अचार व्यवसायबाट आत्मनिर्भर आशारानी, १३ वर्षदेखि निरन्तर आम्दानी

घोराही, ३ चैत । लमही नगरपालिका–५ की आशारानी चौधरी अचार व्यवसायमार्फत आत्मनिर्भर बनेकी एक प्रेरणादायी महिला उद्यमी हुन् । विगत १३ वर्षदेखि अचार उत्पादन तथा बिक्री गर्दै आएकी उनी अहिले घोराहीमा सञ्चालन भइरहेको लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आफ्ना उत्पादनसहित सहभागी छिन् ।

आफ्नो मुख्य आम्दानीको स्रोत यही व्यवसाय भएको बताउँदै आशारानी जिल्लाभर आयोजना हुने मेला तथा महोत्सवहरूमा नियमित रूपमा सहभागी हुने गर्छिन् । अचारको राम्रो बजार भएकै कारण उनले यस व्यवसायलाई निरन्तरता दिँदै आएकी हुन् ।

उनले तामा, हरियो खुर्सानी, करेला, मेथी र आँपलगायतका विभिन्न प्रकारका अचार उत्पादन गर्दै आएकी छन् । विशेषगरी आँपको अचार ग्राहकबीच सबैभन्दा लोकप्रिय रहेको उनको भनाइ छ । चाडपर्व र मेला–महोत्सवका बेला बिक्री अझ बढी हुने उनी बताउँछिन् । हाल उनी यस व्यवसायबाट मासिक २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेकी छन् ।

व्यावसायिक रूपमा अचार उत्पादन सुरु गर्नुअघि उनले ‘स्वान नेपाल’ संस्थाबाट तालिम लिएकी थिइन् । अहिले भने आफैं उत्पादन गरेर बिक्री गर्नुका साथै स्थानीय तहले सञ्चालन गर्ने महिला लक्षित तालिमहरूमा प्रशिक्षकको रूपमा समेत काम गर्दै आएकी छन् ।

अचारको प्रकारअनुसार उनले प्रति किलो २५० देखि ५०० रुपैयाँसम्ममा बिक्री गर्दै आएकी छन् । तर, तालिम लिए पनि धेरै महिलाले उत्पादन र बजार व्यवस्थापनमा समस्या भोग्ने गरेको उनको अनुभव छ ।

४० वर्षीया आशारानी पूर्व मुक्तकम्लरीसमेत हुन्। परिवारको साथ र आफ्नै मेहनतले उनले ‘लाजाजुनी पूर्व मुक्तकम्लरी अचार उद्योग’ सञ्चालन गर्दै आएकी छन् । अचार उत्पादनका लागि आवश्यक आँप जस्ता कच्चा पदार्थ उनले वर्षभरका लागि पहिले नै संकलन गरेर राख्ने गर्छिन् ।

उनका अनुसार महिला उद्यमीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन स्थानीय सरकारले थप सहयोग गर्न आवश्यक छ । धेरै महिलामा व्यवसाय गर्ने इच्छा भए पनि आर्थिक अभावले उनीहरू पछि पर्ने गरेको उनले बताइन् ।

महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीपमूलक तालिम आवश्यक रहेको बताउँदै आशारानीले स्थानीय स्तरमै उत्पादन भएका अचार प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेकी छन् । “हामीले उत्पादन गर्ने अचारमा कुनै केमिकल प्रयोग हुँदैन, यो स्वास्थ्यका लागि राम्रो हुन्छ,” उनले भनिन् । पछिल्लो समय मेला–महोत्सवमा मिक्स अचार ग्राहकको पहिलो रोजाइ बन्दै गएको उनले जानकारी दिइन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै