झापामा १६ बिघाभन्दा बढीमा सयपत्री खेती, कोल्डस्टोर र बजार व्यवस्थापन चुनौती

भद्रपुर (झापा), ११ कात्तिक । तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने र तिहारसम्म सुरक्षित राख्ने चटारो बढेको छ । तिहार आउनुअघि नै फूल फुलेपछि गुणस्तर कायम राख्न किसानले फूल टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन् ।

वर्षाका कारण फूल बिग्रिने जोखिम बढेपछि किसानले फूल टिप्ने, माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिएका हुन् । तिहार आउन झन्डै दुई हप्ता बाँकी रहँदा फूललाई सुरक्षित राख्नुपर्ने अवस्था रहेको बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालले बताए ।

“तीन–तीन दिनमा फूल टिपिन्छ,” रिजालले भने, “टिपेको फूल सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा पुर्‍याउन थालेका छौँ ।” फूल भण्डारणका लागि छुट्टै कोल्डस्टोर नहुँदा उपलब्ध सुविधामै निर्भर रहनुपरेको उनको भनाइ छ । फूलका लागि आवश्यक विशेष भण्डारण सुविधा झापामा नहुँदा समस्या भइरहेको उनले बताए ।

अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूलको गुणस्तरमा असर पर्ने भएकाले टिपेर भण्डारण गर्नुपरेको बताए । पानी परेपछि फूल कालो हुने र गुणस्तर घट्ने जोखिम रहने भएकाले फूल टिपेर माला उन्ने तथा कोल्डस्टोरमा राख्ने गरिएको उनले जानकारी दिए ।

यस वर्ष झापामा कनकाईमाईपूर्व १६ बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा किसान तथा विभिन्न समूहले तिहारलाई लक्षित गरी व्यावसायिक रूपमा फूल उत्पादन गरिरहेका छन् ।

स्वदेशी फूलको बजार संरक्षण गर्न माग
फूलको भण्डारण व्यवस्थापनसँगै उत्पादित फूलले उचित बजार पाउने विषयले पनि किसानलाई चिन्तित बनाएको छ । भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी डुब्ने जोखिम रहेको किसानको गुनासो छ ।

बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ ।

किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने र भारतबाट हुने अनधिकृत फूल आयात नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न सके किसानको लगानी सुरक्षित हुनुका साथै स्वदेशी फूलखेतीलाई प्रोत्साहन मिल्ने उनीहरूको अपेक्षा छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑