प्रयोगशाला एकाइले भदौ २ गते गरेको विषादी अवशेष परीक्षणमा गोलभेंडा, हरियो फर्सी, राजमा सिमी, बोडी, बन्दागोभी, काउली, मूला, भेडे खुर्सानी र काँक्रोलगायतका १० नमुना उपभोगयोग्य पाइएको हो ।
परीक्षण गरिएका नमुनामध्ये काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाबाट संकलित गोलभेंडा, धादिङबाट संकलित हरियो फर्सी, काभ्रेपलाञ्चोकबाट संकलित राजमा सिमी र चितवनबाट संकलित हरियो फर्सी रहेका छन् ।
त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिकाबाट संकलित बोडी, मकवानपुरको थाहा नगरपालिकाबाट संकलित बन्दागोभी, काउली र मूला पनि परीक्षणमा उपभोगयोग्य पाइएको छ ।
भारतबाट संकलित भेडे खुर्सानी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाबाट संकलित काँक्रोको नमुना पनि उपभोगयोग्य रहेको प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ ।
प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष परीक्षण गरेको थियो । परीक्षणपछि सबै नमुनामा विषादी अवशेषको मात्रा उपभोगयोग्य सीमाभित्र रहेको पाइएको हो ।
प्रयोगशालाले सार्वजनिक गरेको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका खाद्यवस्तु उपभोगयोग्य मानिन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म अवशेष भेटिएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भएमा विसर्जन गर्नुपर्ने व्यवस्था छ ।
यद्यपि, प्रयोगशालाले स्पष्ट पारेअनुसार उक्त नतिजा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको परीक्षणमा मात्र आधारित भएकाले अन्य समूहका विषादी तथा रसायनको हकमा लागू नहुने जनाएको छ ।
















प्रतिक्रिया थप्नुहोस्