काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएपछि रिलायबल नेपाल एग्रो लिमिटेड, खैरहनी–२, चितवनद्वारा उत्पादित तोरीको तेल बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ ।
विभाग वा मातहतका निकायबाट बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त कम्पनीको तोरीको तेल खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यून गुणस्तरको पाइएको सूचनामा उल्लेख छ ।
स्वास्थ्य श्री ब्रान्डको आरपी ०५ ब्याच नम्बरको एक लिटर तोरीको तेलको उत्पादन मिति सन् २०२६ सेप्टेम्बर १ रहेको छ भने उपभोग्य अवधि नौ महिना उल्लेख गरिएको छ ।
ऐनको दफा ३९(२) बमोजिम उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न तथा सोही ऐनको दफा ३९(२) अनुसार बिक्री वितरण नगर्न निर्देशन दिइएको सूचनामा जनाइएको छ ।
प्रकाशित सूचनाअनुसार सम्बन्धित उत्पादकलाई आवश्यक कारबाहीका लागि आदेशसमेत जारी गरिएको छ ।















प्रतिक्रिया थप्नुहोस्