मलेसियाबाट फर्किएका विजय बने राष्ट्रिय उत्कृष्ट कृषक

महेन्द्रनगर, २१ जेठ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका-४ का विजयकुमार चौधरी अहिले सफल मत्स्य कृषकका रूपमा परिचित बनेका छन् । विदेशमा तीन वर्षसम्म मजदुरी गरेर स्वदेश फर्किएका चौधरीले पछिल्लो सात वर्षदेखि माछापालन व्यवसाय गर्दै उल्लेखनीय सफलता हासिल गरेका हुन् ।

हालै कृषि, वन तथा पर्यावरण मन्त्रालयको छनोटमा परेर राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेपछि उनको कृषि व्यवसायप्रतिको उत्साह अझ बढेको छ । सातै प्रदेशबाट छनोट गरिएका १४ उत्कृष्ट कृषकमध्ये चौधरी पनि सम्मानित भएका थिए । पुरस्कारस्वरूप उनले रु दुई लाख प्राप्त गरेका छन् ।

राष्ट्रपतिबाट सम्मानित हुन पाउँदा थप हौसला मिलेको बताउँदै चौधरीले अब अन्य युवालाई पनि कृषि तथा उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्ने योजना रहेको बताए । “सम्मानले जिम्मेवारी पनि थपिएको छ,” उनले भने, “युवालाई कृषि क्षेत्रमा जोड्ने र रोजगारी सिर्जना गर्ने सोच बनाएको छु ।”

चौधरीले सिकलपट्टी जाइ क्षेत्रमा तीन बिघा जमिनमा माछा पोखरी निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले वार्षिक करिब ४५ क्विन्टल माछा उत्पादन तथा बिक्री गर्दै आएको जानकारी दिए । माछापालनबाट वर्षमा नौ लाख रुपैयाँभन्दा बढी बचत हुने गरेको उनको भनाइ छ ।

व्यवसाय विस्तारका लागि थप पाँच बिघा जमिन भाडामा लिएर उत्पादन बढाउने तयारी भइरहेको उनले बताए । उत्पादन भएका माछा झलारी, बेलौरी, वाणीलगायत स्थानीय बजारमा बिक्री हुने गरेका छन् ।

स्वदेशी माछा उत्पादनको प्रवर्द्धनका लागि सरकारले आयातित माछाको प्रतिस्पर्धा नियन्त्रण गरी स्थानीय उत्पादनको बजार सुनिश्चित गर्नुपर्ने चौधरीको माग छ । “स्वदेशमै गुणस्तरीय माछा उत्पादन भइरहेको छ, त्यसको उचित बजार व्यवस्थापन आवश्यक छ,” उनले बताए ।

हरेक वर्ष असोजदेखि माघसम्म माछा बिक्रीको मुख्य सिजन रहने बताउँदै चौधरीले आफ्नो व्यवसायबाट अन्य व्यक्तिले समेत रोजगारी पाएको उल्लेख गरे । युवाले विदेशमा श्रम बेच्नुभन्दा आफ्नै देशमा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लागे राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै