विभागले २०८३ कात्तिक २० देखि २३ गतेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा रहेका ३० वटा खाद्य उद्योग तथा व्यवसायको अनुगमन गरेको हो । अनुगमनका क्रममा मिठाईमा अनधिकृत तथा अत्यधिक खाद्य रङ प्रयोग गर्ने, लेबलविनै मिठाई बिक्री गर्ने, पत्रपत्रिकामा खानेकुरा पोको पार्ने, म्याद नाघेका खाद्य सामग्री बिक्री गर्ने र सरसफाइमा लापरबाही गर्ने गरेको पाइएको विभागले जनाएको छ ।
विशेषगरी मिठाई पसलहरूमा खाद्य स्वच्छतासम्बन्धी आधारभूत मापदण्डसमेत पालना नभएको पाइएको छ । बिक्रीका लागि सोकेसमा राखिएका मिठाईमा उत्पादन मिति, उपभोग्य मिति तथा आवश्यक विवरणसहितको लेबल नराखिएको, खुला रूपमा मिठाई राखिएको र अखबार तथा मसी छापिएका कागजमा खानेकुरा प्याक गरेर बिक्री गर्ने गरेको अनुगमनमा भेटिएको छ ।
बूढानीलकण्ठ–७ स्थित रैयांश स्विट एन्ड चाट हाउसमा लेबलविनाका मिठाई, उत्पादन स्थलमा हाइड्रो तथा सिन्थेटिक रङको प्रयोग र सरसफाइमा कमी देखिएको थियो । त्यहाँबाट लेबल तथा बिल नभएका तीन डिब्बा मिल्क केक, दुई डिब्बा डोटा बर्फी र एक डिब्बा सोनपापडी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विभागले जनाएको छ । उत्पादन स्थलमा भेटिएका हाइड्रो तथा सिन्थेटिक रङसमेत नष्ट गरिएको छ ।
टोखास्थित जय अम्बे स्विट एन्ड फास्ट फुडमा पत्रिकामा राखेर बिक्री गर्न राखिएको करिब सात किलो जेरी नष्ट गरिएको छ । खाद्य पदार्थ प्याक गर्न प्रयोग गरिएको करिब चार किलो मसीयुक्त प्याकेटसमेत नष्ट गरिएको विभागले जनाएको छ । उक्त पसलमा कीरा नियन्त्रणको व्यवस्था पनि सन्तोषजनक थिएन ।
ललितपुरको पुल्चोकस्थित मोहन स्विट्समा सिन्थेटिक खाद्य रङ प्रयोग गरी मिठाई पकाएको पाइएको छ । त्यहाँ कागजमा राखिएको चार किलो लाखामारी नष्ट गरिएको छ । मिठाई छोपेर राख्न, लेबलसहित बिक्री गर्न र उत्पादन स्थलको झ्यालमा जाली लगाउन निर्देशन दिइएको छ ।
कुलेश्वरस्थित लक्ष्मी स्विट्समा पनि सिन्थेटिक खाद्य रङ प्रयोग, मसी छापिएको कागजमा खाद्य पदार्थ राख्ने, भान्साको केही भाग खुला राख्ने र सरसफाइमा कमी देखिएको थियो । विभागले कागजको प्रयोग हटाउन तथा खाद्य रङ प्रयोग गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।
त्यस्तै, कीर्तिपुरको पूजा स्विट सपमा मिठाई खुला राखिएको, लेबल नलगाइएको र अत्यधिक सिन्थेटिक खाद्य रङ प्रयोग गरिएको पाइएको छ । त्यहाँ करिब पाँच किलो मिठाई नष्ट गरिएको छ ।
जोरपाटीस्थित चामुण्डा मिठाई पसलमा अखबारमा पोको पारेर भण्डारण गरिएको २६ किलो खजुरी नष्ट गरिएको छ । पसलमा लेबलसम्बन्धी सरकारी निर्देशन पालना नभएको र सरसफाइमा समेत कमी देखिएको विभागले जनाएको छ ।
म्याद नाघेका मसला र अनुमति नलिई प्याकेजिङ
मिठाई पसलबाहेक किराना तथा खाद्य व्यवसायमा समेत नियमविपरीत कारोबार भएको भेटिएको छ ।
ललितपुर–१६ स्थित जय मा लक्ष्मी मसला पसलमा लेबल विवरण नभएका ड्राइफ्रुट बिक्री गरिएको र म्याद नाघेका १० प्याकेट मसला फेला परेको थियो । विभागले म्याद नाघेका मसला नष्ट गर्नुका साथै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
ललितपुरको बाफलस्थित बाफल विनायक स्टोरले खाद्य अनुमति नलिई दालजन्य पदार्थ प्याकेजिङ गरी बिक्री वितरण गरेको पाइएको छ । पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थको कारोबार तथा म्याद नाघेका सामग्रीको भण्डारणसम्बन्धी कमजोरीसमेत भेटिएको थियो । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यस्तै, कालिमाटीस्थित सिद्धार्थ किराना स्टोर र सैनी ट्रेडर्समा लेबलविनाका केही ड्राइ खाद्य पदार्थ बिक्री गरेको पाइएको छ । विभागले अनुमति प्राप्त उद्योगबाट उत्पादित खाद्य पदार्थ मात्र खरिद तथा बिक्री गर्न निर्देशन दिएको छ ।
पानी उद्योगमा फुटेका जार, प्रशोधन प्रक्रियामाथि पनि प्रश्न
अनुगमनका क्रममा पानी तथा पेय पदार्थ उद्योगमा समेत कमजोरी भेटिएका छन् ।
दक्षिणकाली नगरपालिका–१ स्थित चण्डेश्वरी मिनरल वाटर एन्ड बेभरेज प्रालिमा चर्किएका तथा टुटफुट भएका १३ थान पानीका जार फेला परेपछि नष्ट गरिएको छ । अनुगमनका बेला उद्योग सञ्चालनमा नरहेको र यूभी प्रशोधनपछि पुनः फिल्टर गर्ने व्यवस्था रहेको पाइएको विभागले जनाएको छ ।
शंखरापुर नगरपालिका–६ स्थित सलम्भु फुड एन्ड बेभरेज प्रालिमा पानी प्रशोधन नभएको, पानी भण्डारण गरिएको र प्रयोगशाला व्यवस्थापन नभएको पाइएको छ । विभागले खाद्य स्वच्छता कायम गर्न निर्देशन दिँदै प्रशोधित पानीको बोतलको नमुना संकलन गरेको छ ।
भान्सा अव्यवस्थित, कर्मचारीलाई मास्क र पञ्जा प्रयोग गर्न निर्देशन
काठमाडौंका केही चर्चित मिठाई पसल तथा रेस्टुरेन्टमा पनि भान्सा व्यवस्थापन र व्यक्तिगत सरसफाइमा कमजोरी देखिएको छ ।
कमलपोखरीस्थित दूध सागर मिठाई सपको शाखा कार्यालयमा बिक्रीका लागि राखिएको घिउमा पूर्ण लेबल विवरण थिएन । पसलको भान्सा अव्यवस्थित, फोहोर तथा शौचालयसँग जोडिएको पाइएको छ । दूध सागरबाट उत्पादित सोनपापडी र फुरनदानामा अनुमति पत्रसमेत नदेखिएकाले विभागले अनुमति लिन निर्देशन दिएको छ । भान्सा एक महिनाभित्र सुधार गरी जानकारी गराउन पनि भनिएको छ ।
त्यस्तै, टिपटप स्विट्स प्रालिमा कर्मचारीले मास्क, पञ्जा र हेडनेट प्रयोग नगरेको तथा बिक्रीका लागि राखिएका मिठाईमा आवश्यक लेबल नभएको पाइएको छ । विभागले कर्मचारीलाई अनिवार्य रूपमा मास्क, पञ्जा र हेडनेट प्रयोग गराउन निर्देशन दिएको छ ।
कालोपुलस्थित राजधानी स्विट्स एन्ड रेस्टुरेन्टमा मिठाई छोपेर नराखिएको र भान्सा फोहोर देखिएको थियो । भाँडा धुने ठाउँ, भान्साको भुइँ तथा सिलिङ व्यवस्थित गरी एक महिनाभित्र सुधार गर्न विभागले निर्देशन दिएको छ ।
पुरानो बानेश्वरस्थित श्री जी स्विट्समा भान्साको झ्यालमा जाली नभएको, बत्तीको व्यवस्था पर्याप्त नरहेको, तयार गरिएको लालमोहन टेबलमा नराखी भुइँमा राखिएको र मिठाईमा अत्यधिक खाद्य रङ प्रयोग गरिएको पाइएको छ । विभागले खाद्य रङ मापदण्डअनुसार प्रयोग गर्न र एक महिनाभित्र भान्सा सुधार गर्न निर्देशन दिएको छ ।
निर्देशन पालना गर्न र खाद्य स्वच्छता कायम गर्न विभागको आग्रह
अनुगमनका क्रममा केही व्यवसायले यसअघि विभागले दिएका निर्देशन कार्यान्वयन गरेको पनि पाइएको छ । ललितपुरको कुमारीपाटीस्थित केशर स्विट्सले यसअघि दिइएको निर्देशनअनुसार झ्यालमा जाली लगाएको र डस्टबिनमा ढक्कन राखेको भेटिएको छ । त्यस्तै, कालिमाटीस्थित टिपटप स्विट्समा सरसफाइ सन्तोषजनक रहेको र मिठाईमा आवश्यक लेबल विवरण राखिएको पाइएको छ ।
विभागले अनुगमनका क्रममा भेटिएका कैफियतअनुसार सम्बन्धित व्यवसायलाई सुधारका लागि निर्देशन दिएको छ । मिठाई तथा अन्य खाद्य पदार्थ बिक्री गर्दा अनिवार्य रूपमा लेबल विवरण राख्न, खाद्य पदार्थ छोपेर सुरक्षित रूपमा प्रदर्शन गर्न, अखबार तथा मसीयुक्त कागजमा प्याकिङ नगर्न, खाद्य रङको उचित प्रयोग गर्न र व्यक्तिगत तथा संस्थागत सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।
विभागका प्रवक्ता प्रशान्त पोखरेलद्वारा जारी विवरणअनुसार अनुगमनको मुख्य उद्देश्य उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्नु रहेको छ ।
















प्रतिक्रिया थप्नुहोस्