काठमाडौँ । नेपालको कृषि क्षेत्रलाई यान्त्रिकीकरण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने उद्देश्यले आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ। आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने प्रदर्शनीमा २० देशका ७० भन्दा बढी प्रदर्शक सहभागी हुने भएका छन्।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नारासहित आयोजना हुने तीनदिने प्रदर्शनीमा १५० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, मेसिन तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ।
नेपालमा कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्ने, किसानलाई नयाँ प्रविधिबारे जानकारी गराउने र स्वदेशी कृषि उपकरण उत्पादक तथा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो।
प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, पोस्ट हार्भेस्ट, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित आधुनिक मेसिन, उपकरण र प्रविधि प्रदर्शन गरिनेछ। यसका साथै बीउबिजन, कृषि तथा पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक र विक्रेताको सहभागिता रहनेछ।
स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ। त्यसैगरी, ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ कम्पनीलाई स्टलमा ६० प्रतिशत छुट, नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA) का सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
प्रदर्शनीमा आधुनिक कृषि प्रविधि, पशुपन्छीपालन, मत्स्यपालन, सिँचाइ प्रणाली, कोल्ड स्टोर, पोस्ट हार्भेस्ट तथा प्रशोधनका मेसिन र उपकरणका साथै तरकारीखेती, पुष्पखेती, नर्सरीसम्बन्धी प्रविधि एवं बीउबिजन प्रदर्शन गरिनेछ। किसानले एउटै स्थानमा विभिन्न प्रविधि तथा उपकरणको जानकारी लिन, तुलना गर्न र आवश्यक सामग्रीबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्।
प्रदर्शनीको आयोजकमा नेपाल सरकार, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग मातहतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (NAMEA) रहेका छन्। बागमती प्रदेश सरकारअन्तर्गत कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, हेटौँडा र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) सहआयोजकका रूपमा रहेका छन्।
प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहेको छ भने एसोसिएट पार्टनरका रूपमा युरोपेली युनियन (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को संयुक्त आर्थिक सहयोगमा जीआईजेडद्वारा सञ्चालित GRAPE 2 परियोजना रहेको छ।
त्यस्तै, प्लैटिनम प्रायोजकमा जी. सेभेन एग्रिकल्चर प्रा.लि., शालोम एग्रिकल्चर प्रा.लि., नेपाल ट्रेड होस्ट प्रा.लि. र बीडी कमर्सियल इक्विपमेन्ट प्रा.लि. रहेका छन्। गोल्ड प्रायोजकमा पशुपति एग्रो ट्रेडर्स, विन्ध्यवासिनी कृषि कम्पनी प्रा.लि. र जैन इरिगेसन सिस्टम्स लिमिटेड रहेका छन्।
प्रदर्शनीलाई राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, सिमिट नेपाल, कृषि विकास बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रा.लि., उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल कृषि इन्जिनियर्स सोसाइटी, नख्खु सिड्स प्रा.लि. र हेल्भेटास नेपालले सहयोग गरेका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रदर्शनीको प्रवर्द्धकका रूपमा रहेको छ।
नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यावसायिकीकरणतर्फ अगाडि बढाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो। कृषि उत्पादन लागत घटाउने, श्रम अभावको समस्या कम गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा किसानलाई आधुनिक प्रविधिमा पहुँच पुर्याउने विषयलाई प्रदर्शनीले प्राथमिकता दिएको छ।
आयोजकका अनुसार प्रदर्शनीमार्फत उपभोक्ता तथा नीतिनिर्मातालाई कृषि यान्त्रिकीकरणसम्बन्धी नवीनतम प्रविधिबारे जानकारी गराउने, कृषि यन्त्र तथा उपकरणको प्रचारप्रसार बढाउने र कृषि यान्त्रिकीकरण प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीले नेपाली किसान, कृषि उद्यमी, कृषि उपकरण व्यवसायी, अनुसन्धानकर्ता तथा नीतिनिर्मातालाई एउटै मञ्चमा जोड्दै नेपालको कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया थप्नुहोस्