सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माण तीव्र

राँझा (बाँके), २५ वैशाख । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणलाई प्राथमिकतामा राख्दै बाँकेमा डुडुवा शाखा नहर निर्माणकार्यलाई तीव्र बनाएको छ । आयोजनाअन्तर्गत निर्माण भइरहेको २३ दशमलव ४ किलोमिटर लामो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।

सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन् । विगतमा ठेक्का विवादका कारण लामो समय रोकिएको निर्माणकार्य पुरानो ठेक्का रद्द गरी नयाँ कम्पनीमार्फत अघि बढाइएको हो । हालसम्म करिब २५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

नेपालगन्ज–सुर्खेत सडकखण्डको पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले रु एक अर्ब १२ करोड लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

आयोजनाका अनुसार मूल नहरबाट १८ क्युमेक्स पानी डुडुवा शाखा नहरमा प्रवाह गरिनेछ । त्यसपछि मुख्य र उपशाखा नहरमार्फत बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिने लक्ष्य छ ।

सिक्टाको मूल नहरबाट डुडुवा शाखासम्म अहिले नै नियमित पानी सञ्चालन भइरहेकाले नहर निर्माण सम्पन्न भएपछि सुक्खा र खडेरीको समस्या भोग्दै आएका किसानलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीले नहर पूरा भएपछि कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑