धादिङ र चितवनका १५ होटल तथा पसलमा अनुगमन, म्याद गुज्रेका खाद्यवस्तु नष्ट

काठमाडौं, २८ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवनका राजमार्ग आसपासका होटल, रेस्टुरेन्ट तथा खाद्य पसलमा अनुगमन गरी म्याद गुज्रेका खाद्यवस्तु, अखाद्य रङ र मापदण्डविपरीतको तेल नष्ट गरेको छ ।

विभाग र काठमाडौं डिभिजन कार्यालयको संयुक्त अनुगमन टोलीले २०८३ असोज २५ र २६ गते मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत राजमार्ग आसपासका १५ वटा खाद्य व्यवसायको निरीक्षण गरेको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा विभिन्न होटल तथा पसलमा खाद्य स्वच्छता, भण्डारण, सरसफाइ र खाद्य पदार्थको गुणस्तरसम्बन्धी कमजोरी भेटिएका छन् ।

अनुगमनका क्रममा चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनस्थित साधुमिष्ठान्न मारवाडी शाकाहारी होटलमा अखाद्य रङ प्रयोग गरी जेरी तारेको पाइएको थियो । होटल परिसरमा हाइड्रोसमेत भेटिएपछि टोलीले एक किलो जेरी, हाइड्रो र अखाद्य रङ जफत गरी नष्ट गरेको छ । उक्त होटलमा प्रयोग गरिएको तेलको टीपीएम मापन गर्दा १६ पाइएको थियो, जुन मापदण्डअनुकूल रहेको विभागले जनाएको छ ।

त्यस्तै, मुग्लिनस्थित होटल वैष्णवमा तेलको टीपीएम मापन गर्दा २६.५ पाइएको थियो । मापदण्डविपरीत रहेको उक्त तेलमध्ये एक लिटर नष्ट गरिएको छ। थप अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि होटलबाट दुई थान पानीका नमुनासमेत संकलन गरिएको छ ।

धादिङको धुनिबेसी–९ स्थित ट्रान्जिट हाउस रेस्टुरेन्टमा म्याद गुज्रेका ४०० मिलिलिटरका ५० थान मिरिन्डा र २५० मिलिलिटरका चार थान माउन्टेन ड्यु फेला परेका थिए । ती सबै पेय पदार्थ जफत गरी नष्ट गरिएको छ । उक्त रेस्टुरेन्टको बिक्री कक्ष तथा भण्डारणको सरसफाइ सन्तोषजनक रहेको र फ्राइङ तेलको टीपीएम ११ प्रतिशत पाइएको थियो। टोलीले पूर्ण लेबल विवरण नभएका तथा खाद्य अनुमति नलिएका खाद्य पदार्थ खरिद, बिक्री र प्रयोग नगर्न निर्देशन दिएको छ ।

धादिङकै सिधेखोलास्थित गुरुङ रेस्टुरेन्ट एन्ड मल्टिप्लाई बिजनेसमा भान्साभित्र १०० ग्रामका चार थान कृत्रिम खाद्य रङ भेटिएका थिए । ती रङ नष्ट गर्दै भान्साको फोहोरलाई ढक्कनयुक्त भाँडामा व्यवस्थित गर्न तथा तयारी खाद्य पदार्थ भण्डारण गर्दा काँचो र पाकेको खाना एवं शाकाहारी र मांसाहारी परिकार छुट्टाछुट्टै राख्न निर्देशन दिइएको छ ।

चितवनको भरतपुर–२९ स्थित सागर होटलमा म्याद गुज्रेका ५५ ग्रामका ७४ थान चिजबल र एक लिटरका दुई थान क्याम्पा कोला पेय पदार्थ भेटिएपछि नष्ट गरिएको छ । होटलको भित्ता तथा भुइँको ढलान बिग्रिएको र सरसफाइको अवस्था सामान्य रहेको पाइएको थियो । टोलीले भित्ता तथा भुइँ मर्मत गर्न, भण्डारण व्यवस्थित बनाउन र भान्सामा काम गर्ने कर्मचारीलाई क्याप, मास्क तथा एप्रोनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

भरतपुर–२९, सुविधानगरस्थित नमस्ते खाजाघरमा म्याद गुज्रेका १७ वटा कुरकुरे र ३२ थान लेज भेटिएका थिए । ती सबै नष्ट गरी प्रभावकारी कीट नियन्त्रण गर्न र पूर्ण लेबल विवरण भएका खाद्य पदार्थ मात्रै खरिद तथा बिक्री गर्न निर्देशन दिइएको छ ।

मुग्लिनस्थित त्रिमूर्ति खाजा घरमा पुरी पकाउन प्रयोग गरिएको तेलको टीपीएम मापन गर्दा ३४ प्रतिशत पाइएको थियो । मापदण्डविपरीत रहेको दुई लिटर तेल नष्ट गरिएको छ । साथै, भान्सामा काम गर्ने कर्मचारीलाई आवश्यक पोसाक उपलब्ध गराउन तथा पूर्ण लेबल र खाद्य अनुमति नभएका वस्तु खरिद, बिक्री र प्रयोग नगर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीले मुग्लिनस्थित न्यु भर्जिनिया मारवाडी भोजनालय, न्यु रामायण होटल मारवाडी शुद्ध शाकाहारी भोजनालय र भागीरथ होटलमा पनि खाद्य स्वच्छतासम्बन्धी कमजोरी औँल्याएको छ । यी होटललाई रासायनिक पदार्थ खाद्यवस्तुबाट अलग राख्न, तयारी खाना छोपेर भण्डारण गर्न, कर्मचारीको व्यक्तिगत सरसफाइमा ध्यान दिन र काँचो तथा पाकेको खाना छुट्टाछुट्टै राख्न निर्देशन दिइएको छ ।

धादिङको धुनिबेसी–९ स्थित हिरालाल फलफूल पसलमा पानीपुरीको झोल बनाउन मूलको पानी प्रयोग गरिएको पाइएको थियो । टोलीले पानीपुरीको झोल तथा फलफूल काट्ने र चाट बनाउने काममा स्वच्छ र पिउनयोग्य पानी प्रयोग गर्न, काटिएका फलफूल छोपेर राख्न तथा काम गर्दा एप्रोन, पन्जा र टाउको ढाक्ने सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।

धुनिबेसी–९ स्थित हाइवे किङ फास्टफुड एन्ड रेस्टुरेन्टमा बफेट प्रणालीमा खाद्य पदार्थको तापक्रम सन्तुलन कायम नगरिएको र सरसफाइ सामान्य रहेको पाइएको थियो । त्यस्तै, हाइवे रेस्ट सेन्टरमा फ्रिजको ढोका बिग्रिएको र क्याफे हिमालयमा म्याद गुज्रेको एक हजार मिलिलिटरको एक थान किवी फ्रुट क्रस भेटिएको थियो । उक्त पेय पदार्थ नष्ट गरिएको छ ।

भरतपुर–२९ स्थित न्यु बटुवल होटलमा सरसफाइ सन्तोषजनक भए पनि खाद्य स्वच्छता कायम राख्न, कीट नियन्त्रण प्रभावकारी बनाउन र भान्साका कर्मचारीलाई आवश्यक सुरक्षा पोसाक उपलब्ध गराउन निर्देशन दिइएको छ ।

विभागले अनुगमन गरिएका होटल तथा खाद्य व्यवसायलाई खाद्य पदार्थ सुरक्षित तापक्रममा राख्न, फ्रिजमा खाद्यवस्तु सधैँ छोपेर भण्डारण गर्न, काँचो र पाकेको खानाबीच संक्रमण हुन नदिन तथा पूर्ण लेबल र खाद्य अनुमति भएका खाद्य पदार्थ मात्रै खरिद, बिक्री र प्रयोग गर्न निर्देशन दिएको छ । मोबाइल खाद्य प्रयोगशालामार्फत गरिएको यस अनुगमनको उद्देश्य राजमार्गमा यात्रा गर्ने उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्नु रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑