कृषि इन्जिनियर डा. जीत चन्द ‘आउटस्ट्यान्डिङ एलुम्नाई अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं । नेपालमा कृषि आधुनिकीकरण, जल व्यवस्थापन र जलवायुमैत्री खेती प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका कृषि इन्जिनियर डा. जीत चन्द अस्ट्रेलियाको ‘आउटस्ट्यान्डिङ एलुम्नाई अवार्ड २०२६’ बाट सम्मानित भएका छन् ।
अस्ट्रेलियाको द युनिभर्सिटी अफ एडिलेड, दक्षिण अस्ट्रेलिया सरकार र स्टडी एडिलेडको संयुक्त आयोजनामा प्रदान गरिने उक्त पुरस्कारका लागि डा. चन्द छनोट भएका हुन् ।
नेपालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सह-सचिवका रूपमा कार्यरत डा. चन्दले जलवायुमैत्री कृषि, कृषि जल व्यवस्थापन तथा किसानलाई व्यावहारिक तालिम प्रदान गर्ने क्षेत्रमा योगदान दिँदै आएका छन् । विशेषगरी सूक्ष्म सिँचाइ प्रविधिको प्रयोग र विस्तारमार्फत कृषि उत्पादनलाई प्रभावकारी बनाउने उनको प्रयास उल्लेखनीय छ ।
डा. चन्द नेपाल कृषि इन्जिनियरिङ समाजका अध्यक्षसमेत हुन् । कृषि इन्जिनियरिङको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नेपालको कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै उनको उपलब्धिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
अस्ट्रेलियामा प्राप्त शिक्षालाई नेपालको कृषि विकास र किसानको जीवनस्तर सुधारमा उपयोग गरेको उनको यात्राले अन्तर्राष्ट्रिय शिक्षाले राष्ट्रिय विकासमा पुर्‍याउन सक्ने योगदानलाई समेत उजागर गरेको छ ।
अस्ट्रेलियाबाट अध्ययन पूरा गरेका नेपालीहरूको संस्था एसोसिएसन अफ नेपालीज एलुम्नाई फ्रम अस्ट्रेलिया (एएनएए) ले डा. चन्दलाई बधाई दिँदै उनको उपलब्धिले नेपाल र अस्ट्रेलियाबीचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑