धानखेती छाडेर अलैँचीतर्फ आकर्षित माङसेबुङका किसान, वार्षिक १७ लाखसम्म आम्दानी

इलाम, असार २४ गते । इलामको माङसेबुङ गाउँपालिकामा अलैँचीको मूल्य बढेसँगै किसानहरू धानखेती छाडेर व्यावसायिक अलैँचीखेतीतर्फ आकर्षित भएका छन् । राम्रो उत्पादन, सहज बजार र आकर्षक मूल्यका कारण यहाँका किसानले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।

माङसेबुङ–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले तीन वर्षअघि २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती सुरु गरेका थिए । धान फल्ने खेतमा अलैँची रोपेका उनले यस वर्ष मात्रै रु १७ लाख बराबरको सुक्खा अलैँची बिक्री गरेका छन्। प्रतिमन रु एक लाखका दरले १७ मन अलैँची बिक्री गरेको उनले बताए ।

उनका अनुसार पछिल्लो समय अलैँचीको बजार र मूल्य दुवै राम्रो भएकाले वैदेशिक रोजगारीको योजना त्यागेर व्यावसायिक खेतीमा लागेका हुन्। उनले जिर्मले जातको अलैँचीखेती गर्दै आएका छन् ।

यस्तै, माङसेबुङ–२ का किसान गणेश लिम्बूले पनि २५ रोपनी क्षेत्रफलमा अलैँचीखेती गर्दै यस वर्ष रु १६ लाखभन्दा बढी आम्दानी गरेका छन् । पाँच वर्षदेखि यस व्यवसायमा सक्रिय उनले थप सात रोपनी क्षेत्रफलमा खेती विस्तार गर्ने तयारी गरिरहेका छन् ।

उनका अनुसार अलैँची बिक्रीबाट प्राप्त आम्दानीले परिवारको दैनिक खर्चसँगै छोराछोरीको शिक्षाको खर्चसमेत धानिएको छ । पछिल्ला वर्षहरूमा रोगको समस्या कम हुनु र बजार मूल्य राम्रो रहनुले किसानको आकर्षण झन् बढाएको उनले बताए ।

मूल्य बढेसँगै माङसेबुङका किसानले धान तथा अन्य अन्नबालीको सट्टा अलैँचीखेती विस्तार गरिरहेका छन् । पहिले ओसिला पाखा र खोल्सीमा सीमित रहेको अलैँची अहिले खेतबारी र करेसाबारीसम्म फैलिएको छ । कम लगानी, कम मिहिनेत र उच्च प्रतिफलका कारण किसान व्यावसायिक खेतीतर्फ उन्मुख भएका हुन् ।

माङसेबुङ–३ का किसान इन्द्रबहादुर लिम्बूका अनुसार पछिल्लो समय अलैँचीको मूल्य प्रतिमन रु एक लाख नाघेपछि बिक्रीमा पनि कुनै समस्या छैन । व्यापारीहरू गाउँमै पुगेर खरिद गर्ने भएकाले बजारको अभाव नरहेको उनले बताए ।

खेतमा अन्नबाली लगाउने जनशक्तिको अभाव, बाँदरबाट हुने क्षति तथा बाँझो जमिनको सदुपयोग गर्न सकिने भएकाले पनि किसान अलैँचीखेतीतर्फ आकर्षित भएका छन् । माङसेबुङ गाउँपालिकाका वडा नं. १, २, ३ र ६ सहित आसपासका पहाडी क्षेत्रमा व्यावसायिक अलैँचीखेती विस्तार भइरहेको छ ।

अलैँची उत्पादन प्रवर्द्धनका लागि गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा बिरुवा वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि विकास शाखा प्रमुख प्रतिक सुनुवारका अनुसार यस वर्ष किसानलाई रामशाही, गोलशाही र भर्लाङ्गे जातका १६ हजार बिरुवा वितरण गरिएको छ । यसका लागि गाउँपालिकाले रु १ लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए। उनका अनुसार व्यावसायिक खेती विस्तार र किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै