काठमाडौँ, ३० बैशाख । ‘ वैदेशिक रोजगारको लागि मलेसिया गएँ, त्यहाँ पनि राम्रो कमाइ भएन । तीन वर्ष विदेश बस्दा २० हजार पनि बचत भएन । नेपाल नै फर्किएर माछापालन गरे । त्यसमा पनि सफल भइन । त्यस पछि, कुखुरापालनतर्फ लागे । कुखुरापालनमा पनि फेल खाए ’, ४९ वर्षका दल बहादुर बुढा मगर तीन वर्ष अघिको आफ्नो हविगत सम्झन्छन् ।
लगानी जता गरे पनि डुबेको अवस्थामा उनीसँग अब के गर्ने भन्ने न त उपाय नै थियो न त रकम । उक्त समय, उनले साना किसान कृषि सहकारी संस्था लि. वाणगंगा नगरपालिका-९, भल्वाड, कपिलवस्तुबाट ऋण लिएर बाख्रापालन गर्ने आँट गरे । एक लाख ६० हजारको ऋणबाट उनले १०–१२ वटा बाख्रापालन सुरु गरे । उक्त समयमा पनि दुई तीन वटा बाख्रा बाघले खाइ दिएका कारण उनलाई नोक्सानी फेरि पनि भयो ।
पहिलो गाँसमै ढुंगो भने झै उनी नैराशिसकेका थिए । यद्यपि, उनले हार भने मानेन् र, पुन: साना किसान सहकारी संस्थाबाटै ऋण लिएर बाख्रापालनलाई निरन्तरता दिए । यस पटक उनले गोठलाई सुधारेर राम्रो व्यवस्थित गोठको निर्माण गरे ।

‘पहिले गोठको नाममा सानो झुपडी थियो । सोही कारण पनि बाख्राहरू सुरक्षित रहन सकेनन् ’, दल बहादुर बुढा मगर आफूले गरेको गल्ती सम्झदै भन्छन्, ‘ अब त्यस्तो गरिन्न । ’ तीन वर्ष भयो, भल्वाड, कपिलवस्तुका दल बहादुर बुढा मगरले कृषि व्यवसायलाई रोजेको । पहिलो एक वर्ष व्यवसाय गर्दै, लगानी फस्दै बित्यो । जुन उनको लागि पाठ पनि बन्यो । दोस्रो वर्षबाट भने उनी आफै पनि संयमित थिए । अनि साथ थियो, साना किसान सहकारी संस्थाको ।
दुई वर्षको अवधिमा सानो बाख्राको गोठलाई बाख्रा फार्मको आकार दिइसकेका छन् । २० वटा बाख्राबाट हाल एक सय १२ वटा बाख्राहरूको स्याहार गरिररहेका छन् उनी। दुई वर्षको तीता– मीठा अनुभवबाट उनले खोरको मर्मत, स्याहार तथा आधुनिक बनाएका छन् । जसको लागि उनले तेस्रो पटक साना किसान सहकारी संस्था लि. बाटै ऋण लिए । उनले जग्गा धितो राखी २० लाखको ऋण संस्थाबाट लिए । ‘ब्याजदर यस वर्ष ८ प्रतिशतबाट घटेर ७ प्रतिशत भएको छ,’ उनी भन्छन् ।
वार्षिक आम्दानी दुईदेखि साँढे दुई लाख
दुई वर्षको अन्तरालमा उनले वार्षिक दुईदेखि साँढे दुई लाख कमाइ गर्ने गरेका छन् । ऋण तिर्न बाँकी नै भए पनि यस प्रकार हुने कमाइको रफ्तारले उनलाई केही ढाडस मिलेको छ । बजारीकरणको लागि खासै चिन्ता छैन । बाख्रापाठा हुर्केसँगै उनको फार्म खोज्दै आइपुगेका हुन्छन्, व्यापारीहरू । जसको कारण उनलाई हुर्केका बाख्रापाठा कहाँ लगेर बेच्ने वा बजार नपाइने भन्ने चिन्ता रहेन ।
हाल, उनले फार्ममा लोकल खरी जातका बाख्रा पालेका छन् । दुध पनि दिने र मासुजन्य प्रयोजनको लागि पनि उचित हुने कारण लोकल बाख्रा नै रोजेको उनले बताए ।
व्यवसाय निकै चनाखो र सर्तक हुनु पर्छ
बाख्रा व्यवसायी दल बहादुर बुढा मगर फार्म पुग्नु बित्तिकै बाख्राका दिशापिसाब जाँच गर्छन् । उनी भन्छन्, ‘बाख्राको दिशापिसाब के कस्तो छ, त्यो सबैभन्दा महत्वपुर्ण कुरा हो । कारण, उनीहरूको स्वास्थ दिशापिसाबबाट पत्ता लाग्छ । ’ कुनै बाख्रा बिरामी भएको छन् वा छैनन् भन्ने उनको अर्को ध्येय हुन्छ । बिरामी भइहाले प्राविधिकसँग फोनमार्फत नै सोध खोज गर्छन् । गोठ सरसफाइमा पनि उनी निकै सतर्क छन् ।

भन्छन्, ‘हामीलाई सफा ठाउँमा सुत्न– बस्न पर्छ, सफा भाँडामा खानु पर्छ भने जस्तै उनीहरूका लागि पनि सरसफाइ आवश्यक छ । बाख्रा नै सफा र सुग्घर नभए राम्ररी हुर्कन सक्दैनन् ।’ खानपिनमा पनि उत्तिकै हेक्का राख्नु पर्ने उनी बताउँछन् । धेरै व्यवसायमा संलग्न भएर असफलता चाखेका दल बहादुर अन्तत बाख्रापालनबाट स्थायित्व पाएका छन् । भन्छन्, ‘कृषि पेशा धैर्यताको पेशा रहेछ । लगन अनि धैर्यता भए विदेश जानै पर्दैन ।
दुई वर्षको अवधिमा बटुलेको अनुभवबाट विस्तारै लगानी उठाउने आशामा छन्, दल बहादुर बुढा मगर ।
















प्रतिक्रिया थप्नुहोस्