भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता

भद्रपुर (झापा), १६ असार । जल तथा मौसम विज्ञान विभागले पूर्वी तराईसहित देशका विभिन्न स्थानमा असार १६ र १७ गते भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेपछि झापा प्रशासनले सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा मनसुनी गतिविधि सक्रिय भएसँगै मेघगर्जन, चट्याङ र भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बस्तीका नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । प्रशासनले आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरेको बाटो प्रयोग नगर्न, खोला-खहरे नतर्न तथा सुरक्षित स्थानबारे पूर्वजानकारी लिन आग्रह गरेको छ ।

झापाका कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्र बाढीबाट बढी प्रभावित हुने गरेका छन् । जिल्लाका १५ स्थानीय तहमध्ये गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढी तथा डुबानको उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ ।

सम्भावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय तहका संयन्त्रलाई राहत सामग्रीसहित तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले एकीकृत विपद् प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ भने सुरक्षा निकाय, रेडक्रस र स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले पनि बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रमा पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ । शाखाका सभापति लोकराज ढकालका अनुसार जिल्लामा आठ हजारभन्दा बढी घरधुरी बाढीको अति उच्च जोखिममा छन् । उद्धार तथा राहतका लागि १२० भन्दा बढी स्वयंसेवक र प्राथमिक उपचार टोली परिचालन तयारीमा छन् भने जिल्लाका सात स्थानमा खाद्यान्नसहितका राहत सामग्री भण्डारण गरिएको छ ।

यसैबीच, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र सशस्त्र प्रहरी बलको आयोजनामा झापामा विशेष तालिम सम्पन्न भएको छ । असार ९ गतेदेखि सञ्चालन भएको तालिममा भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर र कनकाई नगरपालिकाका २० नगर प्रहरीलाई समुदायस्तरमा विपद् व्यवस्थापन तथा उद्धार कार्यसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै