मौसम मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्यांकको विश्लेषणका आधारमा शनिबार बिहान ५ः४५ बजे बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको हो ।
उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने र त्यसको प्रभावले आगामी कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपि, यस मौसम प्रणालीका कारण नेपालमा कति वर्षा हुनेछ, जोखिमको स्तर कस्तो रहनेछ र कुन क्षेत्रमा कस्तो असर पर्नेछ भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको सम्बन्धित सूचनामा जनाइएको छ ।
सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।
सम्भावित वर्षा तथा मौसममा हुन सक्ने परिवर्तनले कृषि उपजको कटानी, ढुवानी, भण्डारण र बजार आपूर्तिमा असर पार्न सक्ने भएकाले किसान तथा कृषि व्यवसायीले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्नुपर्ने देखिन्छ । त्यस्तै, पर्यटन व्यवसायी, पदयात्री तथा पर्वतीय क्षेत्रमा यात्रा गर्नेहरूले पनि मौसमको अवस्था र आधिकारिक पूर्वानुमानलाई ध्यान दिन आवश्यक छ ।
नेपाल मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । प्रणालीको विकासक्रम र त्यसले नेपालमा पार्न सक्ने प्रभावका आधारमा आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने विभागले जनाएको छ ।
विभागले मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि आफूले जारी गर्ने सूचना नियमित रूपमा हेर्न पनि अनुरोध गरेको छ ।
मौसम प्रणालीको प्रभाव, वर्षाको सम्भावित मात्रा र जोखिमको अवस्था स्पष्ट हुँदै जाँदा थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ । त्यसैले अहिले नै ठूलो वर्षा वा व्यापक क्षतिको निश्चित अनुमान गर्नुभन्दा आधिकारिक पूर्वानुमानका आधारमा आवश्यक सावधानी अपनाउनु उपयुक्त हुन ।



2026-10-18-05-10-50.jpeg)











प्रतिक्रिया थप्नुहोस्