गण्डक नहरमा पानी आएपछि पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी), २८ जेठ । गण्डक नहरमा पर्याप्त पानी उपलब्ध भएपछि पश्चिम नवलपरासीका किसान धान रोपाइँमा व्यस्त भएका छन् । रामग्राम नगरपालिका, सरावल गाउँपालिका तथा पाल्हीनन्दन गाउँपालिकाका किसानले यतिबेला खेतमा धान रोप्न थालेका हुन् ।

पाल्हीनन्दन-४ का किसान रामसिंह कुर्मीले नहरमा पानी आएपछि रासायनिक मलको अभाव हुँदाहुँदै पनि रोपाइँ सुरु गर्न बाध्य भएको बताए । उनका अनुसार केही किसानको धानको बेर्ना पर्याप्त रूपमा तयार नभए पनि पानी उपलब्ध भएकाले रोपाइँ थालिएको हो ।

उनले विगतका वर्षहरूमा नहरमा पानी ढिलो आउने समस्या रहेकामा यस वर्ष समयमै पानी उपलब्ध भएकाले किसानले रोपाइँ सुरु गरेको बताए । यद्यपि खेतमा हाल्ने मलको अभाव र कृषि मजदुरको कमीले किसानहरू समस्यामा परेका छन् ।

रोपाहार नपाउँदा धेरै किसान परिवारकै सदस्यलाई खेतमा उतारेर रोपाइँ गरिरहेका छन् । समयमै वर्षा हुने आशामा किसानहरूले छिट्टै बीउ राखेकाले केही ठाउँमा बेर्ना पूर्ण रूपमा तयार नभए पनि रोपाइँ सुरु गरिएको छ ।

पाल्हीनन्दनका किसान त्रिभुवन कुर्मीले छिमेकी किसानले रोपाइँ सुरु गरेपछि खेतसम्म पुग्ने बाटो अवरुद्ध हुन सक्ने चिन्ताले आफूले पनि छोटो बेर्ना नै रोप्न थालेको बताए । अहिले पश्चिम गण्डक नहर आसपासका अधिकांश क्षेत्रमा किसानहरू रोपाइँ कार्यमा जुटेका छन् ।

पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीका अनुसार यस वर्ष नहरमा पानी छोडिएको ३६ घण्टाभित्रै ३२ किलोमिटर लामो नहर प्रणालीमा पानी पुगेको थियो । समयमै पानी उपलब्ध भएपछि किसानले धान रोपाइँ गर्न सहज भएको र त्यसबाट लाभ लिन थालेको उनले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै