मुस्ताङ, २८ असोज । प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्तौँदेखिको परम्परालाई निरन्तरता दिँदै आएको छ । कुनै समय हिमालपारिको व्यापारमा नुन र ऊनको कारोबार हुने यस क्षेत्रमा अहिले दसैँका बेला हिमाली च्याङ्ग्रा बजार झार्ने चलनले पुरानो व्यापारिक सम्बन्धलाई जीवन्त राखेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङ्ग्रा व्यापारी निरज थकालीका अनुसार प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको दसैँबीच ऐतिहासिक सम्बन्ध रहेको छ । मुक्तिनाथ आउने तीर्थयात्रीमार्फत मुस्ताङी च्याङ्ग्राको मासुको स्वाद देशका विभिन्न भागमा फैलिएको उनको भनाइ छ ।
नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नुन र ऊनको पुरानो व्यापार हराउँदै गए पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बजार झार्ने परम्पराले निरन्तरता पाएको बताए । यस व्यापारले हिमाली जीवनशैली, स्थानीय अर्थतन्त्र र सहरको दसैँलाई जोड्दै आएको उनको भनाइ छ ।
मुस्ताङका लेकाली खर्कबाट सुरु हुने च्याङ्ग्राको यात्रा म्याग्दी, पर्वत, बागलुङ हुँदै पोखरा, काठमाडौँ, चितवन, बुटवल, स्याङ्जा र नुवाकोटलगायतका सहरसम्म पुग्ने गरेको छ । हिमाली भेगका किसानले पालेका च्याङ्ग्रा दसैँको समयमा बजारमा ल्याउने परम्पराले किसान र व्यापारी दुवैलाई आम्दानीको अवसर प्रदान गर्दै आएको छ ।
लोमान्थाङ गाउँपालिका–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष दसैँका लागि ७०० च्याङ्ग्रा बिक्री गर्न बजार झेकाछन् । पुर्खाले गर्दै आएको व्यवसायलाई निरन्तरता दिँदै किसानबाट च्याङ्ग्रा खरिद गर्ने र आफ्नै गोठमा पालिएका च्याङ्ग्रा बिक्री गर्ने गरेको उनले बताए ।
त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ तेताङका पेम्बा गुरुङले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएकाछन् । किसानबाट च्याङ्ग्रा खरिद गरी दसैँमा बजारमा बिक्री गर्ने उहाँको व्यवसाय पुस्तौँदेखि चल्दै आएको छ ।
सङ्घका संस्थापक अध्यक्ष श्रेष्ठ पनि छ दशकदेखि च्याङ्ग्राको व्यापारमा संलग्न छन् । बुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आएका उनले यस वर्ष काठमाडौँ पठाउन एक हजार च्याङ्ग्रा मुस्ताङबाट सात दिन हिँडाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीसम्म ल्याएकाछन् । उनले यस व्यवसायबाट १६ जनालाई मौसमी रोजगारीसमेत उपलब्ध गराएकाछन् ।
श्रेष्ठका अनुसार यस वर्ष काठमाडौँका लागि तीन हजार च्याङ्ग्रा लैजाने तयारी गरिएको छ । चीनसँगको कोरला नाका बन्द रहेकाले यसपालि बजारमा आउने च्याङ्ग्रा स्वदेशकै हुन् । एक महिनाअघि नै बुकीमा पुगेर नाम्ग्याल, छोसेर, यारा र घारालगायतका क्षेत्रबाट च्याङ्ग्रा सङ्कलन गरिएको उनले बताए ।
हाल बजारमा एउटा च्याङ्ग्राको मूल्य ४० हजारदेखि ५० हजार रुपैयाँसम्म पर्ने गरेको छ । विगतमा च्याङ्ग्राको मासु प्रतिकिलो एक हजार ३५० देखि एक हजार ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको श्रेष्ठले बताए ।
हिमाली बुकीमा पाइने जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु पौष्टिक र स्वादिलो हुने मालिका गाउँपालिका–६ दरवाङका श्रीदत्त गौतमले बताए । व्यापारीका अनुसार पाँच वर्षसम्म पालिएका च्याङ्ग्राको मासु विशेष स्वादिलो हुन्छ । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चापदार्थका रूपमा समेत प्रयोग गरिन्छ ।
तर, च्याङ्ग्रापालन गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ । छोसेरमा पहिले २५ वटा च्याङ्ग्राका गोठ रहेकामा अहिले पाँचवटा मात्रै बाँकी रहेको आङग्याल गुरुङले बताए । हिउँचितुवाबाट च्याङ्ग्रा जोगाउनुपर्ने चुनौती, हिउँदमा चरन तथा आहाराको अभाव, गोठाला नपाइनु र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुले परम्परागत व्यवसाय सङ्कटमा पर्दै गएको स्थानीयको भनाइ छ ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट १३ हजार ८१७ भेडाच्याङ्ग्रा निकासी भएका छन् । कार्यालय प्रमुख लालमणि अर्यालका अनुसार ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ । कार्यालयले स्वास्थ्य परीक्षणपछि स्वस्थ भेडाच्याङ्ग्रा मात्र निकासी हुने व्यवस्था मिलाएको जनाएको छ । गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।
मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको प्रमुख आयस्रोतका रूपमा रहेको च्याङ्ग्रापालनले स्थानीय अर्थतन्त्रसँगै पुस्तौँदेखिको परम्परालाई समेत जोगाउँदै आएको छ ।
यस वर्षको बाढीपहिरोले सडकमा क्षति पुर्याउँदा च्याङ्ग्रा बजार ल्याउन व्यापारीलाई कठिन भएको छ । च्याङ्ग्रा खरिद गर्न जाँदा सहज रहेको सडक फर्किने बेलासम्म बिग्रिने गरेकाले कतिपय स्थानमा जोखिमपूर्ण यात्रा गर्नुपरेको व्यापारीले बताएका छन् । विशेषगरी बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा बाढीपहिरोले क्षति पुर्याउँदा च्याङ्ग्रा ओसारपसार चुनौतीपूर्ण बनेको छ । सडक छिटो सञ्चालनमा आउँदा भने व्यवसायीलाई केही राहत मिलेको छ ।
मुस्ताङको च्याङ्ग्रा व्यापार केवल दसैँको मासु कारोबार मात्र नभई हिमाल र सहरबीचको ऐतिहासिक सम्बन्ध, स्थानीय रोजगारी र परम्परागत पशुपालनसँग जोडिएको व्यवसायका रूपमा स्थापित हुँदै आएको छ । तर, किसानको घट्दो सङ्ख्या र सडकको जोखिमले यसको निरन्तरतामा चुनौती थपेको छ ।








2026-10-02-03-10-26.jpeg)







प्रतिक्रिया थप्नुहोस्