धरान (सुनसरी), असोज १२ गते । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका–१३ मा रहेको कृषि उपज बजारमा खसीबोकाको किनबेच चहलपहल बढेको छ । हरेक बिहीबार र शुक्रबार सञ्चालन हुने यो बजारमा पहाड र तराईका विभिन्न जिल्लाबाट किसान र व्यापारीले खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् ।
सङ्खुवासभाका श्यामबहादुर बस्नेत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन् । उनले यस वर्ष पनि १५ वटा खसीबोका ल्याए । “अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाँकी बेच्नुपर्ने छ,” उनले बताए ।
धनकुटाको सागुरीगढी गाउँपालिका–७ की ममता राई नियमित रूपमा धरान बजारमा खसीबोका बिक्री गर्दै आएकी छन् । उनको भनाइमा गाउँमा घाँस प्रशस्त पाइने र दाना किन्नुपरे पनि नोक्सानी नहुने भएकाले यो पेशा निरन्तर गर्दै आएकी हुन् । उनका अनुसार वार्षिक रूपमा खसीबोका बिक्रीबाट नौ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।
सुनसरीको दुहबी नगरपालिका–५ का व्यापारी नैसात मियाँ धरान बजारबाट हरेक हप्ता १०० देखि १५० वटासम्म खसीबोका खरिद गरी इटहरी, विराटनगर, लहान, जनकपुरलगायत स्थानमा बिक्री गर्दै आएका छन् । “यो व्यवसाय गरेको ३१ वर्ष भयो, अहिले मासिक ८० हजारदेखि एक लाखसम्म नाफा हुन्छ,” उनले बताए ।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्तामा दुई दिन सञ्चालन हुने बजारमा दैनिक करिब ४,५०० वटा खसीबोका बिक्री हुने गरेका छन् । गत आर्थिक वर्षमा मात्रै १ लाख २० हजारभन्दा बढी खसीबोका बिक्री भई करिब २ अर्ब ४० करोड बराबरको कारोबार भएको थियो ।
उनका अनुसार यो वर्ष साउनमा लगातार वर्षाले ढुवानीमा समस्या ल्याएको र भदौमा जेनजी प्रदर्शनका कारण व्यापारमा असर पारेकाले कारोबार घटेको छ ।
धरानको यो बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला र तराईका विभिन्न स्थानबाट किसान तथा व्यापारी खसीबोका ल्याउने गरेका छन् । यहाँबाट बिक्री भएका खसीबोका मुलुकका प्रमुख सहर हुँदै भारतसम्म निर्यात हुने गरेको व्यवस्थापन समितिले जनाएको छ ।
















पशु पालन केवल दुधका लागी मात्र नभइ पिसाव र गोवरका लागी पालौ । पिसावलाइ खाेलामा नफालौ ।