Skip This

तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा चौथो तिहार फ्लोरा एक्स्पो–२०८३ आगामी कात्तिक १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ ।

‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ भन्ने नारासहित पाँच दिनसम्म सञ्चालन हुने एक्स्पोमा फूल, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका उत्पादनको बृहत् प्रदर्शनी तथा बिक्री वितरण गरिने आयोजकले जनाएको छ ।

नर्सरी व्यवसायी संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी एक्स्पोबारे जानकारी दिएको हो । संघका अनुसार मेलामा व्यावसायिक ६३, विभिन्न सरकारी निकायका ६ र पुष्प प्रदर्शनी प्रतियोगिताका चार गरी कुल ७३ वटा स्टल रहनेछन् । मेलामा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक बिरुवा, कृषि तथा वन, जडीबुटी, फलफूल नर्सरीबाट उत्पादित बिरुवा, मलखाद, प्राङ्गारिक तथा रासायनिक विषादी, बीउबिजन, औजार, उपकरण तथा प्रविधिका स्टल रहनेछन् ।

आयोजकले मेलामा करिब ३५ हजार अवलोकनकर्ताले भ्रमण गर्ने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैयाँ तथा विद्यार्थी र ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

मेलामा नर्सरी व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले विभिन्न विधामा प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने व्यवसायीलाई शिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

संघका अनुसार वन तथा वनस्पतिजन्य बिरुवाको उत्पादन र प्रवर्द्धनमा नर्सरी व्यवसायको महत्वपूर्ण भूमिका छ । गुणस्तरीय बिरुवा उत्पादन, स्वदेशी बीउबिजनको संरक्षण, जैविक विविधताको संवर्द्धन तथा नर्सरी व्यवसायको व्यावसायिक विकासलाई मेलाले प्राथमिकता दिनेछ ।

नर्सरी व्यवसायी संघ नेपालका मेला संयोजक तथा उपाध्यक्ष लक्ष्मी महर्जनले स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन तथा नर्सरी व्यवसायमा संलग्न उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए । उनले राजनीतिक अस्थिरता र आर्थिक चुनौतीका कारण कमजोर बनेको व्यवसायीको मनोबल बढाउन सरकार तथा सरोकारवाला निकायले पनि व्यावसायिक वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए ।

मेलाको आयोजक नर्सरी व्यवसायी संघ नेपाल रहेको छ भने वनस्पति विभाग र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड प्रवर्द्धक संस्थाका रूपमा रहेका छन् । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, पुष्प विकास केन्द्र र राष्ट्रिय फलफूल विकास केन्द्र सहआयोजकका रूपमा रहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑