महोत्तरी, १९ जेठ । विदेश रोजगारीका लागि कतार जाने तयारी गरेका महोत्तरीको भङ्गाहा नगरपालिका-४ रामनगरका सत्यदेव महतो ऋण नपाएपछि गाउँमै तरकारीखेतीमा लागे । त्यही निर्णयले आज उनलाई सफल र प्रेरणादायी किसानको परिचय दिलाएको छ ।
झण्डै १६-१७ वर्षअघि सुरु गरेको तरकारीखेती अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ । करिब एक बिघा जग्गामध्ये १५ कट्ठामा उनले व्यावसायिक रूपमा विभिन्न तरकारी उत्पादन गर्दै आएका छन् । परवल, खुर्सानी, काँक्रा, बोडी, घिरौला, झिगुनी, लौका, फर्सीलगायतका तरकारीसँगै उनको करेलाखेती विशेष आकर्षणको केन्द्र बनेको छ ।
महतोले प्रत्येक वर्ष पाँचदेखि छ कट्ठासम्म करेला खेती गर्दै आएका छन् । मुख्य सडक छेउमै रहेको बारीमा लटरम्म फलेका करेला हेर्न बटुवासमेत पुग्ने गर्छन् । यही कारण उनलाई धेरैले ‘करेलावाला’ किसानका रूपमा चिन्ने गरेका छन् ।
दाजुभाइबीच अंशबण्डा भएपछि वैदेशिक रोजगारीमा जाने योजना बनाएका महतोले ऋण नपाएपछि खेतीलाई नै व्यवसाय बनाउने निर्णय गरेका थिए । त्यसयता उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । पाँच कट्ठामा धान र गहुँ खेती गरी घरखर्चका लागि अन्न उत्पादन गर्ने र १५ कट्ठा तरकारीखेतीबाट वार्षिक १० देखि १२ लाख रुपैयाँसम्म नगद आम्दानी गर्ने गरेको उनले बताए ।
उनका अनुसार करेलाखेतीमा अन्य तरकारीको तुलनामा बढी मेहनत र स्याहार आवश्यक पर्छ । तर बजारमा यसको मूल्य राम्रो पाइने भएकाले खेती लाभदायक बनेको छ । उनले माया, राजधानी, विजेता तथा इण्डो-अमेरिकी जातका करेला उत्पादन गर्दै आएका छन् । विशेषगरी ‘माया’ जात छिटो फल्ने, रोग कम लाग्ने र आकार ठूलो हुने भएकाले बजारमा बढी रुचाइने गरेको उनको अनुभव छ ।
खेतीमा सफलता पाएपछि महतोले आफ्ना साथीहरूलाई पनि गाउँमै कृषि व्यवसायमा लाग्न प्रेरित गरेका छन् । उनको सुझाव र सहयोगपछि पाँच-सात जना युवाले विदेश जाने योजना त्यागेर तरकारीखेती थालेका छन् । अहिले उनीहरू पनि सफल किसानका रूपमा स्थापित हुँदै गएका छन् ।
यद्यपि किसानहरूले भरपर्दो सिँचाइ, गुणस्तरीय बीउबिजन, मलखाद, कृषि औषधि तथा प्राविधिक सेवाको अभाव अझै प्रमुख चुनौतीका रूपमा रहेको बताएका छन् । समयमै आवश्यक सामग्री उपलब्ध नहुँदा खेती प्रभावित हुने गरेको उनीहरूको गुनासो छ ।
किसानहरूका अनुसार गुणस्तरीय बीउ, पर्याप्त सिँचाइ सुविधा, कृषि प्राविधिकको नियमित परामर्श र व्यवस्थित बजारको सुनिश्चितता भए खेतीबाट अझ राम्रो आम्दानी लिन सकिनेछ । गाउँमै बसेर मेहनत गरे सफल हुन सकिन्छ भन्ने उदाहरण सत्यदेव महतोले प्रस्तुत गरेका छन् । रासस


2026-10-02-03-10-26.jpeg)













प्रतिक्रिया थप्नुहोस्