मध्यविन्दु (नवलपरासी), ११ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले दूधमा अनुदान दिएपछि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि प्रतिलिटर रु २० अनुदान दिने व्यवस्था निरन्तरता दिँदै आएको छ ।
पशु सेवा शाखा प्रमुख अधिकृत बुद्धिबहादुर देउजाका अनुसार २०८०/८१ मा ७५ हजार २०० लिटर दूध बिक्री भएको थियो भने २०८१/८२ मा सो मात्रा बढेर एक लाख ५८ हजार १२६ लिटर पुगेको छ । “गत वर्ष मात्र अनुदानस्वरूप रु ३१ लाख ६२ हजार ५२० किसानलाई भुक्तानी गरिएको छ,” उनले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान कार्यक्रम सुरु गरेको हो । सुरुवाती वर्षहरूमा प्रतिलिटर रु ५ र रु १० अनुदान दिइँदै आएकोमा २०८१र८२ बाट प्रतिलिटर रु २० दिइएको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार यो योजनाले घरायसी प्रयोजनका लागि मात्रै दूध उत्पादन गर्ने किसानलाई पनि व्यावसायिक रूपमा पशुपालनतर्फ आकर्षित गरेको छ । “अब किसान दूध बेचेर आम्दानी गर्न थालेका छन्,” उनले बताइन् ।
पहिला सहकारीमार्फत किसानलाई अनुदान वितरण गरिँदै आएकोमा हाल व्यक्तिगत बैंक खातामा नै रकम पठाउने गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीका अनुसार गाउँपालिकाभित्रका दुग्ध सहकारीहरूबाट प्राप्त चौमासिक विवरणका आधारमा यो प्रक्रिया अघि बढाइएको हो ।
अनुदान कार्यक्रमले साना किसानहरूलाई प्रत्यक्ष लाभ पुगेको र पशुपालनतर्फ नयाँ किसान पनि आकर्षित भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दुग्ध उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यसहित चालु आवमा पनि अनुदान कार्यक्रम निरन्तरता दिएको छ ।
गत वर्ष सबैभन्दा धेरै दूध बिक्री गर्ने किसान शंङ्खदेव–४ का कृष्णप्रसाद सापकोटा हुन् । उनले १३ हजार ९८० लिटर दूध बिक्री गरी रु २ लाख ७८ हजार ६०६ अनुदान प्राप्त गरेका थिए, लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।







2025-07-28-12-07-27.jpeg)








प्रतिक्रिया थप्नुहोस्