मन्त्र थकालीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना, भान्सामा साङ्ला र मुसा भेटिए

काठमाडौं, २५ असोज । खानामा किरा परेको उजुरीपछि काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकाली रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । खाद्य स्वच्छतामा गम्भीर कैफियत भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उक्त जरिवाना गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा असोज २४ गते फोनमार्फत खानामा किरा परेको उजुरी प्राप्त भएपछि विभागको र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) ले तत्काल अनुगमन गरेको थियो । काठमाडौं महानगरपालिका–३, महाराजगञ्जस्थित मन्त्र थकाली सञ्चालन गर्ने दिन तारा हस्पिटालिटी प्रालिमा अनुगमन गर्दा भान्साको सरसफाइदेखि खाद्य पदार्थको भण्डारणसम्म विभिन्न कैफियत भेटिएका हुन् ।

अनुगमनका क्रममा भान्सा कोठाको सरसफाइ सन्तोषजनक नरहेको, पकाइएका खाद्य पदार्थ छोपेर नराखिएको तथा फ्रिज र भान्सामा साङ्ला र मुसा देखिएको पाइएको विभागले जनाएको छ । त्यस्तै, भान्साको ड्रेनेज सफा नरहेको, फ्रिजमा खाद्य वस्तु अव्यवस्थित रूपमा राखिएको र डस्टबिन खुला तथा फोहोर अवस्थामा रहेको भेटिएको छ ।

टोलीले फ्राइड आलु पत्रिकामा राखेर भण्डारण गरेको समेत फेला पारेको थियो । खाद्य पदार्थमा किरा पर्न सक्ने अवस्था देखिएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागको विवरणमा उल्लेख छ ।

अनुगमनका क्रममा पत्रिकामा राखिएको करिब एक किलो फ्राइड आलु नष्ट गरिएको छ । साथै, पकाइएका खाद्य पदार्थ राम्ररी छोपेर राख्न, कीरा नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन, भान्सा तथा फ्रिजको सरसफाइ र भण्डारण व्यवस्थित गर्न र खाद्य पदार्थ राख्न पत्रिकाको प्रयोग नगर्न निर्देशन दिइएको छ ।

विभागले अनुगमनमा देखिएका कैफियत सात दिनभित्र सुधार गरी त्यसको प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको निर्देशनअनुसार सुधार नगरे प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने विभागले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑