कञ्चनपुर, २२ असार । शुक्लाफाँटा नगरपालिकाले उत्पादनमुखी कार्यक्रमअन्तर्गत मुङ खेती गर्ने २२४ जना किसानलाई अनुदान उपलब्ध गराएको छ ।
नगरपालिकाको कृषि विकास शाखा प्रमुख करनसिंह बुढा ऐरका अनुसार प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले अनुदान दिइएको हो । न्यूनतम ३ कठ्ठादेखि अधिकतम १ बिघा ४ कठ्ठासम्म मुङखेती गर्ने किसानलाई बैंक खातामार्फत रकम पठाइएको उनले जानकारी दिए ।
सामूहिक रूपमा खेती गर्ने तीनवटा किसान समूहलाई ६ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गरेबापत अनुदान दिइएको छ । संघीय सरकारबाट विनियोजन गरिएको ९ लाख रुपैयाँ बजेटमध्ये ८ लाख ७५ हजार रुपैयाँ किसानलाई वितरण गरिएको छ भने बाँकी रकम फिर्ता गरिने जनाइएको छ ।
कृषि विकास अधिकृत विनयराज जोशीका अनुसार मुङ एक छोटो अवधिको बाली हो, जुन ६० देखि ७० दिनभित्र उत्पादन दिन सक्छ । यसले माटोमा नाइट्रोजन थप्ने भएकाले माटोको उर्वराशक्ति बढाउँछ र रासायनिक मलको आवश्यकता घटाउँछ । साथै, कम लागतमा नगद आम्दानी दिने, हरित मलको विकल्प बन्ने र पोषण सुरक्षामा योगदान दिने भएकाले यो खेती आर्थिक र वातावरणीय दृष्टिकोणबाट समेत लाभदायक मानिन्छ ।
जोशीका अनुसार मुङमा करिब २५ प्रतिशत प्रोटिन हुन्छ र सजिलै पच्ने गुण हुन्छ । यसबाट पापड, दालमोठ, तितौरा, स्प्राउट्सजस्ता खाद्य परिकार बनाउन सकिन्छ, साथै हरियो मुङ तरकारी, अचार र सलादका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
यहाँको माटोको पिएच मान ६.९२ रहेको र नगर क्षेत्रका ९२ प्रतिशत किसान सिँचाइ सुविधामा पहुँचमा रहेकाले मुङखेतीको राम्रो सम्भावना रहेको कृषि विकास शाखाले जनाएको छ ।







2025-07-28-12-07-27.jpeg)








प्रतिक्रिया थप्नुहोस्