फोहोर, झिँगा भन्किएका खाना र महँगो मूल्यको गुनासोपछि धादिङका १७ होटलको स्तरीकरण

काठमाडौं, असोज २८ । सार्वजनिक यातायातका यात्रुलाई खाना तथा खाजा खुवाउने राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्किएका खाना, न्यून गुणस्तरका परिकार र अत्यधिक मूल्य लिने गरेको व्यापक जनगुनासोपछि धादिङका १७ होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यातायात व्यवस्था विभागबाट असोज २७ गते जारी सूचना कार्यान्वयन गर्ने क्रममा धादिङको थाक्रे, धुनिबेंसी र गल्छी क्षेत्रमा निरीक्षण टोली खटाएर होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको हो।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू खाजा, नास्ता तथा खाना खान रोकिने होटलमा खाद्य स्वच्छता र सेवाको गुणस्तरबारे गुनासो बढेपछि सम्बन्धित निकायबीच पूर्वाधार विकास मन्त्रालयमा छलफल भएको थियो। सोही क्रममा यातायात व्यवस्था विभागले जारी गरेको सूचना कार्यान्वयन गर्न विभागले अनुगमन तथा स्तरीकरण गरेको जनाएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार १७ होटल तथा रेस्टुरेन्टमध्ये दुईवटा उत्तम, एउटा सन्तोषजनक र १४ वटा सामान्य श्रेणीमा परेका छन्।

गल्छी गाउँपालिका–४ स्थित विपल क्राउन रिसोर्ट प्रालि र धुनिबेंसी नगरपालिका–१ स्थित झाँझिट हाउस रेस्टुरेन्ट प्रालि उत्तम श्रेणीमा परेका छन्। दुवैले दुई तारा अंकित हरियो स्टिकर (बी) प्राप्त गरेका छन्।

त्यस्तै, थाक्रे गाउँपालिका–२ स्थित न्यु काष्ठमण्डप होटल सन्तोषजनक श्रेणीमा परेको छ। उक्त होटलले एक तारा अंकित हरियो स्टिकर (सी) प्राप्त गरेको छ।

अनुगमनमा स्तरीकरण गरिएका बाँकी १४ होटल तथा रेस्टुरेन्ट सामान्य श्रेणीमा परेका छन्। उनीहरूले पहेँलो स्टिकर (डी) प्राप्त गरेका छन्।

विभागले होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरी खाद्य स्वच्छता र सेवा व्यवस्थापनको अवस्था सार्वजनिक गरेको हो। यद्यपि, विभागको विवरणमा प्रत्येक होटलमा छुट्टाछुट्टै भेटिएका कैफियत उल्लेख गरिएको छैन। त्यसैले सबै होटलमा फोहोर, बासी खाना वा झिँगा भन्किएको अवस्था भेटिएको निष्कर्ष निकाल्न मिल्दैन।

सामान्य श्रेणीमा परेका १४ होटल तथा रेस्टुरेन्टको सूची

१. होटल न्यु नमस्ते नेपाल एण्ड कोल्ड स्टोर — थाक्रे–१
२. थकाली भान्सा घर — धुनिबेंसी–६
३. जुनतारा रेस्टुरेन्ट एण्ड लज — गल्छी–६
४. कान्तिपुर होटल एण्ड लज — थाक्रे–१
५. दवा.सी कोल्ड स्टोर — थाक्रे–६
६. रिया होटल — थाक्रे–८
७. न्यु सुपा उराली होटल — थाक्रे–८
८. हाईवे ब्रेक पोइन्ट कोल्ड स्टोर — धुनिबेंसी–१
९. श्री अन्नपूर्ण होटल — थाक्रे–६
१०. होटल सयपरी — थाक्रे–२
११. हाईवे किङ फास्टफुड एण्ड रेस्टुरेन्ट — धुनिबेंसी–१
१२. न्यु आधिखोला होटल — धुनिबेंसी
१३. न्यु पाण्डे खाजा घर एण्ड लज — धुनिबेंसी–१
१४. न्यु पाथीभरा होटल — थाक्रे–१

उत्तम श्रेणीमा परेका होटल

  • विपल क्राउन रिसोर्ट प्रालि — गल्छी गाउँपालिका–४

  • झाँझिट हाउस रेस्टुरेन्ट प्रालि — धुनिबेंसी–१

सन्तोषजनक श्रेणीमा परेको होटल

  • न्यु काष्ठमण्डप होटल — थाक्रे–२

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑