो, मिश्रित लटटे लगायतका वस्तुहरू प्रदर्शनीमा राखिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑