विभागले आइतबार जारी गरेको सूचनाअनुसार भारतको सूर्य फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गरेको प्रियागोल्ड बिस्कुटमा गाईवस्तुको दानाका लागि प्रयोग हुने चोकर (Cattle-Feed Bran) लाई रेसा तथा फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको पाइएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले सन् २०२६ अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा उक्त जानकारी प्राप्त भएको विभागले जनाएको छ। भारतमा उपभोक्ताको उजुरीपछि गरिएको निरीक्षणका क्रममा बिस्कुट उत्पादनमा प्रयोग गरिएको चोकर राखिएका बोरामा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि होइन’ भन्ने उल्लेख रहेको पाइएको थियो।
निरीक्षणका क्रममा कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा कारखाना परिसरको मर्मतसम्भारमा समेत कमजोरी भेटिएको सूचनामा उल्लेख छ।
गम्भीर मापदण्ड उल्लङ्घनका कारण भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरी अभियोजन प्रक्रिया अघि बढाउन स्वीकृति दिएको विभागले जनाएको छ।
मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ताको हित संरक्षणका लागि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उक्त कम्पनीबाट उत्पादित प्रियागोल्ड बिस्कुटलगायत अन्य बिस्कुटजन्य उत्पादनको आयात स्वीकृति स्थगित गरिएको विभागले जनाएको छ।
विभागले आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीलाई उक्त उत्पादन बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिएको छ। बजारमा रहेका उत्पादन तत्काल फिर्ता (प्रोडक्ट रिकल) गरी संकलन तथा अभिलेखीकरण गर्न पनि भनिएको छ।
फिर्ता गरिएका उत्पादन नष्ट गर्नुपर्ने अवस्था आएमा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा विभागअन्तर्गतका प्राविधिक कर्मचारीको रोहबरमा उपयुक्त तरिकाले नष्ट गरी विभागलाई जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ।
निर्देशनविपरीत खाद्य स्वच्छता उल्लङ्घन गरी जनस्वास्थ्यमा असर पर्ने कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने विभागले चेतावनी दिएको छ।














प्रतिक्रिया थप्नुहोस्