धानमकै छाडेर केरा खेतीमा रमाउँदै स्याङ्जाका प्रेमनारायण, वार्षिक ११ लाख आम्दानी

वालिङ (स्याङ्जा), १० कात्तिक । स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका किसान प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । धान र मकै खेती हुँदै आएको जमिनमा केरा खेती विस्तार गरेका उनले अहिले ६१ रोपनी क्षेत्रफलमा खेती गरिरहेका छन् ।

एक रोपनी जमिनमा १०० केराका बिरुवा लगाएर खेती सुरु गरेका पङ्गेनीको बगैँचामा अहिले छ हजारभन्दा बढी केराका बोट छन् । कालीगण्डकी नदी किनारको खेतमा केराको उत्पादन राम्रो हुने देखेपछि सुरु गरेको खेतीले अहिले व्यावसायिक रूप लिएको हो । “व्यवसायका क्रममा मैले धेरै क्षेत्रमा हात हालेँ”, उनले भने, “सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ ।”

सुरुमा स्थानीय मालभोग र जि नाइन जातका केरा लगाएका पङ्गेनीले अहिले जि नाइन हटाएर मालभोग जातको केरा मात्रै खेती गर्दै आएका छन् । अन्य खेतीको तुलनामा केरा खेती सहज हुनु र उत्पादित केराको बजारमा राम्रो माग रहनुले यसतर्फ आकर्षित भएको उनले बताए ।

उनको कुल खेतीमध्ये १३ रोपनी आफ्नै जग्गा हो भने बाँकी जग्गा बन्धकी र भाडामा लिएर खेती विस्तार गरेका हुन् । स्थानीय मालभोग केराका कोसा ठूला र आकर्षक हुने तथा विषादी र अखाद्य वस्तुको प्रयोग नगरी पकाएर बिक्री गरिने भएकाले बजारमा माग राम्रो रहेको पङ्गेनीको भनाइ छ ।

उनले उत्पादन गरेको केरा मुख्य रूपमा चापाकोट बजारमा बिक्री हुँदै आएको छ । ठूला कोसा भएको केरा प्रतिदर्जन २०० रुपैयाँ र साना कोसा भएको केरा प्रतिदर्जन १५० रुपैयाँका दरले बिक्री हुने गरेको उनले जानकारी दिए ।

“खेतमा रहेका छ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिन्छन्”, उनले भने, “यी बोटबाट उत्पादन भएका केरा बिक्री गरेर वार्षिक ११ लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदै आएको छ ।”

बगैँचाका सबै बोटले उत्पादन दिन थालेपछि वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको पङ्गेनीले बताए । अहिले परिवारका सदस्यले केराखेतीको रेखदेख गर्दै आएका छन् । गोडमेललगायतका काममा भने स्थानीयवासीले समेत रोजगारी पाउने गरेका छन् ।

परम्परागत रूपमा धान र मकै खेती हुँदै आएको जमिनलाई व्यावसायिक केराखेतीमा रूपान्तरण गरेर पङ्गेनीले स्थानीय उत्पादन र बजारको मागलाई जोड्ने प्रयास गरेका छन् । उत्पादन बढ्दै जाँदा आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसरसमेत विस्तार हुने उनको अपेक्षा छ ।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑