गण्डकी, १२ साउन । गण्डकी प्रदेशका सबै ८५ स्थानीय तहमा पशुचौपायामा देखिने विभिन्न संक्रामक रोग नियन्त्रणका लागि पूर्ण खोप अभियान सञ्चालन गरिएको छ ।
प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार गाईभैँसीमा लाग्ने खोरेत, भ्यागुते र चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा लाग्ने पिपिआर तथा कुकुरमा लाग्ने रेबिज विरुद्ध नियमित खोप अभियान सञ्चालन भइरहेको छ ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न रोगविरुद्ध १८ लाख ९८ हजार ३९६ डोज खोप प्रदान गरिएको थियो । चालु आर्थिक वर्षमा प्रदेशका १० स्थानीय तहलाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तयारी भइरहेको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. शोभा शर्माले जानकारी दिए ।
उनका अनुसार कुनै पालिकाका कम्तीमा ८० प्रतिशत पशुचौपाया खोपको दायरामा आएपछि त्यसलाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्न सकिने व्यवस्था छ । यसका लागि आवश्यक कार्यक्रम र बजेटसमेत तयार भइसकेको उनले बताए ।
हाल गण्डकी प्रदेशका करिब ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको मन्त्रालयले जनाएको छ । पशुमा विभिन्न रोगका कारण हुने क्षति न्यूनीकरण गर्न नियमित रूपमा खोप अभियान सञ्चालन गरिएको हो । कुनै रोग प्रकोपका रूपमा फैलिने जोखिम देखिएमा आवश्यकताअनुसार विशेष खोप अभियानसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
यसअघि गाईभैँसीमा लम्पी स्किन रोग फैलिएका बेला प्रदेशभर १ लाख ३ हजार २३० गाईभैँसीलाई खोप लगाएर रोग नियन्त्रणको प्रयास गरिएको थियो ।


2026-08-11-12-08-56.jpeg)













प्रतिक्रिया थप्नुहोस्