Skip This

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री नगर्न खाद्य विभागको निर्देशन

काठमाडौं, ३० असोज । दसैँ, तिहार र छठलगायतका चाडपर्वका समयमा राजमार्गमा आवतजावत गर्ने यात्रु तथा उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवसायीलाई निर्देशन दिएको छ ।

विभागले होटल, रेस्टुरेन्ट, मिठाई पसल, चिया घर, मासु पसल तथा भोजनालयलगायत खाद्य पदार्थ तयार गरी बिक्री वितरण गर्ने व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्न आग्रह गरेको हो ।

चाडपर्वका समयमा खाद्य पदार्थको खपत बढ्ने र यात्रु तथा उपभोक्ताले विभिन्न स्थानमा खाना तथा खाजा खाने भएकाले खाद्य स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिन विभागले आग्रह गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुन सक्ने विषयमा समेत विभागले व्यवसायीलाई सचेत गराएको छ ।

विभागले खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाना मात्र उपलब्ध गराउन, उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्न तथा बिक्रीका लागि राखिएका खाद्य पदार्थलाई छोपेर राख्न निर्देशन दिएको छ ।

त्यस्तै, खाना पकाउने तथा तयार गर्ने स्थान सफा राख्न, कामदार तथा कर्मचारीको सरसफाइमा ध्यान दिन, सफा भाँडाकुँडामा खाना पकाउने र खुवाउने व्यवस्था मिलाउन तथा स्वच्छ र गुणस्तरीय पानी प्रयोग गर्न आग्रह गरिएको छ ।

विभागले स्वच्छ र गुणस्तरीय कच्चा पदार्थ मात्र प्रयोग गर्न, खाद्य पदार्थमा अखाद्य रङ तथा हानिकारक पदार्थ मिसावट नगर्न र खाद्य पदार्थको उचित भण्डारणमा ध्यान दिनसमेत निर्देशन दिएको छ ।

यसैगरी, खानाका परिकारलाई धुलो, धुवाँ तथा कीराबाट सुरक्षित राख्न, उचित मूल्य लिएर मात्र बिक्री गर्न र खानालाई सुरक्षित तापक्रममा राख्न व्यवसायीलाई आग्रह गरिएको छ ।

विभागले बासी, झिँगा भन्किएका, सडेगलेका तथा धुलो, धुवाँ वा फोहोर पानी मिसिएका खाद्य पदार्थ बिक्री नगर्नसमेत सचेत गराएको छ ।

विभागले खाद्य स्वच्छताका आधारमा व्यवसाय सञ्चालन गर्न र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि नगर्न सम्बन्धित सबै व्यवसायीलाई आग्रह गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑