काठमाडौं । मिठाई उत्पादक तथा बिक्रीकर्ताले अब बिक्री कक्षमा राखिएका मिठाईको नाम, मुख्य सम्मिश्रण, प्रयोग गरिएको तेल वा घ्यूको प्रकार, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईको बिक्री वितरणलाई पारदर्शी र उपभोक्तामैत्री बनाउन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । विभागको २०८३ असोज ३० गतेको निर्णय तथा सूचनाअनुसार उक्त व्यवस्था कात्तिक ११ गतेदेखि अनिवार्य रूपमा लागू भएको हो ।
विभागका अनुसार मिठाई उत्पादक तथा बिक्रीकर्ताले सोकेस वा बिक्री काउन्टरमा ग्राहकले सहजै देख्न सक्ने गरी आवश्यक विवरण राख्नुपर्नेछ । यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईमा प्रयोग भएका सामग्री, तेल वा घ्यूको प्रकार, उपभोग्य अवधि र मूल्यबारे जानकारी पाउनेछन् ।
विभाग तथा मातहतका कार्यालयबाट कात्तिक १७ गतेसम्म सूचना कार्यान्वयन गरेका मिठाई व्यवसायीहरूको विवरण सार्वजनिक गरिएको छ ।
विभागले सार्वजनिक गरेको सूचीमा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की, सुर्खेत, बाँके, कैलाली, कञ्चनपुर, पर्सा, बारा, दाङ, तनहुँ, डडेल्धुरा, बैतडी, सिन्धुलीलगायत जिल्लाका मिठाई व्यवसायी समेटिएका छन् ।
सूचीमा १८० वटा मिठाई व्यवसायी तथा बिक्री केन्द्रको नाम र ठेगाना उल्लेख छ ।
विभागले सार्वजनिक गरेको विवरण सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरेको जनाएको छ ।










प्रतिक्रिया थप्नुहोस्