छ कठ्ठामा १० हजार सयपत्री, आत्मनिर्भरताको बाटोमा शिवसताक्षीका महिला

भद्रपुर (झापा), १० कात्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमका महिलाले सामूहिक सयपत्री फूलखेतीमार्फत आर्थिक आत्मनिर्भरतातर्फ पाइला अघि बढाएका छन् । तिहारलाई लक्षित गरी छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा लगाएका उनीहरूले यस वर्ष फूल बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र सामूहिक प्रयासबाट आयआर्जन बढाउने उद्देश्यले महिलाले सयपत्री फूल कृषक आमासमूह गठन गरी खेती सुरु गरेका हुन् । समूहले फूलखेतीमा करिब २५ हजार रुपैयाँ लगानी गरेको छ ।

समूहकी संयोजक कविता बस्नेतका अनुसार फूल राम्रोसँग फुलेकाले यस वर्ष तिहारमा राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ । “फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ”, उनले भनिन् ।

तिहार नजिकिएसँगै समूहका सदस्य फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारीमा व्यस्त छन् । उनीहरूले एउटा माला १०० देखि १५० रुपैयाँसम्ममा बिक्री हुने अनुमान गरेका छन् ।

सामूहिक फूलखेतीले महिलालाई घरायसी जिम्मेवारीसँगै आयआर्जनमा जोडिने अवसर दिएको छ । बिरुवाको स्याहारदेखि माला तयार पार्नेसम्मका काममा समूहका सदस्य सक्रिय छन् । यसले महिलामा सामूहिक उद्यमप्रतिको उत्साह बढाउनुका साथै आफ्नै गाउँमा आम्दानी गर्ने सम्भावना पनि देखाएको छ ।

यद्यपि, उत्पादनसँगै बजार व्यवस्थापन उनीहरूका लागि चुनौती बनेको छ । समयमै फूल बिक्री गर्न नसके गुणस्तर घट्ने र आम्दानीमा असर पर्ने जोखिम छ । सम्भावित वर्षाबाट फूल जोगाउन माला उनेर कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी गरिएको संयोजक बस्नेतले बताइन् ।

स्थानीय उत्पादनले बजारको माग धान्ने अपेक्षा

तिहारमा पूजाआजा, घर सजावट र माला बनाउन सयपत्री फूलको माग बढ्ने गर्छ । स्थानीयस्तरमै फूल उत्पादन बढाउन सके बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम हुनुका साथै स्थानीय किसानले पनि बजार पाउने अपेक्षा गरिएको छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले सामूहिक फूलखेतीले महिलाको आयआर्जन वृद्धि र स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

“स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता रहँदैन”, उनले भने, “फूलखेतीलाई थप क्षेत्रमा विस्तार गरी व्यावसायिक रूपमा अघि बढाउन नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।”

उनका अनुसार नगरपालिकाले फूलखेतीलाई प्रोत्साहन गर्न बिरुवा खरिदमा सहयोग गरेको थियो । उत्पादनको बजारीकरण र भण्डारणमा ध्यान दिन सके फूलखेतीलाई दिगो आयआर्जनको माध्यम बनाउन सकिने उनले बताए ।

नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिलाले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरेर व्यवस्थित रूपमा खेती गर्न सुझाव दिएको बताइन् । महिलालाई आत्मनिर्भर बनाउन र उनीहरूको प्रयासलाई निरन्तरता दिन आवश्यक सहजीकरण भइरहेको उनको भनाइ छ ।

“महिलाले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरेर व्यवस्थित रूपमा खेती गर्न सुझाव दिएका थियौँ”, उनले भनिन्, “महिलालाई आत्मनिर्भर बनाउन र उनीहरूको प्रयासलाई निरन्तरता दिन आवश्यक सहजीकरण गरिरहेका छौँ ।”

सामूहिक प्रयास र स्थानीय तहको सहयोगमा सुरु गरिएको फूलखेतीले शिवसताक्षीका महिलामा आर्थिक आत्मनिर्भर बन्ने आशा जगाएको छ । उत्पादनलाई व्यवस्थित बजार र उचित भण्डारणसँग जोड्न सके सयपत्री खेती स्थानीय महिलाका लागि दिगो आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑