गलत लेबल र मिसावट गर्ने खाद्य उद्योगलाई कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्दा अनिवार्य रूपमा लेबल राख्न र प्रचलित खाद्य ऐन तथा नियमावलीको पालना गर्न सम्बन्धित उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

विभागका अनुसार बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा केही खाद्य व्यवसायीले वनस्पति घिउ, बेकरी सर्टेनिङ, पिठो, तेल, बास्ना, प्याकेजिङ सामग्री तथा अन्य खाद्य पदार्थको उत्पादन र बिक्री वितरण गर्दा आवश्यक विवरण उल्लेख नगरेको पाइएको छ ।

नेपाल सरकारले घिउ, वनस्पति घिउ तथा बेकरी सर्टेनिङको मापदण्ड खाद्य प्रयोजनका लागि तोकेको छ । तर, कतिपय उत्पादकले यस्ता वस्तु चिज वा पूजाका लागि प्रयोग हुने घिउको रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको विभागले जनाएको छ।

विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई चिजको रूपमा उत्पादन तथा बिक्री वितरण गर्दा स्पष्ट विवरण खुलाउनुपर्ने जनाएको छ। त्यस्ता उत्पादनको प्रकृति, रङ, गन्ध, चिप्लोपन तथा प्रस्तुतीकरणले उपभोक्तालाई झुक्याउने गरी खाद्य पदार्थको रूपमा प्रयोग हुने वस्तुसँग भ्रम सिर्जना गर्न नहुने विभागको भनाइ छ।

त्यसैगरी, पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि बनाइने चिल्लो पदार्थको लेबलमा यसको वास्तविक प्रयोजन स्पष्ट उल्लेख गर्नुपर्नेछ। खाद्य प्रयोजनका लागि उत्पादन नगरिएका यस्ता वस्तुमा घिउ, वनस्पति घिउ वा बेकरी सर्टेनिङजस्ता शब्द प्रयोग गर्न नपाइने विभागले स्पष्ट पारेको छ।

विभागले खाद्य पदार्थको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक विवरण अनिवार्य रूपमा उल्लेख गरी बिक्री वितरण गर्न निर्देशन दिएको छ।

लेबलसम्बन्धी व्यवस्थाको पालना नगर्ने, खाद्य तथा अखाद्य उत्पादन मिसावट गर्ने, मिसावट गर्ने वस्तु उत्पादन गर्ने तथा गलत लेबल लगाउने कार्यमा संलग्न व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

विभागले उपभोक्तालाई पनि खाद्य पदार्थ खरिद गर्दा लेबल, उत्पादन विवरण तथा प्रयोगको उद्देश्य जाँच गर्न आग्रह गरेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑