बाझो जमिनमा स्याउ खेती, तमानखोलाले खोज्यो आयआर्जनको नयाँ बाटो

ढोरपाटन (बागलुङ), असार ८ । बागलुङको तमानखोला गाउँपालिकाले वर्षौंदेखि उपयोगविहीन रहेको बाझो जमिनलाई उत्पादनसँग जोड्दै स्याउ खेतीको सुरुआत गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ अन्तर्गत गोर्दी र बहेली क्षेत्रमा रहेको २० रोपनी बाझो जमिनमा स्याउ खेती विस्तार गर्दै आयआर्जनको नयाँ सम्भावना खोजेको हो ।

गाउँपालिकाले करिब सात लाख रुपैयाँ लगानीमा विभिन्न जातका एक हजार ५०० स्याउका बिरुवा रोपेको छ । बिरुवाको संरक्षण, गोडमेल तथा व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयलाई दिइएको वडा अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए ।

समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको गोर्दी तथा तीन हजार ५०० मिटर उचाइमा रहेको बहेली क्षेत्र स्याउ खेतीका लागि उपयुक्त मानिएकाले यहाँ उत्पादन राम्रो हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले आवश्यक कार्यविधि तयार गरी पहिलो चरणमा बाझो जमिनलाई खेतीयोग्य बनाउँदै स्याउ रोपण कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिका अध्यक्ष बुढा मगरले परीक्षणका रूपमा सुरु गरिएको स्याउ खेती सफल भए आगामी वर्षहरूमा अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने बताए । उनका अनुसार स्याउ उत्पादनले स्थानीय नागरिकलाई आयआर्जनसँग जोड्नुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

“यो क्षेत्रमा स्याउ खेतीको राम्रो सम्भावना देखिएको छ । अहिले परीक्षणका लागि २० रोपनी जमिनमा बिरुवा रोपेका छौँ। उत्पादन राम्रो भए अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ,” अध्यक्ष मगरले भने । स्थानीय तहको यो पहलले बाझो जमिनको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै