काठमाडौं । कृषि यान्त्रीकरण तथा आधुनिक प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन कृषि विकास कार्यालय सिन्धुलीले किसान, कृषि उद्यमी, सहकारी तथा सरोकारवालालाई आह्वान गरेको छ ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै कृषि क्षेत्रमा प्रयोग भइरहेका आधुनिक यन्त्र, उपकरण तथा प्रविधिबारे जानकारी लिन र तिनको उपयोग बढाउन प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको हो ।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ प्रदर्शनी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने आयोजकले जनाएका छन् ।
प्रदर्शनी कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको हो । बागमती प्रदेशको कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको प्रदर्शनीमा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोग रहनेछ ।
प्रदर्शनीमा आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधि अवलोकन गर्नुका साथै तिनको प्रयोग, उपलब्धता र उपयोगिताबारे जानकारी लिन सकिनेछ । आयोजकले कृषि क्षेत्रमा संलग्न व्यवसायी तथा संस्थालाई आफ्ना उत्पादन, उपकरण र प्रविधि प्रदर्शन गर्न स्टल उपलब्ध गराउने व्यवस्था पनि गरेका छन् ।
यसअघि कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले पनि व्यावसायिक रूपमा कृषि पेसामा संलग्न किसानलाई प्रदर्शनीमा सहभागी हुन आवेदन दिन आग्रह गरेको थियो । कार्यालयले इच्छुक किसानलाई प्रदर्शनीमा सहभागी गराउनुका साथै यातायात खर्चसमेत व्यहोर्ने जनाएको थियो ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघकी उपाध्यक्ष सुनिता नेमाफुकीले तीनै तहका सरकारको सहयोग र सहभागिताले नेपालको कृषि यान्त्रीकरण प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताएकी छन् । उनका अनुसार सरकार, कृषि व्यवसायी र किसानबीचको सहकार्यले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न सहयोग पुर्याउनेछ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ २०७१ सालमा स्थापना भएको कृषि यन्त्र तथा प्रविधिसम्बन्धी व्यवसायीहरूको छाता संस्था हो । संघले कृषि यान्त्रीकरणको विस्तार, आधुनिक उपकरणको प्रयोग र कृषि व्यवसायलाई व्यावसायिक बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
नेपालको कृषि क्षेत्रमा श्रम अभाव, उत्पादन लागत वृद्धि र परम्परागत खेती प्रणालीका कारण किसानले विभिन्न चुनौती सामना गरिरहेका छन् । यस्तो अवस्थामा आधुनिक कृषि यन्त्र तथा प्रविधिको प्रयोगले खेतीपातीलाई सहज बनाउनुका साथै समय र श्रम बचत गर्न तथा उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यद्यपि, साना तथा खण्डीकृत खेतीयोग्य जमिन, आधुनिक उपकरण खरिद गर्न आवश्यक पूँजीको अभाव र प्राविधिक ज्ञानको कमी कृषि यान्त्रीकरण विस्तारका प्रमुख चुनौतीका रूपमा रहेका छन् । त्यसैले किसानको आवश्यकताअनुसार उपयुक्त प्रविधि उपलब्ध गराउने, उपकरण प्रयोगसम्बन्धी तालिम दिने र सरकारी सहयोग विस्तार गर्ने विषय महत्वपूर्ण मानिन्छ ।
प्रदर्शनीले किसानलाई आधुनिक कृषि प्रविधिबारे जानकारी लिन, कृषि उपकरणको छनोट गर्न र कृषि व्यवसायीहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
2026-10-27-02-10-03.jpeg)





2026-10-18-05-10-50.jpeg)






प्रतिक्रिया थप्नुहोस्