भोजपुर, १४ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने उद्देश्यले तीन सयभन्दा बढी किसानलाई हातेट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाले पहिलो चरणमा १७० किसानलाई हातेट्याक्टर वितरण गरेको जनाएको छ । कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा उपकरण उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
उनका अनुसार परम्परागत खेती प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । “किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले यो कार्यक्रम ल्याएका हौँ,” उनले भने ।
गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । विगतदेखि नै कृषि क्षेत्रमा अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै उनले किसानको वास्तविक मागका आधारमा योजना ल्याइएको बताए । “यान्त्रिकीकरणमार्फत खेतीलाई सहज, छिटो र उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौँ,” अध्यक्ष राईले भने ।
उपाध्यक्ष ज्योत्सना राईले किसानलाई आत्मनिर्भर बनाउने तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको बताइन् । वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहयोगलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
स्थानीय किसानले कार्यक्रम प्रभावकारी भएको बताएका छन् । किसान प्रेमबहादुर कार्कीले हातेट्याक्टर प्रयोगपछि खेत जोत्न, गोडमेललगायत कृषिकार्यमा लाग्ने समय र श्रममा कमी आएको बताए । “पहिले धेरै दिन लाग्ने काम अहिले केही घण्टामै सकिन्छ,” उनले भने, “यसले खेतीप्रति उत्साह बढाएको छ ।”
गाउँपालिकाले आधुनिक प्रविधिमार्फत उत्पादन लागत घटाउने, उत्पादकत्व वृद्धि गर्ने तथा युवालाई कृषि उद्यमशीलतामा आकर्षित गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्न गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत सञ्चालनमा ल्याइसकेको छ । रासस






2025-07-28-12-07-27.jpeg)









प्रतिक्रिया थप्नुहोस्