पथरी (मोरङ), ६ पुस । उर्लाबारी नगरपालिका–२ भुसिका युवराज तिवारीले तीन लाख रुपैयाँबाट सुरु गरेको कृषि फार्म आज करिब एक करोड रुपैयाँ बराबरको लगानीमा विस्तार भएको छ । स्वदेशमै केही गर्ने दृढ संकल्पसहित आठ वर्षअघि कुखुरा पालनबाट कृषि यात्राको सुरुआत गरेका तिवारी अहिले गाई तथा कुखुरा पालनमार्फत गाउँमै सफल उद्यमी बनेका छन् ।
सुरुमा १५० वटा कुखुराबाट सुरु भएको फार्ममा हाल १५ वटा होलिस्टेन जातका गाई र एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् । विदेश जाने सोच त्यागेर कृषिलाई रोजेका तिवारीले यो अवस्थासम्म आइपुग्न धेरै संघर्ष र मेहनत गर्नुपरेको बताउँछन् । गोठ र घरखर्च कटाएर मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका उनी परिवारसँगै गाउँमै खुसी जीवन बिताइरहेका छन् ।
बिहान झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारतर्फ लाग्ने तिवारी गाई र बाछाको आवाजसँगै ओछ्यान छोड्नुपर्ने बताउँछन् । बिहान ३ बजे गोठ पुगेका उनी ५ बजे दूधको क्यान बोकेर पथरी बजारमा देखिन्छन् । गोठमा नौवटा दुहुना र दुईवटा ब्याउनेसहित १५ वटा गाई छन्, जसबाट दैनिक ७० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ । उनी बिहान र बेलुका नियमित रूपमा दूध बिक्रीका लागि बजार पुग्ने गर्छन् ।
ब्रोइलर कुखुराबाट मात्र अपेक्षित आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि थप तीन लाख रुपैयाँ लगानी गरेर गाईपालन सुरु गरेका थिए । ठूलो पुँजी र अनुभव नभए पनि आत्मविश्वास र निरन्तर मेहनतका कारण उनको सपना बिस्तारै पूरा हुँदै गएको छ ।
श्रीमती चन्द्रकला र दुई छोरीको साथले तिवारीको कृषि यात्रा अझ सहज बनेको छ। श्रीमती बिहान गोठको काममा सक्रिय रहन्छिन् भने बिबीएस अध्ययनरत छोरीहरू कुखुराको स्याहार र दानापानीमा सहयोग गर्छन् । पढाइसँगै कृषि कर्ममा सहभागी हुन पाउँदा छोरीहरू खुसी छन् ।
हरेक बिहान टर्च र बाल्टी बोकेर गोठतर्फ लाग्ने तिवारी भन्छन्, “सुत्ने समय छैन, बिहान–बेलुका बजार धाउनैपर्छ, तर ग्राहकको सन्तुष्टि देख्दा सबै थकान हराउँछ ।” उनको सफलताले अन्य किसानलाई पनि प्रेरणा मिलेको छ । पहिला आलोचना गर्ने गाउँलेहरू अहिले उनको प्रगतिको प्रशंसा गर्दै सिक्न आउने गरेका छन् ।
सरकारी अनुदानको आशा नराखी अघि बढेका तिवारीलाई अहिले कामको चाप बढ्दै गएको छ । दूध दुहुने मेसिन, गोठ सुधार, दाना व्यवस्थापन, आधुनिक पशुपालन तालिम र सामान्य पशु उपचारसम्बन्धी सीप आवश्यक रहेको उनी बताउँछन् । नगर वा वडाबाट केही सहयोग पाए काम अझ सहज हुने उनको अपेक्षा छ । रासस















प्रतिक्रिया थप्नुहोस्