जुम्ला, १९ जेठ । जुम्लाको गुठीचौर गाउँपालिका–४ थामबाडा गाउँमा भालुको आक्रमणबाट आठ वटा भेडा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडामाथि सोमबार राति भालुले आक्रमण गरेको हो । गोठमा राखिएका भेडाको बथानमा भालु पसेर आक्रमण गर्दा आठ भेडा मरेका हुन् ।
घटनापछि पाँच वटा भेडा अझै सम्पर्कविहीन रहेका छन् भने २९ वटा भेडा सकुशल रहेको प्रहरीले जनाएको छ । रातिको समयमा घटना भए पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
भेडापालक अधिकारीका अनुसार एउटा भेडाको न्यूनतम मूल्य करिब १८ हजार रुपैयाँ पर्छ । आठ वटा भेडा मर्दा मात्रै करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।
घटनापछि स्थानीय किसानहरू वन्यजन्तुको आक्रमणबाट पशुधन जोगाउन थप सुरक्षा उपाय अपनाउनुपर्ने आवश्यकता औँल्याइरहेका छन् ।
















प्रतिक्रिया थप्नुहोस्